मंगलवार, 2 मार्च 2010

सेटअप कि सटअप?

मोर्चाले गरेको कार्यक्रम मोर्चाको मात्र होइन। मोर्चाले भनेको कुरा मोर्चाको मात्र होइन। मोर्चाले देखाएको कार्यशैली मोर्चाको मात्र होइन। मोर्चा केवल विमल गुरूङको मात्र दल होइन। डा. हर्कबहादुर छेत्रीको मात्र होइन। नकि मोर्चाको स्टडी फोरमको मात्र हो। मोर्चाको प्रण्टल अर्गनाइजेशनहरूको मात्र होइन। जनताको हो। दलको होइन मुद्दा जनताको हो। कुनै पनि दलले जनाधार माग्छ भने उसको सैद्धान्तिक, बैचारिक, सामरिक, राजनैतिक चालचलनको आधारमा मात्र जनाधार दिइन्छ। दलको शक्ति भनेको नै जनाधार हो। जनशक्ति हो। जनशक्ति कुनै पनि दलको शक्ति होइन। दलको शक्ति स्थायी हुँदैन। जनशक्ति स्थायी शक्ति हो, जो विभिन्न दलहरूमार्फत त्यसले प्रकट पाउँछ। गोरामुमो थियो अहिले गोजमुमो छ। दुवैले गोर्खाल्याण्ड मागेको हो। मासवेश दलहरूले मासलाई विश्वास गर्नु पर्छ। मासले के भन्छ त्यसलाई लिएर कार्यक्रम गर्नु पर्छ। तर अहिले दलले के भन्छ भन्ने कुरा ठूलो भएको छ। जनधारणा, आकांक्षाको जहॉं कुनै इज्जत हुँदैन, मूल्य हुँदैन त्यहॉं स्वार्थ हुर्किन्छ। त्यो स्वार्थ सत्तालोलुपता र पैसाशक्तिमा जब रुपान्तरित हुन्छ तब व्यापक राजनैतिक अन्योलता आउँछ। जसभित्र लुकेर हुर्किरहेका हुन्छन्‌ सुनियोजित षड़यन्त्रहरू। अघि पहाड़मा अन्योलपरक राजनीति खुवै सुनियोजित ढङ्गमा गरिएको थियो जसको पञ्जाबाट हामी अझसम्म मुक्त हुन सकेका छैनौं। जनतालाई मुद्दाबाट बटारेर सिमेभिमेतिर धकेल्नु, आश्चर्य चकित वक्तव्यहरू दिएर अनावश्यक बहसको वातावरण बनाउनु, पिकनिकहरू मनाउनु, पूजाहरू गर्नु, जनतालाई धर्मको वकालत गरेर विबादहरू बनाउनु यस्ता सुनियोजित षड़यन्त्र अनि रणनीतिहरूमा पर्छ। पैसाशक्तिलाई अघि लगाएर आवाजलाई दबाइराख्नु, बोलिहाले गोली ठोक्नु अनि संत्रासित वातावरण निर्माण गर्नु, नितान्तै अनावश्यक टिप्पणीहरू दिएर जनतालाई हतास गराउनु, अनावश्यक कार्यक्रमहरू गरेर कार्यकर्ताहरूलाई व्यस्त राख्नु, जनपीडक कार्यक्रम गरेर जनतालाई नै उल्टा भावानात्मक व्ल्याकमेलिङ गर्नु जस्ता कार्यशैली अघि राजनैतिक दलहरूमा देखिएको कुरा हो। जनताले आन्दोलनको गरिष्टता, त्यसको व्यापकता, पहुँच अनि प्रभावबारे जनतालाई कहिल्यै पनि बुझ्ने अधिकार दिइएन। बहसको वातावरण निमिट्यान्नै पारेर एकल अनि व्यक्तिगत निर्णयहरू मुद्दालाई अघि राखेर गरिनु जस्ता राजनैतिक कार्यव्यवहारहरू कत्तिको स्थायी रणनीतिहरू हुन्‌ भन्ने कुरा अबका नेतृत्वले अझ पनि नबुझे अबको राजनैतिक भूल हुने स्पष्ट छ। अघि सरकारी निकायसित गरिएका कार्यव्यवहारहरूमा आएको विचलनलाई अहिलेसम्म पनि राजनैतिक भूल भनेर आरोप लगाइने गरेको छ। भारत स्वतन्त्र अघि अनि पछि गरेर 102 वर्षको भयो पहाड़को राजनैतिक चेतना। यो चेतनाले तर अझ पनि दलकेन्द्रित रहेकोले खुलेर प्रकट हुन पाइरहेको छैन। पहाड़मा कुनै राजनैतिक दलले नै जसकोमा आफ्नो मात्र झण्डा अनि झुण्ड हुन्छ उसले नै मुद्दालाई प्रतिनिधित्व गर्नु पर्छ भन्ने जुन संस्कार छ त्यसैलाई टिपेर राजनैतिक दलहरूको जन्म हुने गरेको छ। जनतासित एउटा बलियो आकांक्षा छ। देशमा चिन्हारी स्पष्ट पार्ने अनि बङ्गालसित छुट्टिएर आफ्नै हातबाट सत्ता संचालन हुनु पर्ने मानसिकता यता पहाड़को छ। तर जब छुट्टै राज्यको प्रश्न आउँछ पहाड़ मात्रले त्यसको दावीलाई बोक्न नसकिने भौगोलिक अवस्थान छ। त्यसै कारण तराई अनि डुवर्सलाई राज्य दाबी गर्न आन्दोलनमा जोड्न आवश्यक छ। तर तराई अनि डुवर्समा पहाड़को नेतृत्व गएर कार्यक्रम गर्नु गलत रणनीति हुनसक्छ। अघि पनि पहाड़लाई नै केन्द्र बनाइएको आन्दोलन भएको थियो त्यसकारण डाडु पन्यू पनि पहाड़कै नेतृत्वको हातमा थियो। अहिले कस्तो छ त्यो सबैले देखेको कुरा हो। जब गोजमुमोको जन्म भयो गोरामुमोको जनता थकाउने राजनीतिबाट थाकेकाहरू ह्वारह्वर्ती आए गोजमुमोमा। मोर्चाले ठूला नेताहरू खेदाए अनि सानाहरू ,ठेकेदारहरू,कुण्डलेहरू,गुण्डाहरू,साधरण जनता अनि आफै बुद्धिजीवी भएकाहरू सबैलाई दलमा लियो। कतिलाई पद दियो। कतिलाई पैसा दियो। 21 वर्ष कमाउन नसकेकाहरूले एकै वर्षमा पैसा कमाए। न त मोर्चाको दलीय संविधान बनियो नत कार्यक्रमहरू सुनियोजित भयो तरै पनि मोर्चाले अरू कसैले गर्न नसकेको कार्यक्रमहरू गर्‍यो। मुद्दा राष्ट्रिय बहसमा पुग्यो। संसदमा पनि गुञ्जियो। यो क्रमबद्ध उपलब्धी हो। तर यति मात्र चुड़न्त उपलब्धी होइन। यसको क्रम बढ्नु पर्छ। बढ्दै जॉंदा अहिले कुरा तर अन्तरिम परिषद अथवा मोर्चाको गुप्ती रिपोर्टमा आएर अल्झिएको छ। गोर्खाल्याण्डको आन्दोलन जब यो सेटअपको कुरामा आएर बस्यो यहींबाट नै अन्योलपरक स्थितिको निर्माण भइरहेको छ। सबैको ध्यान यसैमा छ। केन्द्र अनि राज्यले पनि यसैलाई अध्ययन गर्दै, समस्या सुल्झाउने पक्षमा छ। यसबीच थुप्रै शङ्‌काहरू अघि आयो। अहिले मोर्चा आलोचनाको, शंकाको चपेटमा परेको एउटै विषय छ -गुप्ती रिपोर्ट। रिपोर्टमा के छ भन्ने प्रश्नहरू प्रशस्तै उठे पनि मोर्चा भने वार्ताको निम्ति दिल्ली जान अघि मात्र त्यसलाई खुलासा गर्ने मेलोमा छ। मोर्चालाई किन शंका गर्न सकिन्छ भने केन्द्र अनि राज्यले थाहा पाइसकेको रिपोर्ट अब जनतालाई गुप्ती राखिबस्ने कुनै बाध्यता मोर्चालाई छैन। मोर्चाले भनि हाल्नु पर्ने हो। किन भन्दैन भन्ने प्रश्न यसकारण उठिरहेको छ। यसकोपछि के के कारणहरू छन्‌ त? भन्ने कुराले जनतालाई अनि अरू दललाई जुन अन्योलतामा राख्छ यसको उद्देश्य यतिनै अनि यो भन्दा बनि बड़ी अरू केही नै पनि हुनसक्छ। यतिबेला मोर्चालाई प्रशस्त शंका गर्न सकिन्छ किन भने गुप्तीबारे मोर्चा नै स्पष्ट छैन। स्पष्ट नभएको कुराले विवादहरू ल्याउँछ नै। विवाद ल्याउनु अनि जनताको सोंचलाई यतिमा नै अल्झाइराख्नु यसको कुटनैतिक उद्देश्य पनि हुन सक्छ। शंका गर्ने वातावरण निर्माण गरेर शंका नगर भन्नु पनि राजनीति नै हुनसक्छ। शंका कहॉंबाट उठ्यो त? त्यो शंका केको निम्ति हो त? कोतल्नु पर्ने कुरा यही हो। जब गोर्खालीग नेता मदन तामाङले मोर्चालाई मोर्चाले दागोपापको नै बलियोरूपमा सहमति गरिसकेको अनि अब त्यसको बहालीको समय मात्र रहेको कुरा गरेपछि नै मोर्चाद्वारा अचानक मदन तामाङलाई नै जवाब दिएको जस्तो टिप्पणी गर्दै यो गुप्तीको कुरा गरिएको थियो। हो नाम मात्र परिवर्तन गरेका छौं,डुवर्स र सिलगढ़ी पनि योभित्र छ भनेदेखि मोर्चाले शंकाको वातावरण बनायो। कुरा भने दागोपाप भङ्ग भएपछि गरिने एक अस्थायी व्यवस्थाको हो। त्यो पनि मुद्दालाई अघि बढ़ाउन सजिलोकोलागि मार्ग निर्माणको निम्ति हो। तर मोर्चाले भन्यो,यो एक वर्षको निम्ति हो, राज्य कै बराबरको छ। डुवर्स र सिलगढ़ीलाई पनि यसमा अन्तरभुक्ति गरेका छौं। पैसा चलाउन सक्छ कि सक्दैन भनेर नाड़ी छाम्दैछ। पैसा चलाउँछौ। केन्द्रले मान्न नसक्ने कुराको डिमाण्ड गरेको छौं। यसैमा भन्नेहरूले 72 भन्दा धेर विभाग, 3 सय करोड़ भन्दा धेर इकोमोनिक प्याकेजहरू पनि भन्दैछन्‌। भन्नेहरूले मोर्चाले बन, पर्यटन, चियाबारी, कुलैनबारी तथा अन्य विभाग आफै चलाउने अधिकार मागेको कुरा,पैसा सोझै केन्द्रले दिनु पर्ने भन्ने कुराहरू गरेको हल्ला पनि छदैंछ। उसै पनि अन्तरिम भन्ने कुरा पनि दागोपापको साटो चलाइने व्यवस्था मात्र हो जो गोर्खाल्याण्डको मार्ग प्रशस्त गर्ने एउटा खुड़किलो हो। तर अहिले गोर्खाल्याण्डको कुनै चर्चा छैन। छ त गुप्ती र अन्तरिमको मात्र। केन्द्रलाई अफ्ठ्यारो पर्ने त्यस्तो सेटअप गर्नुपछिको रहस्य के हो? के छ त्यो भित्र? त्यसको आयु कति हो? त्यसलाई प्राथमिकता किन बढ़ी दिइएको हो? किन वार्ता अघि मात्र बताउने? विरोध हुन्छ भनेर हो? के बहाली अघि रिपोर्ट जनबहसमा पुग्नु पर्दैन? रिपोर्टलाई जनस्वीकृति पर्दैन? यस्ता हजारौं प्रश्नहरू अहिले उठिरहेको छ जसको उत्तर मोर्चासित मात्र छ। मोर्चाले सिलगढ़ी र डुवर्सलाई पनि रिपोर्टले, पहाड़को प्रशासनिक व्यवस्थाले तान्ने कुरा गरेको छ। अन्तरिमले नै सिलगढ़ी अनि डुवर्स गोर्खाल्याण्डको सीमाना पर्छ भन्ने मोर्चाको भनाइ छ। दागोपाप भङ्ग भएपछि सिलगढ़ी महकुमा परिषद पनि यसैमा पस्ने कुरा पनि मोर्चाको छ। यो जति सजिलोसित भनिएको छ व्यहारिकतामा त्यतिनै सजिलो भने छ कि छैन? मोर्चाले रिपोर्टबारे स्पष्ट नगर्नु अनि वार्तामा बस्न अघि मात्र खुलासा गर्छु भन्नुले जति अन्योलता उपार्जन गरेको छ यसभित्र थुप्रै रहस्य लुकेर बसेको हुन सक्ने अनुमानहरू लगाइन थालिएकोे छ। विमल गुरूङले 2010 मार्च 10 सम्म गोर्खाल्याण्ड ल्याउने, नभए गोली ठोकेर मर्ने भनेर गरेको वाचालाई नै अघि राखेर कतिपय दलहरूले राजनैतिक चहलपहल गर्न थालेको छ भने बङ्गाल सरकारले पनि विधानसभा चुनाउलाई अघि राखेर मोर्चालाई गलतरूपमा उभ्याउने, भड्काउने, उत्तेजित गराउने अनि सीआरपी हुलेर संत्रासित गर्ने वातावरण उपार्जन गरिरहेको छ। सुकना काण्डको राम्ररी छानबीन नभएपनि बङ्गाल सरकारलाई सीआरपी हुल्न अनि मोर्चालाई जेल भर्न कार्यक्रम दिएको छ। यसैद्वारा पहाड़मा कुटनैतिक हावा गर्मिने अनि यो विनाशकसमेत हुनसक्ने सम्भावना चर्किएर गएको छ। भन्नेहरूले मोर्चाले गुप्ती रिपोर्ट अहिले नै खुलासा नगर्नुको पछिल्तिर विमल गुरूङको 2010 मार्च 10 तारिक पनि रहेको हुनसक्ने भन्नेगरेका छन्‌। वार्ताको तारिक पक्का नहुनको पछिल्तिर पनि यही तारिक हुनसक्ने अनुमान लगाउनेहरू पनि कम छैनन्‌। यही तारिकलाई ध्यानमा राखेर सरकारले आफ्नो खिचड़ी पकाइरहेको अनि यसलाई खान उत्सुक बन्नेहरूले मुद्दाको वास्तविकतालाई कतिदिन बँचाएर राख्ने हो भन्ने पीर गर्नेहरू पनि छन्‌। दागोपापपछि राज्यको क्षमता बराबरको व्यवस्था आउनु भनेको 86 को आन्दोलनमा दागोपाप आएको जस्तै हो। मोर्चाले एक वर्षको निम्ति भनेको व्यवस्थालाई यति गम्भीरता दिनु, केन्द्रलाई नै साह्रो पार्ने सहुलियतहरू माग्नु, बिकास डटेर गर्नु पर्छ भन्नु, केन्द्रले पैसा चलाउन सक्छ कि सक्दैन भनेर नाड़ी छामेको बताउनुहरूले पहल गोर्खाल्याण्डको नबुझाएर निक्कै लामो अरूनै व्यवस्थाको हो कि भन्ने शङ्‌का अघि ल्याएको छ भने यो व्यवस्था एक वर्षको निम्ति मात्र हुन सक्दैन भन्ने कुरालाई पनि पुष्टि गरिरहेको छ। किन भने एक वर्ष व्यवस्था के हो भनेर चिन्न अनि तालमेल मिलाउन नै खर्च हुन्छ। मुद्दालाई बिराम हुने पदक्षेप पनि यो हुनसक्छ भनेर सुर्ता गर्नेहरूले नै मोर्चाको कार्यशैलीहरूको आलोचना गरिरहेको छ। मोर्चाको राजनैतिक व्यवहार पारदर्शी नभएको कारण उपार्जन भएको अन्योलता भनेको नै मुद्दा केन्द्रित अन्योलता हो। कोही पनि कुनै कारणले मुद्दाको मार्गमा व्यवधान आओस्‌ भन्ने पक्षमा नरहेकोले आलोचनाहरू अघि आइरहेको छ। आलोचकहरूले मुद्दालाई होइन मोर्चाको अस्पष्ट,अव्यवहारिक अनि अपारदर्शी कार्यव्यवहारलाई नै आलोचना गरिरहेको छ। मोर्चाले एक त कार्यक्रमहरूको प्रभाव अनि त्यसले उपार्जन गर्ने हानीहरूबारे दुरगामी दृष्टिकोण राखेर कार्यक्रमहरू तयार पारेको कमै देखिन्छ भने राज्य अनि केन्द्रसित वार्तामा बसेर दुवै सरकारको कार्यशैलीहरू चिनेर प्रभावकारी वार्तालाप गरेको पनि कमै देखिन्छ। आलोचकहरूले गर्ने आलोचनाहरूमा लिगले गर्ने आलोचना नै मोर्चाको निम्ति गम्भीर बन्ने गरेको छ। अहिलेको अवस्थामा पनि मदन तामाङले मोर्चाले छैटौं अनुसूचीलाई नै संशोधन गरेर अर्कै नामको सेटअप गर्ने तयारी गरिसकेको दाबी गरिरहेको छ। यदि मोर्चाले त्यस्तो कुनै सेटअप नै गरेको हो भने पनि आलोचकहरूले सार्वजनिक गर्न अघि नै मोर्चाद्वारा त्यस कुरालाई जनतासामु ल्याइनु पर्ने हो तर अहिलेसम्म पहिले विपक्षीले ती कुराहरूको सार्बजनिक गर्ने अनि पछिबाट मोर्चाले त्यसबारे स्पष्टिकरण दिनुपर्ने घटनाहरू नै बढ़ी देखिएको छ। यसपल्ट पनि मदन तामाङले मोर्चाले छैटौं अनुसूचीको अर्कोरूप तयार गरेको कुरा बताएपछि मात्र मोर्चा अध्यक्ष विमल गुरूङले 28 न.समष्टीको भ्रमणअवधि अर्को सेटअपको कुरा गरे। उनले छैटौं अनुसूचीको संशोधन होइन अरू नै त्यो भन्दा राम्रो जहॉं डुवर्सले पनि सुविधा पाउने कुराको निम्ति सेटअप मिलाइने अनि पॉंचौं वार्ता अघि नै त्यसलाई जनतासमक्ष सार्वजनिक गरिने कुरा गरे। हुन त गुरूङले चौथो वार्ता भएको दिन दार्जीलिङको जनसभाबाट नै अर्को सेटअपको कुरा गरिसकेकै हुन्‌। एकातिर गोर्खाल्याण्डमाथि कटिबद्ध रहेको कुरा बारम्बार दोहोर्‍याउने अनि अर्कोतिर सेटअपहरूको कुरा पनि गर्ने गरेकोले मोर्चाले नै पहाड़मा अन्योलताको परिस्थिति ल्याइरहेको पनि समीक्षकहरू भन्छन्‌। चौथो वार्ता कै दिन गुरूङले सेटअपको कुरा गरेको कारण यो अघिबाट नै तयार मोर्चाको योजना हो कि भन्ने शङ्‌का पनि अघि आउँछ। न त मोर्चाले सेटअपबारे स्पष्ट कुरा नै गर्छ न त प्रभावी कार्यक्रमहरू नै गर्छ। यी सबै कुराले मोर्चाले मनमा कुनै कुरा लुकाएर हिड़िँरहेको शङ्‌का उपार्जन गरिरहेको छ। पहाड़मा अरू दलहरूले जे-जस्तो कार्यक्रमहरू गरुन्‌ त्यसबारे जनतालाई सरोकार छैन तर मोर्चा भने सबैभन्दा पहिले जनतासामु स्पष्ट हुन जरूरी छ। उसै पनि बिरोधी गुटहरू सल्बलाई रहेको अवस्था छ अनि ती विरोधीहरूमाथि मोर्चा त्रसित बनिरहनु पर्ने स्थिति आइरहेको कालेबुङमा भइरहेका मोर्चा विरोधी कार्यहरूप्रति गुरूङका टिप्पणीहरूले दर्शाउछ। मोर्चा पारदर्शी बन्यो भने, खुलस्त बन्यो भने कुनै पनि अर्को शक्ति न त जन्मन नै सक्छ न त विरोधीहरू सल्बलाउनै पाउँछ। जबसम्म मोर्चाका कमजोरीहरू भेटिँदैन तबसम्म ती कमजोरीहरूलाई अघि लगाएर कुनै शक्तिले पनि शीर उठाउने साहस गर्न सक्दैन भन्ने सुझावहरू पनि समीक्षकहरूको सुनिन थालिएको छ। मोर्चाले आफ्ना कार्यक्रमहरू अनि योजनाहरूबारे आफूलाई स्पष्ट नपारेसम्म मोर्चाका कार्यक्रमहरू अनि कार्यनीति नै आफ्नो बाधक बन्नसक्ने कुरामा आत्मसमीक्षा गर्न जरूरी रहेकोे पनि समीक्षकहरू ठान्छन्‌। विरोधाभाषपूर्ण कार्यक्रमहरू, अन्योलपरक टिप्पणीहरू, शङ्‌कास्पद् बयानहरू नै मोर्चामाथि गरिने आलोचनाका विषयहरू हुन्‌। आफै स्पष्ट नभइ अरूको स्वस्थ आलोचनाको अपेक्षा गर्नु गतिलै मुर्ख्याईं हुन्छ। अहिलेको समयमा बेलैमा सेटअपको कुरालाई लिएर मोर्चा स्पष्ट हुनुपर्ने देखिएको छ। नत्र यही मसला नै पहाड़को राजनीति गरम बनाउने विषय बन्दैन भन्न मिल्दैन। हुनसक्छ यो एउटा सुनियोजित राजनीति पनि हो। यो सेटअप मात्र होइन सटअप पनि हुन सक्छ। जनसहमतिबिना गरिने सेटअप र सटअप मुद्दाको निम्ति दुवै हानीकारक हो। अब दलहरू मात्र होइन जनतासमेत जागरूक हुन जरूरी छ। पॉंचौं त्रिपक्षीय वार्ता राजनैतिकरूपमा नभइञ्जेल अनि यस वार्ताले गोर्खाल्याण्डलाई लिएर उचित निर्णयहरू अघि नआइञ्जेल कुनै पनि दलले जस्तै अन्योलको वातावरण उपार्जन गरेपनि जनता अन्योलमा नपर्नु नै अहिले जनताको मुख्य भूमिका हो। मोर्चालाई थाहा हुनुपर्छ कि यो मुद्दा जनताको निम्ति हो भने जनतालाई कुनै खास कारणबिना अन्योलमा राख्नु हुँदैन। जनताले बुझेपछि जनताले नै निर्णय गरेपछि मात्र त्यसको बहालीको कुरा आउँछ। कि कसो हो? यो नितान्त गणतान्त्रिक प्रश्नको उत्तर पनि गणतान्त्रिक नै हुनु पर्छ होइन र? सोध्नेहरूलाई मोर्चाले भन्नु पर्‍यो नि मोर्चाको पहल सेटअपको हो कि सटअपको?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें