गुरुवार, 4 मार्च 2010

एक लाख अनि छः महीना कारावास हुने





कालेबुङ,4 मार्चः पहाड़लाई स्वच्छ बनाउन औ पहाड़को वातावरणमा सुधार ल्याउने उद्देश्यले सरकारले धेरै वर्ष अघिदेखि पोलिथिन ब्याग नचलाउने निर्देश दिएको भए तापनि निर्देश न त आज व्यापारीहरूले पालन गर्‍यो न त कुनै जनसाधारणले। यसरी नै कालेबुङ नगर सुन्दरीकरण गर्ने क्रममा कालेबुङ नगरपालिका स्वास्थ्य निभागले जनसाधारणलाई प्रदूषण विषयमा अवगत गराउन धेरैचोटि जनचेतना कार्यक्रम, पर्चा बॉंड्ने एवं सङ्घ-संस्थालाई पत्राचार गर्दै आएको भए तापनि आजसम्म जनसाधारण भने सचेत भए जस्तो देखिएको छैन। विगत वर्ष पनि नगरपालिकाले पोलिथिन ब्याग प्रयोग गर्नेहरूलाई जरिमाना तिराउने काम गरे पनि केही दिनपछि नगरपालिकाको निगरानी राख्ने क्रम प्रभावहीन बन्दै गयो। अर्कोतिर प्लास्टिक बोक्ने क्रम भने जारी रह्यो। यी सबै कुरालाई मध्यनगर गरेर कालेबुङ नगरपालिका स्वास्थ्य विभागले आजदेखि नगरमा निगरानी राख्न शुरू गरेको छ। आज स्वास्थ्य विभागका सुपरभाइजर रमेश बसुर अनि सेनिटेरी इन्स्पेक्टर सञ्जय प्रधानको प्रतिनिधित्वमा अन्य 23 जना स्वास्थ्य विभागका नारी कर्मचारीहरूले नगरमा पर्चा बॉंड्दै प्रत्येक दोकानमा निगरानी राख्यो। अब उसो पोलिथिन ब्याग प्रयोग गर्नेहरूमा नगरपालिकाले निगरानी राख्ने भएको छ भने प्लास्टिक बोकेर हिँड़ेको भेटिएमा 50 रुपियॉं अनि दोकानमा प्रयोग गरेको भेटिएमा 1 लाख रुपियॉं जरिमाना साथै छः महीनाको कारावास हुने कुरा आज स्वास्थ्य अधिकारी डा. एस.डी. जिम्बाले पत्रकारहरूलाई बताएका छन्‌। उनले खुल्ला पोलिथिन मात्र बन्द नगरेर अनावश्यक प्याक भएर आउने गुट्‌खा, खैनी आदि सामानहरू पनि पूर्ण रूपले बन्द गर्ने बताएका छन्‌। उक्त निर्देश पश्चिम बङ्गाल प्रदूषण नियन्त्रण विभागबाट आफूहरूलाई आएको अनि बङ्गालको सुन्दर वन र दार्जीलिङमा भने प्लास्टिकमा अघिबाटै विभागले रोक लगाएको औ यसप्रकारको प्लास्टिकहरूबाट उपार्जन हुने समस्याहरू नगरपालिकाले वित्तचित्र, जनचेतना कार्यक्रम, पर्चा आदिबाट सचेत गराउन खोजिएको बताए। कालेबुङ नगरमा यसप्रकारको मैलाको थुप्रोहरू बढ्दै गएको तर कालेबुङमा रीसाइकल प्लान्ट नभएको अनि मैलाहरू रीसाइकल नहुने भएकोले जनता आफै सचेत हुनपर्ने पनि उनले बताए। विभागले जनतालाई सचेत गराउन खोजे तापनि जनता सचेत नभएपछि यसप्रकारको ठूलो रकममा जरिमाना तोक्न बाध्य परेको अनि यसलाई पनि पसलेले ध्यान नदिए पसलेहरूको ट्रेड एण्ड फुड लाइसेन्स नविनिकरण गर्नमा पनि रोक लगाइने बताए।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें