मंगलवार, 9 मार्च 2010

वर्त्तमान राजनैतिक परिवेश ः मोर्चाले बुझ्नु पर्ने कुराहरू

मनोज वोगटी

कालेबुङ, 9 मार्चः सेटअपमाथि कुरा भएन भने मोर्चाले वार्तामा सहभागिता नजनाउने कुरा अघि आइसकेको छ। यसको सोझो अर्थ भनेको मोर्चाले अन्तरिमको निम्ति केन्द्रलाई पठाएको प्रस्तावमाथि कुरा हुँदैन भने वार्तामा नबस्ने हो। अथवा गोर्खाल्याण्ड भन्दा पनि ठूलो कुरा भनेको अन्तरिम सेटअप नै हो। लगभग मोर्चाले भनिसकेको छ,अन्तरिम सेटअपद्वारा नै गोर्खाल्याण्ड पुगिन्छ। आशा गुरूङले एक कदमपछि पर्दा गोर्खाल्याण्ड पुग्ने कुरा पनि अन्तरिम व्यवस्थालाई नै लक्ष्य गरेर भनेकी हुन्‌।

केही दिन यतादेखि मोर्चाबाट आएको टिप्पणीहरू हेरौं-

अन्तरिम सेटअप राज्य कै बराबरको छ-रोशन गिरी।

अन्तरिम सेटअप विधानसभा चुनाउसम्मको निम्ति हो-डा. हर्कबहादुर छेत्री।

प्रधानमन्त्री, गृहसचिव अनि बङ्गालको मुख्यमन्त्री वार्तामा नबसे म पनि बस्दिन-विमल गुरूङ।

सेटअपमाथि कुरा नभए वार्ता गर्नेछैनौं-विमल गुरूङ।

मास प्रोटेष्ट भए सेटअप फिर्ता लिन्छौं-डा.हर्कबहादुर छेत्री।

सेटअपमा जनताको हितलाई ध्यानमा राखेको छु-विमल गुरूङ।

गोजमुमोको लक्ष्य गोर्खाल्याण्ड हो ल्याएर नै छाड्नेछौं-विमल गुरूङ।


हिजो एक स्थानीय च्यानलमा अन्तर्वार्ता दिँदै मोर्चा प्रवक्ता डा.छेत्रीले केन्द्रको असुविधा रहेकोले मोर्चाले 2011सम्मको निम्ति अन्तरिम व्यवस्थाको निम्ति रिपोर्ट पठाएको बताए। एक दैनिकसितको कुराकानीमा उनले जनबिरोध भए सेटअप फिर्तालिने पनि जनाए। मोर्चाका टिप्पणीहरू एकार्कामा विरोधाभाषपूर्ण देखिएपनि सबै टिप्पणीहरूलाई हेर्दा मोर्चाले राष्ट्रिय राजनैतिक परिस्थिति अनुसार अहिले राज्य गठनको निम्ति निर्णय हुने वातावरण नरहेको कुरालाई महत्व दिएको बुझिएको छ। केन्द्रले अहिले(एकदुइ वर्ष)स-साना राज्य निर्माणको निम्ति कुनै पहल गर्ने स्थिति छैन। गोर्खाल्याण्ड भन्दा पनि बलियोगरी तेलङ्गनाको कुरा चर्किएर गएको भए पनि यसलाई पनि केन्द्रले तन्काएर लगिरहेको छ। यसैकारण अहिलेलाई अन्तरिम व्यवस्था पहाड़को विकासको निम्ति स्वीकार्दै अनि यसको मियाद सकिएपछि केन्द्रलाई राज्य गठनको निम्ति दवाब दिने मोर्चाले लक्ष्य राखेको अनुमान लगाउन सकिन्छ। तर गोर्खालिगले यो अन्तरिम परिषदलाई नै चुड़ान्त अनि गोर्खाल्याण्डको विकल्प बताएको छ। अन्तरिम व्यवस्था राज्य कै बराबर क्षमताको भनिएको, केवल 2011सम्मको निम्ति मात्र भनिएकाले यसको कारण अनि वास्तविकता खोज्नेहरूले मोर्चामाथि शङ्‌का गर्दै अनुमानहरू लगाइरहेको छ। मोर्चाको अहिलेसम्मको कार्यक्रम अनि राष्ट्रस्तरमा भइरहेको राजनैतिक कसरतलाई हेर्दा अनि जनसहयोग हेर्दा मोर्चाले त्यसता कुनै पनि गलत पहल गर्न सक्तैन,जो दल अनि दलको सङ्‌कल्पलाई नै घातक होस्‌। मोर्चा चहॉंदैन गोर्खाल्याण्ड बाहेक भइरहेको कुनै पनि कुराले जनविश्वास गुमोस्‌। मोर्चालाई पनि थाहा छ अब पनि धोका हुने कार्यपहल भए जनताले छुट दिँदैन। यसकारण मोर्चाले पहाड़, तराई अनि डुवर्सको जनताको विश्वास जित्दै मुद्दा सपलताको निम्ति कार्यशैली अप्नाउनु पर्छ। तर अहिले अन्योलस्थिति उपार्जन हुनुमा अन्यदलको टिप्पणी भने दायी देखिँदैन। मोर्चाले अन्य दल अनि जनतालाई स्पष्टरूपमा केन्द्रको परिस्थिति, राष्ट्रिय राजनैतिक वातावरण अनि मुद्दाको निम्ति गरिने कार्यपहलको समय र अवस्थाबारे बताउनु जरूरी देखिएको समीक्षकहरू भन्छन्‌। समीक्षकहरू अनुसार वास्तवमा नै मोर्चाले गुप्ती रिपोर्टबारे जनतालाई स्पष्ट बताएर पनि वार्ता अघि त्यसको फीडव्याक बोकेर, अन्यदल, सचेत नागरिक अनि जनताको परामर्श लिएर वार्ताको तयारी गरेको हुनु पर्नेे हो। त्यसलाई बहाली गर्नअघि नै आमसहमति लिएको हुनु पर्ने हो। मोर्चाले बनाएको प्रस्तावलाई केलाएर ठीक-बेठिक छुट्याउन जरूरी यसकारण छ कि वार्तामा यदि त्यसलाई बहाली गर्ने परिस्थिति भयो भने पनि कतैबाट बिरोध नहोस्‌। राम्रो कुरालाई जसले पनि समर्थन गर्छ। मोर्चालाई पनि गोर्खाहरूको सयवर्षे राजनैतिक गाथा थाहा छ, यसकारण मोर्चाले जनबिरोध हुने कुरालाई प्रथमिकता दिँदैन भन्ने आशा सबै सचेतवर्गले राखेको छ। मुद्दाको निम्ति सुटुक्क अनि गुप्ती भन्ने कुरा हुँदैन भन्ने कुरा मोर्चाको अध्ययन समितिलाई पनि थाहा छ तरै पनि मोर्चाले गुप्तीबारे खुलासा गर्नु अघि जनतालाई सीमित समय दिने, जनताकै मुद्दाको कुरा जनतालाई नै बताउन तारिक घोषणा गर्ने, गुप्ती रिपोर्टभित्र यो छ र त्यो छ भन्ने, सेटअपको कुरा नभए वार्ता नै नगर्ने कुराहरूले नै वास्तवमा मोर्चामाथि सचेतवर्ग अनि सचेत दलहरूले शङ्‌का गर्न कर लागेको पनि समीक्षकहरू भन्छन्‌। सबैलाई थाहा छ पहाड़को कुनै पनि दलले गोर्खाल्याण्डको बिरोध गरेको छैन। वास्तवमा पहाड़का कतिपय दलहरूले आफ्नो कार्यक्रम धरी नगरेर मोर्चालाई सहयोग गरिरहेको छ, यस कारण कि मोर्चा कतैबाट पनि बाधित नहोस्‌। जतिपनि अन्यदलहरूबाट टिप्पणी आइरहेको छ त्यो मोर्चाकै अस्पष्ट कार्यनीति, कार्यशैली अनि कार्यव्यवहारको बिरूद्ध आइरहेको समीक्षकहरू भन्छन्‌। दलहरू चहान्छन्‌ कि मोर्चाले नै मुद्दालाई अघि बढ़ाओस्‌ तर कार्यशैलीमा पारदर्शीता भने होस्‌। कोही पनि चहॉंदैनन्‌ कि मोर्चालाई एउटा भूल लुकाउन हजार भूल गर्न परोस्‌। मोर्चा पारदर्शी भयो भने सबैदल ठेगानमा आइहाल्ने कुरा पनि समीक्षकहरूको छ। क्रामकापाले पनि रिपोर्टले अन्योलता ल्यायो, स्पष्ट गर भनेको हो अनि गोर्खालीगले पनि सहीरूपमा आन्दोलन हुनुपर्छ अनि कतैबाट पनि शङ्‌का गर्ने परिस्थिति नआओस्‌ नै भनिरहेको छ। अहिलेसम्म स्पष्ट, बृहत्तर, शक्तिशाली, प्रभावी, सुयोग्य अनि बुद्धिजीवीहरूको जमात मानिएको मोर्चा अहिले आएर गुप्ती रिपोर्टको कारण विवादित्‌ बन्नु, यसैको कारण विभिन्न लाञ्छनाको शिकार बन्नु, मोर्चामाथि शङ्‌का गर्ने वातावरण बनिनुमा को दायी छन्‌ मोर्चाले बुझ्नु पर्ने कुरा रहेको समीक्षकहरू भन्छन्‌। मोर्चा सचेतवर्गमा पारदर्शी छ भने, जनतामा स्पष्ट छ भने, मोर्चामा इमान्दारिता छ अनि त्यो छर्लङ्ग छ भने मोर्चामाथि औंला उठाउने कुनै दलले पनि नसक्ने अनि बौद्धिक जमातले मोर्चाको कार्यशैलीलाई नै स्वीकृत गरेको अवस्थामा मुद्दालाई असर गर्ने कुनै पनि दलले पहल गरे उसलाई जनताले नै सही बाटोमा ल्याउने पनि समीक्षकहरूको मत देखिएको छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें