मंगलवार, 2 मार्च 2010

काकृकसंले तोड्यो परम्परा



1.8 करोड़को सामुहिक खेती शुरू

कालेबुङ,2 मार्चः सधैँ सरकारीपक्ष अनि दागोपापले हेला गरेको पहाड़को कृषिलाई कालेबुङ कृषक कल्याण सङ्गठनले अहिले विश्वसित जोड़िरहेको छ। सङ्गठनले पहाड़का कृषकहरूलाई एउटै मञ्चमा ल्याउँदै पहाड़भरि 130 वटा कृषक सङ्घको स्थापना गरिसकेको छ कृषकहरूलाई जैविक पद्धतिमा खेती गर्न वित्तिय,तक्निकीय सहयोगसित नै प्रशिक्षण दिने कार्यलाई निरन्तरता दिइरहेको छ। यसै क्रममा सङ्गठनले राष्ट्रिय ग्रामीण रोजगार सुरक्षित योजना(एनआरईजीए) अन्तर्गत केवल ग्रामीण बाटो निर्माण मात्र गरिने परम्परालाई तोड्दै यस योजनालाई सम्पदाको विकास अन्तर्गत सामुहिक खेतीमा रूपान्तरण गरेको छ। सङ्गठनले योजनामा सम्पदाको सुरक्षा अनि विकासको प्रावधान रहेको कारण सबैले अवहेलना गरेको कृषि अनि कृषकहरूको विकासको निम्ति नमुनापहलस्वरूप 1.8 करोड़को राष्ट्रिय ग्रामीण रोजगार सुरक्षा योजनाबाट सामुहिक खेती शुरू गरेको छ। दार्जीलिङको विजनबारी खण्डको पॉंचवटा ग्राम पञ्चायतमा 4 सय 20 जना कृषकहरूलाई लिएर सामुहिक खेती शुरू गरिएको छ। बिजनबारीको रेलिङ, चुङथुङमा नरिवल फुटाएर कालेबुङ कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीले यस योजनाको प्रथम चरणको श्रीगणेश गरे। छेत्रीले पहिलो चरणमा रेलिङ, मझुवा, चुङथुङ, कैजले ग्राम पञ्चायत क्षेत्रका लिजाहिल, अप्पर-लोवर चुङथुङ, विजनबारी, अप्पर-लोेवर रेलिङ, लामा गाउँ, कैंजले, सामसु कृषक सङ्घले सामुहिकरूपमा खेती गर्ने बताए। शुरूमा कृषकहरूले कम मूल्यको सीसाघरमा सब्जीको खेती, अलैंची,अदुवा अनि सुन्तलाको खेती गर्नेछन्‌। कृषकहरूलाई प्रशिक्षण दिने, जैविक प्रमाणिकरण गरिदिने, उनीहरूद्वारा उत्पादित खेतीको बजार व्यवस्थापन गरिदिने अनि तक्निकीय हस्तान्तरण गर्ने भूमिका सङ्गठनले निभाउने छ। योजना अन्तर्गत अहिलेसम्म केवल बाटो मात्र बनाइन्थ्यो, जसको निम्ति पहाड़लाई वर्षेनी 2 सय करोड़ राशि छुट्टाइन्थ्यो तर त्यसको 20 प्रतिशत पनि राशि प्रयोगमा नआएको कारण पहाड़ले यस योजनाद्वारा सरकारले चाहे जस्तो कुनै पनि फाइदा पाउन सकेको थिएन। सङ्गठनले योजनालाई पहाड़कै खेती विकास अनि आर्थिक विकासको निम्ति, कृषि उत्थानमा रूपान्तरित गरेर पहाड़का कृषकहरूको निम्ति ठूलो सम्भावना क्षेत्रको विकास गरेको छ। करोड़ौं रुपियॉंमा हुने खेतीको निम्ति कृषकहरू कटिबद्ध रहेका छन्‌। यसै खेतीको निम्ति बिजनबारीको डम्पिङ ग्राउण्डलाई पनि कृषकहरूले खेती भूमिमा रूपान्तरित गरेका छन्‌। सङ्गठनले पहाड़को कृषि विकासको निम्ति शुरू गरेको यस परम्परालाई सफल बनाउन सरकारी निकायपनि लागिपरेको छ। यो पहललाई सफल गरेपछि सङ्गठनले अन्य खण्डहरूमा पनि यसै प्रकारको कार्यपहल गर्ने भएको छ। पहिलेपल्ट यसप्रकारको पहल गर्ने सङ्गठनले कृषकहरूलाई जैविक पद्धतिमा खेती गराउने अनि उनीहरूको उत्पादनलाई देशको विभिन्न ठाउँमा पुर्‍याइने पूर्ण योजना तयार पारेको पनि छेत्रीले जनाएका छन्‌।

हिसोवेसोको प्रशंशनीय पहल

नारी तस्कर आशा तामाङ सोसाइटीको चङ्गुलमा

कालेबुङ,2 मार्चः कालेबुङको गैरसरकारी सङ्गठन हिल सोसियल वेलफेयर सोसाईटीले नारी तस्कर रोक्न विभिन्न कार्यहरू गर्दै आइरहेको छ। यसै क्रममा कालेबुङको लोले क्षेत्रबाट छ जना युवतीलाई भारतको विभिन्न ठाउँमा बिक्रि गरिएको आरोपमा लोलेका प्रेम लिम्बु अनि उनकी स्वास्नीलाई सोसाइटीले आफ्नो चङ्गुलमा पारेको थियो जसको निम्ति व्यापक केरकार भइरहेको छ। प्रेम लिम्बुले नेपाल अनि बीरपाड़ाकी एजेन्टहरू आएर काममा लगाइदिन्छु भनेर विदेश लैजाने बताएर छ जना युवती अनि चार जना युवकहरूलाई मुम्बई पुर्‍याएको अनि आफू पनि अभिभावककोरूपमा उनीहरूसित गएको बताउँदै महाराष्ट्रमा पुगेर युुवकहरूलाई फर्काएको अनि युवतीहरूलाई भने एजेन्टहरूले विदेश उड़ाएको बताएका थिए। उनले आफूहरूलाई एउटै कोठामा राखिएको अनि युवतीहरूसित नेपालका पुरूष एजेन्टहरूले राम्रो वर्ताउ नगरेको पनि बताएका थिए। उनले जसरी त्यसकाण्डबारे बताइरहेका थिए यसबाट युवतीहरू सुरक्षित नरहेको अनि उनीहरू बिक्रि भएको सुँइको पाइन्थ्यो। आफू फर्किँदा-फर्किँदै युवतीहरू मुम्बइमा पक्रा परेको थाहा पाइएको कुरा घर फर्किएर उनले बताएको सोसाइटीले थाहा पाएपछि लिम्बुलाई केरकार गरिरहेको थियो। यसै अवधी लिम्बुबाट फोन नम्बर पाएर फोन गर्दा नारी तस्कर बीरपाड़ामा पनि रहेको थाहा पाइएको थियो। मुम्बइमा पक्रा पर्ने युवतीको परिवारको पक्षबाट बीरपाड़ाकी आशा तामाङसित सम्पर्क गर्दा आफूलाई पहिले तीस हजार दिए पक्रा पर्नेलाई छुटाइदिने अनि पछिबाट पॉंच हजारसित नै केही युवती पनि दिए आफ्नो मान्छे दिलाइदिने बताएपछि सोसाइटीकोपक्षबाट यसकार्यमा लागिपरेका सोनाम युडेन भोटियाले एउटा जाल बुनेर आज बीरपाड़ाकी आशा तामाङलाई कालेबुङ बोलाइएको थियो। पैसा अनि युवती पनि दिने बताएर कालेबुङ बोलाएर आशा तामाङलाई सोसाइटीले आफ्नो चङ्गुलमा फँसायो। सोसाइटीको कार्यालयमा आरोपी तामाङलाई केरकार गर्ने कार्य भइरहेको छ। आरोपी तामाङले आ़फू यसबारे अनभिज्ञ रहेको अनि आफ्नी बहिनी मात्र आफूले विदेश लगेको बताइन। उनले जो नै बताए पनि लोलेबाट लगिएका युवतीहरू वेपत्ता बनाउने कार्यमा तामाङ पनि लिप्त रहेको आशङ्‌का गरिएको छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें