सोमवार, 8 मार्च 2010

महिला दिवसमा नेत्रीहरूले गरे मुद्दाप्रति चिन्ता



कालेबुङ, 8 मार्चः संसदमा महिला आरक्षणको सवालमा महत्त्वपूर्ण विमर्ष हुने तथा इतिहास नै रच्ने कुरामा बहस भइरहेको दिन महिला दिवस परेकोले यस दिनलाई महत्त्वपूर्ण दिन मानिएको छ। पहाड़मा पनि गोर्खे महिलाहरूले यस दिन नारी सशक्तिकरणबारे व्यापक छलफल गरे। तर जबसम्म देशमा गोर्खाहरूको चिह्नारीको सङ्‌कट समाधान हुँदैन तबसम्म हजारौं महिला दिवस आए पनि संसदमा महिलाहरूलाई व्यापक अधिकार हुने कुरा नै चले पनि त्यसले फाइदा दिने कुरा शंसयपूर्ण छ। पहाड़, तराई अनि डुवर्स मात्र होइन सर्वभारतीय स्तरमा अहिले गोर्खे नारीहरू आत्मनिर्णयको लड़ाईंमा लागिपरेका छन्‌। बङ्गालबाट उन्मुक्त नभई अनि छुट्टै राज्य नभई गोर्खे नारीहरूले देशले प्रदान गर्ने सम्पूर्ण अधिकार अनि सहुलियत उपभोग गर्न सक्तैन भन्ने मत गोर्खे नारीहरूसित अहिले छ। आज महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमहरूमा अंशग्रहण गर्न आइपुगेकी भागोप अध्यक्षा दिलकुमारी भण्डारी अनि पहाड़को वृहत्तर दल गोजमुमोको नारी प्रतिनिधि आशा गुरुङले पनि पत्रकारहरूसित बातचित गर्दै मुद्दाप्रति नै चिन्ता व्यक्त गरिन्‌। भारतभरिका गोर्खाहरूको चिह्नारीको सङ्‌कट समाधान गर्न अनि पहाड़, तराई र डुवर्सका गोर्खाहरूलाई बङ्गालबाट उन्मुक्त हुन छुट्टै राज्यको गठन नै अनिवार्य रहेको उनीहरूको मत थियो।

बङ्गालबाट पारपाचुके र छुट्टै राज्यको पक्षमा छौं-श्रीमती भण्डारी

एक कार्यक्रममा अंशग्रहण गर्न कालेबुङ आइपुगेकी भागोप अध्यक्षा दिलकुमारी भण्डारीले भनिन्‌-देशमा गोर्खाहरू कसरी शोषित छन्‌, गोर्खाहरूसित कस्ता समस्या छन्‌, गोर्खाहरूलाई छुट्टै राज्य किन अनिवार्य छ भन्नेबारे भर्खरै हामीले देशको राष्ट्रपतिलाई जनायौं। देशभरिका गोर्खाहरूलाई न्याय गर्छ भने छुट्टै राज्यले मात्र। उनले भागोप बङ्गालबाट पारपाचुके र छुट्टै राज्यको पक्षमा रहेको कारण साङ्गठानिक कार्यनीतिलाई यसैमा केन्द्रित गरेको जनाइन्‌। अहिले तर गोर्खाल्याण्डको साटो अन्तरिम सेटअप र गुप्ती रिपोर्टको अन्योलबीच राजनैतिक चहलपहल भइरहेकोबारे जान्न चॉंहदा उनले भनिन्‌-गुप्ती भन्ने कुरा मोर्चाको हो। गुप्तीमाथि के भन्न सकिन्छ र! गुप्ती भनिएकोले त्यसमा टिप्पणी गर्न सकिन्न तर त्यसले जनाकांक्षा पूर्ति गर्छ भने भागोपले सहयोग गर्छ। गर्दैन भने विरोध गर्छ। मोर्चाले जनतालाई धोका दिन्न भनेको छ, आशा गरौं, पर्खौं। त्यसपछि नै कस्तो रणनीति तयार पारिनुपर्ने हो, तयार पारिन्छ।
भण्डारीले भागोपले राष्ट्रियस्तरमा छुट्टै राज्य वा वासभूमिको निम्ति पहल गरिरहेको अनि भागोपको आफ्नै रणनीति रहेको पनि जनाइन्‌।

हजार वर्ष लागोस्‌, गोर्खाल्याण्ड ल्याउँछौं-आशा गुरुङ

दलीय कार्यक्रममा महिला दिवस कार्यक्रममा सहभागी बन्न आएकी आशा गुरुङले मोर्चा गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेको जनाइन्‌। उनले भनिन्‌-गान्धीजीले पनि हजार वर्ष लागे पनि भारत स्वतन्त्र गरेरै छाड्छु भनेका थिए, हामी पनि गान्धीनीति आन्दोलन गरेर हजार वर्ष लागोस्‌ गोर्खाल्याण्ड ल्याएर नै छाड्छौं।
गोर्खालीग अध्यक्ष मदन तामाङलाई उनले घर सॉंढ़ेको संज्ञा दिइन्‌। उनले भनिन्‌-आशा गुरुङलाई आरोप लगाए नारी मोर्चा बिथोलिने अनि 10 मार्च विमल गुरुङले सुट गरेपछि चौकी आफ्नो हात पार्ने सपना मदन तामाङले देखेका होलान्‌, त्यसको निम्ति सरी। मोर्चाले जनतामा विश्वास गर्ने अनि अरू दलको जनता नै नरहेको कारण टिप्पणीबाजी गरेर जनतालाई भ्रम पार्ने कार्य भइरहेको भए पनि मोर्चा गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहने उनले जनाइन्‌।
अन्तरिम सेटअप सन्दर्भमा उनले भनिन्‌-दुइ कदम पछि हट्‌दा गोर्खाल्याण्ड पुग्न सकिन्छ भने किन पछि नहट्‌ने? गुप्ती रिपोर्ट गोर्खाल्याण्डकै निम्ति हो। 86 मा सिलगढ़ी पनि पुग्न नसकेको आन्दोलन अहिले दिल्ली र संसदसम्म पुगेको जनाउँदै जनतालाई धोका नहुने कटिबद्धता देखाइन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें