मोर्चाको गुप्ती रिपोर्ट खुलासा
मनोज वोगटी
कालेबुङ, 15 मार्चः गोजमुमोले सबैको जिज्ञासालाई आज विराम लगायो। डेलोमा एक जनसभा गर्दै भारतको केन्द्रिय सरकारलाई पठाएको गुप्ती रिपोर्टबारे गोजमुमो अध्यक्ष विमल गुरुङले खुलासा गरे। मोर्चाले गुप्ती रिपोर्टद्वारा भारत सरकारसित दोगापापको वैद्यता नष्ट गर्दै त्यसको साटो बहाली गर्ने व्यवस्थाको नाम गोखाल्याण्ड रिजनल अथोरिटी वा त दार्जीलिङ-डुवर्स रिजनल अथोरिटी रहेको आज स्पष्ट पार्यो। मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले रिपोर्ट पढ़ेर सबैलाई सुनाए। यस अघि चौथो वार्तामा केन्द्रले लिएर आएको अनि मोर्चाले टेबलमा राख्नै नदिएको प्रस्ताव जो इन्टरलोक्यूटर मार्फत मोर्चालाई पठाइएको थियो त्यसलाई अमर लामाले पढ़ेर सुनाए। केन्द्रले गोर्खाल्याण्ड अटोनोमस अथोरिटी भनेर पठाएको प्रस्तावमा बहाली गरिने व्यवस्था राज्यको अधिनस्थ रहने भएको अनि 55 वटा विभागीय क्षमता मात्र प्रस्तावमा उल्लेख गरिएको जसले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रका जनताको आकांक्षा पूर्ण नहुने भएपछि मोर्चाले आफै तयार पारेर रिपोर्ट पठाइएको यसै जनसभाद्वारा मोर्चाले स्पष्ट पार्यो। अमर लामाद्वारा पठन गरिएको केन्द्रले पठाएको प्रस्तावमा व्यवस्था बङ्गाल अधिनस्थ रहने उल्लेख गरिएको छ भने मोर्चाले पठाएको प्रस्तावमा माग गरिएका कुनै पनि अधिकार बङ्गाल अधिनस्थ छैन। केन्द्रले 54 वटा विभाग दिएको छ भने मोर्चाले 102 वटा अधिक क्षमताशील अधिकार मागेको छ। मोर्चाले पठाएको रिपोर्टद्वारा दाबी गरिएको प्रस्तावको अवधि 31 दिसम्बर 2011 सम्म मात्र रहेको छ। केन्द्रको गोर्खाल्याण्ड अटोनोमस अथोरिटीमा 20 सदस्य रहने जसमा 15 जनालाई राजनैतिक दलहरूले चयन गर्ने अनि 5 जनालाई राज्यपालले मनोनित गर्ने बताइएको छ भने मोर्चाले पठाएको रिपोर्टमा 55 सदस्यीय क्षेत्रीय पर्षद् रहने जसमा स्पीकर अनि डेपुटी स्पीकर समेत रहने, 55 सदस्यलाई भारतको चुनाउ आयोगद्वारा सम्पन्न गराउने वयस्क चुनाउद्वारा नै निर्वाचित हुने उल्लेख छ। पर्षद्ले एकजना चीफ निर्वाचित गर्नेछ अनि कार्यकारी समितिलाई चीफले अध्यक्षता गर्नेछन्। केन्द्रको प्रस्तावमा गृह अनि न्यायिक विभागीय जस्ता महत्त्वपूर्ण विभागहरू उल्लेख छैन भने मोर्चाको प्रस्तावमा भने यी विभागहरू सम्मिलित गरिएको छ जसमा गोर्खाल्याण्ड रिजनल अथोरिटी अथवा दार्जीलिङ-डुवर्स रिजनल अथोरिटीले कानून लागू गराइने सम्बन्धमा राज्यको अनुमोदन अनि कुनै पनि सहमति नपर्ने माग राखेको छ। अथोरिटीको कोष बाहेक पनि विशेष प्रारम्भिक सहयोगको निम्ति 2 हजार करोड़ रुपियॉं पॉंच वर्षको निम्ति दाबी गरिएको छ। केवल अन्तरिम व्यवस्थाको निम्ति मात्र रहेको मोर्चाको प्रस्तावले गोर्खाल्याण्डको मागलाई बाधित नगर्ने उल्लेख गरिएको प्रस्तावमा सम्पूर्ण गोर्खा भाषीहरूलाई अनुसूचित जनजाति घोषणा गरिनुपर्छ भन्दै जसको निम्ति मोर्चाले ट्राइबल रिसर्च इन्स्टिट्यूटको स्थापनाको प्रस्ताव पनि राखेको छ। मोर्चाले दाबी गरेको प्रस्ताव बहाली गर्दा संविधान संशोधन गरिनुपर्छ भने त्यो पनि गरिनुपर्ने दाबी गरिएको छ भने प्रस्तावमा बङ्गालको कानून नमानिने तर लोकसभाको कानून भने मान्य हुने पनि उल्लेख छ। मोर्चाले दाबी गरेको 102 वटा विषयहरूमाथि सदन, कार्यकारी अनि न्यायिक नियन्त्रण रहने, प्रस्तावित क्षेत्रमा आफ्नै उच्च न्यायालय हुनुपर्ने, सम्पूर्ण योजना, कर, वित्तिय, कोष आवण्टन, सम्पति इत्यादिमा अथोरिटीको पूर्ण वित्तिय अनि नीति निर्धारणको अधिकार रहने, अथोरिटी स्थापनादेखि स्पेशियल ननप्लान कोष केन्द्र सरकारबाट पॉंच वर्षको निम्ति सोझै दिइनुपर्ने, अनुमोदित पञ्चवर्षीय योजनामा आउने प्रत्यक्ष योजना कोष राज्य सरकारको बाटो नभइ अथवा सोझै केन्द्रबाट आउनुपर्ने, भू-राजनैतिक अवस्थालाई ध्यानमा केन्द्र सरकारबाट आउने कोषहरूको प्रत्यक्ष अनि विशेष आवण्टन हुनुपर्ने, भारत वर्षभरि नै उच्च शैक्षिक संस्थानहरूमा आरक्षणको व्यवस्था हुनुपर्ने, आधुनिक सुविधा सम्पन्न अस्पतालहरूको निर्माणको निम्ति कोष उपलब्ध हुनुपर्ने, अथोरिटीभित्र जति पनि बन्द चियाकमान छन्, त्यो खोलिनु पर्ने, जीएलपीलाई सशस्त्र बल अनि प्यारा मिलिटेरीमा लिनुपर्र्नेे, एडभोकेट जेनेरलको कार्यालय हुनुपर्ने, पञ्चायत र नगरपालिकाहरूमा पूर्ण लेजिसलेटिभ अनि प्रशासनिक अधिकार रहने, लोकसेवा आयोग अनि नियुक्तिको पूर्ण अधिकार हुनुपर्ने, व्यापार वाणिज्यमा क्षेत्रीय प्रतिबन्धहरू थोप्ने क्षमता हुनुपर्ने तर संविधानले तय गरेको सीमालाई पालना गरिने, बङ्गालले जलविद्युत, व्यापार अनि उद्योगहरू जस्ताबाट ेप्राप्त गर्ने क्षेत्रीय लाभहरूको आवण्टन हुनुपर्ने, अबोप्रान्त क्षेत्रभित्र पर्ने क्षेत्रीय राष्ट्रिय राजमार्ग जति छन् त्यसको निर्माण र रखरखाउको जिम्मा सीमा सड़क सङ्गठनलाई दिइनुपर्ने, सुकुना, सेभोक, मालबजार, बीरपाड़ा र कालचिनीमा रेलवेको ब्रोडगेज स्टेशन राखिनुपर्ने, शैक्षिक, मानव संसाधन विकास, पर्यावरण अनि आपदा प्रबन्धन, रोजगार उत्पादन, ग्रामीण अनि शहर निर्माण आदिको निम्ति अझ बेसी अनि विशेष एवं प्रत्यक्ष कोष आवण्टन गरिनुपर्ने उल्लेख गरिएको मोर्चाको प्रस्तावनामा आवश्यक सम्पूर्ण अधिकारहरूको दाबी गर्दै 102 सूत्री विषयहरूको उल्लेख गरिएको छ। यसबाहेक पनि 2007 देखि अन्तरिम अथोरिटी बहाली नभइञ्जेल जति पनि करहरू जस्तै बिजुली, टेलिफोन तथा अन्य करहरू छन् त्यसलाई माफी गरिनुपर्ने अनि आन्दोलनको समयमा दार्जीलिङ जिल्ला अनि डुवर्समा दर्ता गरिएको अपराधमूलक मुद्दाहरूलाई फिर्ता गरिनुपर्ने माग पनि गरिएको छ।
सोमवार, 15 मार्च 2010
गुरुवार, 11 मार्च 2010
गुप्ती रिपोर्ट खुलासा गर्ने दिन नै वार्तामा बस्ने मोर्चा टोलीको पनि खुलासा गरिने

कालेबुङः 11 मार्च। एकपत्रकार सम्मेलनमार्फत गोजमुमो सहसचिव विनय तामाङले मोर्चाले गुप्ती रिपोर्ट 15 मार्चको दिन डेलोमा 11 बजी क्षेत्रिय अनि राष्ट्रिय मीडियाअघि खुलासा गर्ने जनाएका छन्। उनले सोही दिन नै वार्तामा वस्ने मोर्चा टोलीमा को को सामेल हुनेछन् भन्ने कुराको पनि खुलासा गरिने जनाए। दुवै कुराको खुलासा गर्ने दिन मोर्चा अध्यक्ष विमल गुरूङ,अन्मोल प्रसाद, डा.हर्कबहादुर छेत्री, अमर लामा, विनय तामाङ, डा.रोहित शर्मा लगायत कालेबुङ, खर्साङ, सिलगढ़ी, डुवर्स, दार्जीलिङका जोनल कमिटी, नारी मोर्चा, युवामोर्चा तथा सम्पूर्ण भातृसङ्गठनका प्रतिनिधिहरू पनि रहने जनाएका छन्। उनले सुकना काण्डमा पक्रा परेकाहरूमध्ये 12 जनालाई रिहाइ गरिएको अनि रहल 6 जनालाई पनि शीघ्र रिहाइ गरिने बताउँदै शुक्रबारदेखि सामूहिक पक्राउको कार्यक्रमलाई स्थगित गरिएको पनि बताए। उनले नारी मोर्चा कोर कमिटीमा कालेबुङकी तारा लोहार लेप्चालाई लिइएको पनि जनाएका छन्।
मीडियाकर्मीहरूमाथि भएको दुर्व्यवहारप्रति क्रामाकपाले जनायो आपत्ति

कालेबुङः 11 मार्च। एक विज्ञप्ती जारी गर्दै क्रामाकपा आञ्चलिक समितिका सचिव मोहन पौड्यालले दैनिक पत्र-पत्रिका अनि पत्रकारहरूमाथि भइरहेको दुर्व्यवहार अनि गोजमुमोद्वारा उनीहरूविरूद्ध गरिने टिप्पणीप्रति आपत्ती जनाएका छन्। गणतन्त्रको चौथो स्तम्भ मानिने समाचार माध्यमद्वारा नै राजनैतिक दलहरूले सङ्गठन विस्तार, प्रचार-प्रसार अनि दलीय सोच र उद्देश्य जनतामाझ राख्ने अनि जनताको आकांक्षा सरकारसमक्ष पुर्याउने हुँदा यसको संरक्षण अनिवार्य रहेको बेला मीडियामाथि राजनैतिक हस्तक्षेप हुनु गणतन्त्रको खिल्ली उडाउनु रहेको जनाउँदै पौड्यालले गणतन्त्रमा जनताले बोल्न पाउनु पर्ने बताएका छन्। विज्ञप्तीमा भनिएको छ-जनताले ठीक पहललाई समर्थन गर्न पाउन पर्छ। 86-मा पनि मुद्दाले जनसमर्थन पाएको हो। तर आँखा चिम्लेर समर्थन गर्दै गरिएको आन्दोलनले सबैलाई पछार्यो। त्यसबाट तंग्रिन 21 वर्ष लाग्यो। अहिले युग बद्लियो। त्यसैले हामी गणतान्त्रिक आन्दोलनलाई अघि बढ़ाइरहेका छौं।तर आन्दोलन ठीक दिशातिर गइरहेको छ के? कार्यक्रमले सरकारलाई झुकाइरहेको छ के? कि जनतालाई वाक्कव्याक्क पारेर आन्दोलन र मुद्दादेखि जनतालाई अलग्याइरहेको छ, सबैले शङ्का गर्न पाइनु पर्छ। यो उनीहरूको गणतान्त्रिक अधिकार हो। गणतान्त्रिक अधिकारको रक्षा गर्ने सञ्चार माध्यमलाई क्रामाकपाले अभिवादन गरेको छ। उनले क्रामाकपाले मीडियामाथि हुने हरेक अत्यचारप्रति घोर भर्त्सना गर्ने बताएका छन्। विज्ञप्तीमा 1998मा एक हैकमवादी दलले अन्तराष्ट्रिय न्यालय हेग-माथि सम्बन्धित लेख छापेको निहुमा सुनचरी बन्द गर्ने तालीवानी फरमान गर्दा क्रामाकपाले सड़कमा ओर्लिएर दैनिकलाई हरेक पाठकसम्म पुर्याएको कुरा पनि सम्झना गरिएको छ। समाज कति विकशित छ भन्ने कुरा आँक्न त्यसजातिको साहित्य अनि पत्रकारिताको गुणस्तरमा निर्भर गर्नु पर्ने भएकोले सञ्चार माध्यममाथि अवरोध गर्ने पक्षलाई सबै मिलेर बिरोध गरिनु पर्ने अनुरोध पनि गरिएको छ।
गुरूङले आफ्नो इमान्दारिताको परिचय दिएका हुन्-डा छेत्री

कालेबुङः 11 मार्च। मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले लिचि ग्राउण्डमा भएको हिजोको घटनाद्वारा मोर्चा अध्यक्ष विमल गुरूङले उनी कति इमान्दार छन् भन्ने कुरा प्रमाणित गरेको जनाएका छन्। उनले मोर्चा अध्यक्ष विमल गुरूङले 10 मार्चको दिन गोर्खाल्याण्ड ल्याउने, नल्याए सुट गर्ने बताएकै भए पनि भाजपा सत्तामा नआएकोले बचन पूर्ण हुन नसकेको तर मोर्चाले गोर्खाल्याण्ड ल्याउनकै निम्ति प्रशस्त कार्य गरिरहेको जनाउँदै भने-अध्यक्ष गुरूङलाई हिजो विहानदेखि नै फोनहरू आइरहेको थियो। उनी बिहानैदेखि भावुक थिए। जनसभामा उनी बोल्दै जॉंदा उनी भावुक प्रवृतिको भएको कारण भावुक बनेर त्यसप्रकारको अप्रत्यासित घटना भयो। उनले राजनीति होइन आन्दोलन गरिरहेका छन्। मोर्चाले गोर्खाल्याण्डको निम्ति गोरामुमोले तीनवर्षमा नगरेको काम तीस महीनामा जतिपनि कार्य गरिरहेको छ त्यसको कुनै मुल्याङ्कन नगरेर केवल 10 मार्चलाई मात्र हेर्छ भने अनि जनताले चहान्छ भने आफ्नो बचन पूरा गर्न,आफ्नो इमान्दारिता प्रमाणित गर्न चहॉंदा त्यसतो घटना भयो। मलाई राष्ट्रिय मीडियाले घटनाबारे प्रशस्त सोधखोज गरे। मैले अफवाह मात्र बताएँ। तर घटना भएको हो अनि मैले हो भनिदिएको भए यहॉं ल एण्ड अर्डर उपार्जन हुनेथियो। हिजो एउटा दुर्घटना हुनबाट जोगियो। उनलाई नरोकिएको भए उनी आज हुनेथिएनन्। उनले आफ्नोे इमान्दारिता देखाए, त्यसको प्रमाण दिए। उनले विमल गुरूङ केवल विमल गुरूङ मात्र नरहेर गोर्खाहरूको अनुहार रहेको बताउँदै विमल गुरूङ सकिए आन्दोलन नै सकिने बताउँदै भने-मोर्चाले गोर्खाल्याण्डको निम्ति जति काम गरेर जहॉंसम्म पुगेका छौं अब त्यसबाट पछि फर्किन हामी चहान्नौं। हामीले सङ्कल्प गरिसकेका छौं। गोर्खाल्याण्ड गठन गरेर नै देखाउने छौंैं। जसले आन्दोलनको नाममा सिन्का पनि भॉंचेका छैनन्, जसले केवल टिप्पणी गर्नु अनि नराम्रो मात्र देखाउनुलाई राजनीति मानेर कुवामा बसेका छन् यस्ताहरूले गरेको टिप्पणीलाई प्राथमिकता दिएर यत्रो आन्दोलनलाई इतिश्री गर्न मोर्चाले चहॉंदैन। उनले मोर्चा अध्यक्ष रहेमात्र मुद्दा रहने कुरा अघि राख्दै विमल गुरूङको चिरायुको निम्ति मोर्चाले सर्वधर्म प्रार्थना गर्ने पनि जनाए। एकातिर मुद्दाको निम्ति यत्रो कार्य गर्दा पनि, यत्रो उपलब्धी हासिल गर्दा पनि यसलाई उपलब्धी मानिदैन भने जीवन नै अन्त गर्ने नेतृत्व छ अनि अर्कोतिर केवल टिप्पणी मात्र गरेर मोर्चाले गर्दै गरेको कार्यमा बाधा दिने, अनावश्यक टिप्पणी गरेर आन्दोलनलाई बाधित गर्नेहरू छन्। जनताले यसको मुल्याङ्कन अवश्यनै गर्छ-उनले भने।
म माफी चहान्छु-डा.छेत्री
आज मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले लिचि ग्राउण्डमा पत्रकारहरूमाथि भएको अभद्र व्यवहारलाई सही नमानिने बताए। मोर्चाले प्रेस स्वतन्त्र राखेको अनि सधैँ राख्ने, यदि पत्रकारहरू असुरक्षित हुन्छ भने मोर्चाले उनीहरूको सुरक्षाको जिम्मा पनि लिने बताउँदै भने-तर पत्रकारहरूले स्वतन्त्रताको मात्र होइन जिम्मेवारी पनि बुझेको हुनुपर्छ। हिजो जे पनि भयो यसको निम्ति म माफी माग्छु। उनले पत्रकारहरू पूर्वाग्रहले ग्रसित हुनु नहुने अनि यस्तो देखियो भने उनीहरूको सुरक्षाको निम्ति केही गर्न नसकिने बताउँदै भने-प्रेस भनेको सत्य तथ्य अघि ल्याउने, कुनै पूर्वाग्रह नभएको, बोल्न नसकेकाहरूको आवाजलाई निकाल्ने हुन्छ जसको हामी कदर गर्छौ। तर यहॉं त आवाजको आवाज दबाइने कार्य गर्छ, यस्तो हुनु भएन। दलमाथि दुर्भावना बोक्ने आशयको समाचार सम्प्रेषण भएमा उसको पक्षमा बोल्न नसकिने बताउँदै मोर्चाले सॉंचो पत्रकारितालाई सधैँ बँचाएर राख्ने अनि मोर्चाको पक्षबाट यदि यस्ता पत्रकारहरूमाथि कुनै दुर्व्यवहार भए उसलाई कार्वाही गर्ने अनि पत्रकारको सुरक्षाको जिम्मा लिने पनि जनाए। पत्रकारहरूले जसको कुनै जनाधार नै छैन, जसले कसैको प्रतिनिधित्व नै गर्दैन यस्ताहरूलाई महत्व दिने तर जसको जनाधार छ उसको टिप्पणीहरूलाई गलतरूपमा प्रस्तुत गर्ने कार्य भने उचित नहुने कुरा पत्रकारहरूले पनि बुझ्नुपर्ने ,प्रेस स्वतन्त्रतासित नै दायित्व पनि पत्रकारले बुझ्नु अनिवार्य रहेको उनले जनाए।
मोर्चापक्षसित बस्ने पत्रकारहरूको टोली

कालेबुङका मीडियाकर्मीहरूद्वारा असुरक्षित अनुभव जाहेर
मनोज वोगटी
कालेबुङः 11 मार्च। 10 मार्च 2010देखि कालेबुङका मीडियाकर्मीहरुको निम्ति असहज वातावरण निर्माण भएको छ। हिजो लिचि ग्राउण्डमा मीडियाकर्मीहरूमाथि भएको दुर्व्यवहारको कारण मीडियाकर्मीहरूले असुरक्षित अनुभव गर्नथालेका छन्। हिजो लिचि ग्रउण्डमा भएको मोर्चाको जनसभामा समाचार सङ्ग्रह गर्न गएका पत्रकारहरूलाई मोर्चा कार्यकर्ताहरूले विपक्षी दलको कुनै समाचार सम्प्रेषण गर्न नपाउने अनि मोर्चा अध्यक्ष विमल गुरूङलाई मीडियाकर्मीहरूले प्रभोक गरेको समेत आरोप लगाइएको थियो। केही दिन अघिदेखि मोर्चापक्षबाट कालेबुङका पत्रकारहरूको नाम नै लिएर उनीहरूले उचित पत्रकारिता नगरिरहेको आरोपहरू लगाइने गरिएको थियो भने हिजोको जनसभामा मुख्य गरी कालेबुङका नीजि च्यानलहरूद्वारा क्यामेराहरू अघि राखेर गुरुङको सम्भाषणलाई कैद गरिरहेका थिए। गुरूङले पनि बीचबीचमा भनिरहेका थिए-10 मार्च विमलले के गर्छ भनेर नै यत्रा ठूला क्यामेराहरू लिएर आएका होलान्। उनलाई यसबेला विह्वल देखिन्थे। जब गुरूङले अचानक सुटकेश माग्दै अप्रत्यासित आचरण देखाए यसैलाई केन्द्र गरेर जनसभा सकिएपछि उपस्थित मोर्चा कार्यकर्ताहरूले मीडियाकर्मीहरूलाई घेरेर अध्यक्षलाई प्रोभोक गरेको, पत्रकारहरूले विपक्षीदलबाट पैसा खाएको अनि उप्रान्त विपक्षीदलहरूको समाचार सम्प्रेषण गरे उचित नहुने चेतावनी समेत दिइएको थियो। मीडियाकर्मीहरूमाथि भएको दुर्व्यवहारको केही क्षणपछि मोर्चाको कार्यालयमा मीडियाक्रमीहरूलाई बोलाएर लिचि ग्राउण्डमा पत्रकारहरूमाथि भएको दुर्व्यवहारप्रति खेद प्रकट गर्दै पत्रकारहरूलाई खदा लगाएर माफी पनि मागिएको थियो। यसै घटनालाई लिएर आज कालेबुङका समस्त पत्रकारहरूले जुन असहज वातावरण निर्माण भएको छ त्यसमाथि व्यापक चर्चा गरे। प्रेस क्लब अफ कालेबुङका अध्यक्ष अरूणकुमार रसाइलीले सभा शुरू गर्दै कालेबुङमा पत्रकारहरूमाथि भइरहेको राजनैतिक हस्तक्षेप अनि पत्रकारहरूमाथि लगाइने आक्षेपहरूबारे चर्चा गरे। जर्नलिष्ट एशोसिएशनका अध्यक्ष सन्दिप जैन, सचिव भुवन खनाल, दैनन्दिनी, केटीभी, हालखबर, हिल च्यानल, समय दैनिक, सुनाखरी, हिमालय दर्पण, प्रभात खबर, दैनिक जागरण, जनपथ, टेलिग्राफ, आजभोलिका सम्वादाताहरूले अहिले पत्रकारहरूको निम्ति सहज वातावरण नभइरहेको अनि असुरक्षित रहेको विमर्ष गरेपछि मोर्चापक्षसित भेटेर समस्या अघि राख्ने अनि प्रेस स्वतन्त्रताको निम्ति अपील गरिने भएको छ। शुुक्रबार मोर्चा प्रवक्ता डा, हर्कबहादुर छेत्रीसित भेटेर भइरहेको असहज वातावरणको निवारणको निम्ति कुराकानी गरिने भएको छ। यस घटनालाई जर्नलिष्ट एशोसिएशनका सचिव भुवन खनालले खेदपूर्ण बताउँदै प्रेस स्वतन्त्रता हनन हुनु गणतान्त्रिक देशमा खुबै दुर्भाग्यपूर्ण रहेको जनाउँदै उनले भने, पत्रकारहरूलाई स्वतन्त्रता दिइनु पर्छ। जस्ता घटनाहरू घटिरहेको छ यसमा जर्नलिष्ट एशोसिएशनले भर्त्सना जनाउँछ। उप्रान्त यस्ता खाले घटनाहरू नदोहोरियोस्। अर्कोतिर प्रेस क्लबका अध्यक्ष अरूणकुमार रसाइलीले पनि पत्रकाहरूमाथि दुर्व्यवहार हुनुले गणतन्त्रको स्तर थाहा पाइने बताउँदै भने, मुद्दा अनि आन्दोलनको कुरा गर्नुहो भने पत्रकारहरूले पनि कहींनकहींबाट सहयोग दिइरहेको छ। प्रेस स्वतन्त्र भएन भने समाज खतरामा पर्छ। कालेबुङका पत्रकारहरूले जस्तो कार्य गरिरहेको छ त्यो पारदर्शी छ। पत्रकारहरूमाथि यस्तो प्रकारको लाञ्छना लगाइने कार्य बन्द गरिनु पर्छ अनि पत्रकारहरूको सुरक्षा हुनुपर्छ।
बुधवार, 10 मार्च 2010
सदस्यता लें
संदेश (Atom)

