गुरुवार, 11 मार्च 2010

मोर्चापक्षसित बस्ने पत्रकारहरूको टोली


कालेबुङका मीडियाकर्मीहरूद्वारा असुरक्षित अनुभव जाहेर

मनोज वोगटी

कालेबुङः 11 मार्च। 10 मार्च 2010देखि कालेबुङका मीडियाकर्मीहरुको निम्ति असहज वातावरण निर्माण भएको छ। हिजो लिचि ग्राउण्डमा मीडियाकर्मीहरूमाथि भएको दुर्व्यवहारको कारण मीडियाकर्मीहरूले असुरक्षित अनुभव गर्नथालेका छन्‌। हिजो लिचि ग्रउण्डमा भएको मोर्चाको जनसभामा समाचार सङ्‌ग्रह गर्न गएका पत्रकारहरूलाई मोर्चा कार्यकर्ताहरूले विपक्षी दलको कुनै समाचार सम्प्रेषण गर्न नपाउने अनि मोर्चा अध्यक्ष विमल गुरूङलाई मीडियाकर्मीहरूले प्रभोक गरेको समेत आरोप लगाइएको थियो। केही दिन अघिदेखि मोर्चापक्षबाट कालेबुङका पत्रकारहरूको नाम नै लिएर उनीहरूले उचित पत्रकारिता नगरिरहेको आरोपहरू लगाइने गरिएको थियो भने हिजोको जनसभामा मुख्य गरी कालेबुङका नीजि च्यानलहरूद्वारा क्यामेराहरू अघि राखेर गुरुङको सम्भाषणलाई कैद गरिरहेका थिए। गुरूङले पनि बीचबीचमा भनिरहेका थिए-10 मार्च विमलले के गर्छ भनेर नै यत्रा ठूला क्यामेराहरू लिएर आएका होलान्‌। उनलाई यसबेला विह्वल देखिन्थे। जब गुरूङले अचानक सुटकेश माग्दै अप्रत्यासित आचरण देखाए यसैलाई केन्द्र गरेर जनसभा सकिएपछि उपस्थित मोर्चा कार्यकर्ताहरूले मीडियाकर्मीहरूलाई घेरेर अध्यक्षलाई प्रोभोक गरेको, पत्रकारहरूले विपक्षीदलबाट पैसा खाएको अनि उप्रान्त विपक्षीदलहरूको समाचार सम्प्रेषण गरे उचित नहुने चेतावनी समेत दिइएको थियो। मीडियाकर्मीहरूमाथि भएको दुर्व्यवहारको केही क्षणपछि मोर्चाको कार्यालयमा मीडियाक्रमीहरूलाई बोलाएर लिचि ग्राउण्डमा पत्रकारहरूमाथि भएको दुर्व्यवहारप्रति खेद प्रकट गर्दै पत्रकारहरूलाई खदा लगाएर माफी पनि मागिएको थियो। यसै घटनालाई लिएर आज कालेबुङका समस्त पत्रकारहरूले जुन असहज वातावरण निर्माण भएको छ त्यसमाथि व्यापक चर्चा गरे। प्रेस क्लब अफ कालेबुङका अध्यक्ष अरूणकुमार रसाइलीले सभा शुरू गर्दै कालेबुङमा पत्रकारहरूमाथि भइरहेको राजनैतिक हस्तक्षेप अनि पत्रकारहरूमाथि लगाइने आक्षेपहरूबारे चर्चा गरे। जर्नलिष्ट एशोसिएशनका अध्यक्ष सन्दिप जैन, सचिव भुवन खनाल, दैनन्दिनी, केटीभी, हालखबर, हिल च्यानल, समय दैनिक, सुनाखरी, हिमालय दर्पण, प्रभात खबर, दैनिक जागरण, जनपथ, टेलिग्राफ, आजभोलिका सम्वादाताहरूले अहिले पत्रकारहरूको निम्ति सहज वातावरण नभइरहेको अनि असुरक्षित रहेको विमर्ष गरेपछि मोर्चापक्षसित भेटेर समस्या अघि राख्ने अनि प्रेस स्वतन्त्रताको निम्ति अपील गरिने भएको छ। शुुक्रबार मोर्चा प्रवक्ता डा, हर्कबहादुर छेत्रीसित भेटेर भइरहेको असहज वातावरणको निवारणको निम्ति कुराकानी गरिने भएको छ। यस घटनालाई जर्नलिष्ट एशोसिएशनका सचिव भुवन खनालले खेदपूर्ण बताउँदै प्रेस स्वतन्त्रता हनन हुनु गणतान्त्रिक देशमा खुबै दुर्भाग्यपूर्ण रहेको जनाउँदै उनले भने, पत्रकारहरूलाई स्वतन्त्रता दिइनु पर्छ। जस्ता घटनाहरू घटिरहेको छ यसमा जर्नलिष्ट एशोसिएशनले भर्त्सना जनाउँछ। उप्रान्त यस्ता खाले घटनाहरू नदोहोरियोस्‌। अर्कोतिर प्रेस क्लबका अध्यक्ष अरूणकुमार रसाइलीले पनि पत्रकाहरूमाथि दुर्व्यवहार हुनुले गणतन्त्रको स्तर थाहा पाइने बताउँदै भने, मुद्दा अनि आन्दोलनको कुरा गर्नुहो भने पत्रकारहरूले पनि कहींनकहींबाट सहयोग दिइरहेको छ। प्रेस स्वतन्त्र भएन भने समाज खतरामा पर्छ। कालेबुङका पत्रकारहरूले जस्तो कार्य गरिरहेको छ त्यो पारदर्शी छ। पत्रकारहरूमाथि यस्तो प्रकारको लाञ्छना लगाइने कार्य बन्द गरिनु पर्छ अनि पत्रकारहरूको सुरक्षा हुनुपर्छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें