बुधवार, 24 मार्च 2010

काठमाण्डौमा दार्जीलिङे साहित्यिक रमाइलो




मनोज वोगटी

कालेबुङ, 23 मार्चः त्रिमूर्ति निकेतन काठमाण्डौले महाकवि लक्ष्मीप्रसाद देवकाटा शताब्दी महोत्सवको निम्ति निम्त्याएर काठमाण्डौ पुगेका भारतका सर्जकहरूसित कुराकानी गर्दै नेपाल-भारतमा नै चर्चित सर्जक इन्द्रबहादुर राई वानेश्वरको पार्क होलिडे होटलको एक कोठामा भन्दै थिए-हामीले अब कसो गर्नु पर्ने, अब त हामीलाई लाज भइसक्यो। उता यताजस्तो गर्न सकिरहेका छैनौं। अब उताबाट पनि केही गर्नुपर्‍यो, तर के गर्ने?

डा.कुमार प्रधान, मनप्रसाद सुब्बा, सञ्जय वान्तवाहरू तर उनलाई चुपचाप सुनिरहेका थिए। भारतका 32 जना सर्जकहरूलाई देवकोटा शताब्दी सम्मानको निम्ति बोेलाइएको अन्तराष्ट्रीय नेपाली भाषासाहित्य सम्मेलनमा नै आयोजित अन्तराष्ट्रीय कवि सम्मेलनलाई अध्यक्षता दिन पुगेकी कालेबुङकी वयोबृद्ध साहित्यकार सानुमति राईले पनि उनलाई घेरिरहेका नेपाल-भारतका नारी सर्जकहरूसित भनिरहेकी थिइन-उहिले अहिलेका जस्तो नारी सर्जकहरूको भीड़ थिएन। अहिले कतिछन्‌ कति तरै पनि गरिएको साहित्यिक योगदानलाई नेपालले सम्झिएकोले खुशी छु। देवकोटा शताब्दी सम्मान कार्यक्रम शुरूहुन अघिल्लो दिन नै आफ्नो कथा सङ्‌ग्रहको निम्ति नइ पुरस्कार मनिषा कोइराला अनि इन्द्रबहादुर राईको बाहुलीबाट थापेर हर्षित बनेकी दार्जीलिङकी कथाकार नीना राईले सानुमति राईलाई गम्लङ्ग अङ्गालो हालेर आशिर्वाद मागिरहेकी थिइन्‌ भने साङ्‌मु लेप्चाले भनिरहेकी थिइन्‌-यो पुरस्कार होइन दायित्व दिइएको हो। साहित्यकार नरबहादुर दाहाल हातभरि पुस्तकहरू बोकेर भनिरहेका थिए-काठमाण्डौको उपहार उता लगिदिनु पर्छ।

पॉंच दिने अन्तराष्ट्रिय साहित्यिक जमघटले नौलो साहित्यिक तरङ उठाएको थियो। अन्मोल क्यटरिङमा भएको खचाखचलाई सम्बोधन गर्दै राष्ट्र कवि माधव घिमिरे भनिरहेका थिए-काव्यमार्फत विश्वव्यापी अनि अमर होइन्छ यसकारण साहित्यको महत्व सधैँ छ। यता अन्तराष्ट्रीय नेपाली भाषासाहित्य सम्मेलनलाई सम्बोधन गर्दै इन्द्रबहादुर राईले पनि भनिदिए-तर नेपालमा जस्तो भारतमा नेपाली भाषा समृद्धि सहज छैन। सबै ठाउँ बोलिने भिन्न भिन्न नेपाली भाषालाई एकै खाले बनाउन पाए कति राम्रो हुन्थ्यो होला। भारत,नेपाल अमेरिका,चीन, जापान, म्यानमार, बेल्जियम, रूस, वेलायतबाट आएका प्रतिनिधिहरूले पालैपालो सम्बन्धित राष्ट्र अनि नेपाली भाषासाहित्यःहिजो,आज अनि भोलि-विषयक कार्यपत्र राख्दै आ-आफ्नो ठाउँमा भइरहेको भाषासाहित्यको विकास अनि गरिनुपर्ने दायित्व सबैलाई बुझाइरहेका थिए। भारतबाट सञ्जय वान्तवाले कार्यपत्र राख्दा इन्द्रबहादुर राई, विन्द्या सुब्बा, मनप्रसाद सुब्बा, डा.जीवन नाम्दुङ, नरबहादुर दाहाल, सानुमति राईको अनुहार उज्यालो देखिन्थ्यो। दर्शक दिर्घामा बसेका कथाकार शरद छेत्री अनि गुप्त प्रधान कार्यपत्र प्रस्तोताहरूको मुख्य बुँदाहरू टिपोट गर्न व्यस्त देखिन्थे। महोत्सव समितिका मोदनाथ पश्रित अनि संयोजक केदारमान व्यथितले सबैसित भनिरहेका थिए-आइदिनुभएर हाम्रो उद्देश्य सफल बनाइदिनु भएकोमा धन्यवाद है। आयोजकपक्षका नाइके नरेद्रराज प्रसाईं व्यस्त हुँदा-हुँदै पनि घरिघरि माइक समातेर भनिरहेका थिए-विभिन्न राष्ट्रमा बसोबास गर्ने नेपाली सर्जकहरूलाई भेला गर्न मात्र होइन त्यहॉं भाषासाहित्यको निम्ति भइरहेको कार्य अनि त्यसको विकासको निम्ति उठाइनु पर्ने पहलबारेकोे विमर्श पनि हामीले राखेको अपेक्षा हो। मञ्चमा बोलाएर भारतका इन्द्रबहादुर राई, डा.कुमार प्रधान, सानुमति राई, विन्द्या सुब्बा, मनप्रसाद सुब्बा, नरबहादुर दाहाल, सानु लामा, सुवास दीपक, केदार दुरूङ, सञ्जय वान्तवा, डा.जीवन नाम्दुङ, डा.शान्ति छेत्री, लीलबहादुर छेत्री, दुगार्र्प्रसाद श्रेष्ठ, गोमा शर्मा, गोपालबहादुर नेपाली तथा अन्यलाई देवकोटा शताब्दी महोत्सव सम्मान गर्दै ताम्रपत्र वितरण गर्दा काठमाण्डौका मीडियाले घेरेर दर्शकहरूलाई सो दृश्य हेर्नै नदिएको दृश्य हेर्न लायक बनेको थियो। अचानक गिरिजाप्रसाद कोइरालाको निधनको खबरले सम्पूर्ण नेपाल शोकमग्न बनेपनि आयोजकपक्षले कार्यक्रम सार्न वा स्थगित गर्न नसकेको पीर त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाईंले सबैलाई सुनाइन्‌। यस्तै अवस्थामा बिनाताली अन्तराष्ट्रिय कविगोष्ठी शुरू भएको थियो। गोष्ठीलाई अध्यक्षता गर्दै मञ्चमा बसेकी सानुमति राईले आएका विश्वभरिका कविप्रतिनिधिहरूले सुनाएका कविता चुपचाप सुनिरहेकी थिइन्‌। कोइरालाको निधनले शोक परेको कारण कविहरूले कविता सुनाउँदा ताली मार्न नपाइने घोषणा गरिँदा दर्शक दिर्घाबाट जगदीश शमशेर राणाले कागती निचोरेपछि मुख नरसाई कसरी रहन्छ? भनिरहेका थिए। कवि मनप्रसाद सुब्बा, तुलसी दिवस, उषा शेरचन अनि मनोज बोगटीले कविता सुनाउँदा प्रतिवन्ध लगाइएपनि श्रोताहरू ताली नबजाइबस्न नसक्दा आयोजकपक्ष निर्वाक बन्न परेको दृश्य पहिले पल्ट देखिएको नेपालका ख्यातिप्राप्त कवि कालिप्रसाद रिजालले जर्मनी कवि मानफ्रेद थ्रोइलाई बताइरहेका थिए। आफ्नो बाजेको देहान्त हुनु अघिल्लो दिन नै होटल द्वारिकामा अभिनेत्री मनिषा कोइरालाले नेपालबाहिरको 12 राष्ट्रबाट आएका सर्जकहरूलाई रात्रीभोजमा निम्त्याएर भनिन्‌-नेपालमा तपाईंहरूलाई स्वागत। मनिषाकी आमा सुष्माले कलाप्रति छोरीको मोहबारे सबैलाई बताइरहेकी थिइन्‌। प्रधानमन्त्री माधवकुमार नेपालले बचन दिएर पनि राजनैतिक कारणले कार्यक्रममा आउन सक्नुभएन त्यसैले आज तपाईंहरूलाई उनले दिने भनिएको रात्री भोजलाई हामी बहिष्कार गर्छौं-कार्यक्रमभवनमा टम्म भरिएर बसेका साहित्यकारहरूलाई सम्बोधन गर्दै भोलिपल्ट नरेन्द्र प्रसाईंले यसो भन्दा नेपालबाहिरका सर्जकहरू छक्क परेर उनलाई हेरिरहेका थिए। प्रधान मन्त्रीज्यूको भाषा-साहित्यप्रतिको दृष्टिकोण यसैबाट चिन्न सकिने नेपालका एक साहित्यकारहरूले अतिथिहरूलाई भनिरहेका थिए। अग्नी विमानमा 45 मिनट आकासमार्ग हिँड़ेर भुँइमा झरेपछि ट्याक्सीमा चड़ेर सिलगढ़ी पुग्दा साहित्यकार इन्द्रबहादुर राईले भने-लौ बल्ल आफ्नो थलो आइपुगियो। धन्न बीचमा कुनै आपद् आएन।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें