बुधवार, 10 मार्च 2010

10 मार्च 2010ः राजनैतिक क्षेत्रमा उठेका सान्दर्भिकताहरू

मनोज वोगटी

सबैलाई शुभकामना, फलोस्‌ फुलोस्‌, मछु भने जनतासितै हुन्छु, रहेनछु भने पनि राम्रो होस्‌।

गोजमुमो अध्यक्ष विमल गुरूङले कालेबुङको लिचि ग्राउण्डमा भएको जनसभामा हिजो यसो भनेपछि जनसभा सुन्न आएका जनताले उनको भनाईको आशय बुझे। गुरूङले 10 मार्चको दिन गोर्खाल्याण्ड नल्याए गोली ठोक्छु भनेका थिए जसलाई सम्झना गर्दै उनी भनिरहेका थिए, जनतालाई ढॉंटेर राजनीति गर्नु हुँदैन। म बचन पुरा गदर्छु। तर जनताले गुरूङको पीड़ादायक भाषण सुनेर उत्तेजित बनिसकेका थिए। उनीहरूले गुरूङलाई त्यसो गर्न नदिन गुरूङ बोल्दैपिछे बिरोध जनाइरहेका थिए। गुरूङले बोल्दा बोल्दै कार्यकर्ताहरूलाई आफ्नो सुटकेश मागे। गोजीबाट चाबी निकाले अनि खोल्न थाले। यतिबेला नै वरिपरि रहेका मोर्चा प्रतिनिधिहरू अमर लामा, विनय तामाङ अनि अन्यले गुरूङको हातबाट चाबी खोसे। अनि गुरूङले गर्न खोजेको गर्न दिएनन्‌। उनी पुन मञ्चमा आए अनि उनले भने, मैले त्यसो गर्न खोजेको होइन म जनतालाई केही कुरा देखाउन चहान्थें।

गुरूङ बराम्बार दिनभर नै दुखित देखिन्थे। आफ्नो बचन पूरा हुन नसकेकोमा उनी जनतासित खेद् प्रकट गर्न चहान्थे। उनी भनिरहेका थिए-भाजपासित जस्तो किसिमको कुराकानी थियो, त्यही आधारमा मैले बचन दिएकोे थिएँ। त्यो दिन आज हो। आज विहानदेखिनै मलाई घेरेर बसेका छन्‌ मलाई माया गर्नेहरू, पत्रकारहरू ठूलोठूलो क्यामेरा लिएर आएका छन्‌। सायद सबैले मेरो बचन के हुन्छ भनेर पर्खिएका छन्‌। म जनतालाई धोका दिन आएको होइन। म धोका दिन्न। बोल्दा गुरूङको स्वर अवरूद्ध भइरहेको थियो। मछु भने जनतासित नै रहनेछु, छैन रहेछु भने सबैले राम्रो गर्नु, मेरो शुभकामना छ। गुरूङ वास्तवमा बिपक्षीहरूद्वारा लगाइएका लाञ्छनाहरूदेखि पीड़ित थिए। त्यसैले मैदानबाट जनताले भनिरहेका थिए-बिमल गुरूङ, हामी तपाईंको साथ छौं। गोर्खाल्याण्ड हुन्छ भने विमल गुरूङद्वारा नै। अमर लामाले पनि मञ्चबाट गोर्खाल्याण्ड भएर नै छाड्ने अनि बिमल गुरूङले नै गोर्खाल्याण्ड ल्याउने बताइरहेका थिए। वातावरण मर्मान्तिक देखिन्थे। गुरूङले प्रथमपल्ट आफ्नो सम्भाषणद्वारा जनतालाई रुवाएका थिए। लिचि ग्राउण्डमा जुन वातावरण बनियो त्यसले उत्तेजित जनताले पत्रकारहरूलाई पनि गाली गर्न छाड़ेनन्‌। उनीहरूको ठनाइथियो,जुन वातावरण बनियो त्यसको कारण मीडिया हो। पछि दलीय कार्यालयमा नै मोर्चा प्रतिनिधिहरूले पत्रकारहरूलाई बोलाएर लिचि ग्राउण्डमा भएको पत्रकारहरूको अपमानको निम्ति माफी मात्र मागेनन्‌ पत्रकारहरूको सुरक्षाको निम्ति जीएलपी दिने समेत घोषणा गरियो। यसरी बित्यो 10 मार्च 2010, कालेबुङमा। थुप्रै महत्वको दिन रहेको 10 मार्चलाई मोर्चाले तर चुनौतिको रूपमा नै लियो। वास्तवमा मोर्चा अध्यक्षले भाजपा सत्तामा नआएपछि नै आफ्नो बचन पूरा हुन नसकेपनि समय लिएर गोर्खाल्याण्ड गठन गरेर नै छाड्ने कुरा भनिसकेका थिए। राजनीतिमा सबै बचन पूर्ण हुन्छ भन्ने कुराको कुनै ग्यारण्टी हुँदैन। भाजपा नै सत्तामा आएको भए पनि गोर्खाल्याण्ड गठनलाई लिएर कुनै पक्कापक्की कुरा गर्न सकिँदैन थियो। विमल गुरूङले दिएको बचनलाई लिएर नै कतिपय दलले राजनैतिक टिप्पणीहरू बारम्बार जारी गरे। गुरूङले बचन पूरा गरेर नै देखाउनु पर्छ भन्ने मानसिक चाप दिइरहे। केलाएर हेरियो भने विमल गुरूङले सूट गरेको भए पनि गोर्खाल्याण्ड भने हुने थिएन। गोर्खाल्याण्ड हुनलाई केन्द्रिय वातावरण बनाइनु पर्छ। आम सहमति अनि राजनैतिक सहमतिहरू जुटाइनु पर्छ। राष्ट्रिय कसरत गरिनु पर्छ। केन्द्रिय सरकारलाई गोर्खाल्याण्डको निम्ति शिक्षित गरिनु पर्छ। दार्जीलिङ, डुवर्स अनि तराईको भू-भाग,त्यहॉंको जनताको आकांक्षा,उनीहरूमाथि राज्य सरकारले गर्दै आइरहेको राजनैतिक व्यवहार, शोषण, देशको सुरक्षाको प्रश्नमा सीमा क्षेत्रको वास्तविकता अनि राज्यले सुरक्षा व्यवस्थामा लिएको पदक्षेप, आर्थिक सम्भावनाहरू अनि राज्य सञ्चालनको निम्ति सामर्थबारे अवगत गराइनु पर्छ। यस्तो पहल कुन दलले गरिरहेको छ त्यो त जनतालाई थाहा छँदैछ। तर पहाड़मा गोर्खाल्याण्डको निम्ति कुनै ठोस्‌ कार्यक्रम नगरेर केवल अर्को दलको भूलमात्र देखाउँदा गोर्खाल्याण्ड हुँदैन। गोजमुमोलाई वृहत दलकोरूपमा स्नीकार गर्नु मुद्दाको निम्ति अनिवार्य छ अनि दलहरूले मोर्चाले यदि भूल नै गर्दैछ भने पनि टेबलमा बोलाएर नितान्त आत्मियतासित कुराकानी गरेर सच्चाइनु नै अरूदलको भूमिका हुन्छ। मोर्चालाई शुरूदेखि नै विश्वासमा लिएर एक्लै निर्णय गर्न नसक्ने वातावरण बनाइनु पर्थ्यो। मोर्चालाई शुरूदेखि नै पारदर्शी बनाइन अरूदलले संयमसित कार्यपहल गरेको हुनुपर्थ्यो। जनता के चहान्छ भने सबैदल एक होस्‌ अनि मिलिभगतमा नै केन्द्रसित मुद्दाको निम्ति गरिनु पर्ने कार्यव्यवहारको निम्ति रणनीति बनाइयोस्‌। पहाड़मा बिपक्षी र बिरोधी दल भन्ने कुरा नै हुँदैन। राजनैतिक सङ्गठन फरक भए पनि मुद्दा सबैको एकै भएकोले एकार्कालाई प्रोत्साहित गरेर मुद्दाको निम्ति कार्यनीति तयार पार्नु नै बौद्धिक कार्य हुने थियो। यस्तो भएको भए मोर्चा अध्यक्षले 10 मार्चको समय दिँदैन थिए। नत अरू दललाई नै मोर्चाले अविश्वास गरेर टिप्पणी गर्न सक्थ्यो। अहिले दलहरूमा मुद्दाकेन्द्रित टिप्पणी भन्दा पनि धेरै अहम्‌, शङ्‌का, डाहा अनि अरू दललाई इज्जत नगर्ने संकुचित मानसिकता नै बढ़ी देखिएको छ जोसित जनताले कुनै सरोकार राख्दैन। जनतालाई पनि थाहा छ कुन दल कति पानीमा छ। राजनैतिक एकिकरण, सहमतिको वातावरण, पारदर्शी मैत्रिकता, मुद्दाको निम्ति हुनै कार्यनीतिमा बौद्धिक आग्रह, तथ्यपरक कार्यपहल अनि दुरगामी र सचेत मानसिकता नै जनचहाना हो। राज्य जुनै दलले गठन गरोस्‌ जनताको निम्ति राज्य गठन हुनु महत्वको कुरा हो। जुनदलले राम्रो पहल गर्छ जनताले उसलाई नै विश्वास गर्छ। गोर्खाल्याण्डको इतिहासमा दलहरूले नै जनतासित जनसहयोगको आह्वान गर्दै राज्य गठन गर्ने बचन दिएको छ। इतिहासमा जनताले दल र नेतालाई धोका दिएको कुनै हरफ छैन। छ भने दलले नै जनतालाई धोका दिएको छ। दलहरूले जनताको मानसिकता अनि राजनैतिक अपरिपक्वताको फाइदा उठाउँदै सेन्टिमेन्टल व्ल्याकमेलिङ गर्ने प्रवृति अझसम्म त्याग्न सकेको छैन। अहिलेको सचेतवर्गले आफूहरूलाई प्रतिनिधित्व गर्ने नेता र दलको सैद्धान्तिक, भावानत्मक, बौद्धिक, शैक्षिक अनि तक्निकीय चालचलन हेर्छ अनि जुन दलमा ती सबै देखिन्न उबाट पलायित भएर बस्छ किन भने उनीहरूलाई ती दल र नेताप्रति विश्वास हुँदैन। सचेतवर्गबाट विश्वास गुमाउनु भनेको राजनीतिमा सबैभन्दा ठूलो हार हो। पहाड़का दलहरूले अझसम्म पनि ती वर्गमा विश्वास जमाउने प्रवृति देखाएको छैन। यसैकारण एउटै मुद्दामाथि भइरहेको कार्यपहलमा पनि, कार्यक्रममा पनि अन्तविरोधहरू देखापरिरहेको छ। सचेतवर्ग मैदान उत्रिएर विरोध गर्दैनन्‌। उनीहरूले अन्तविरोध गरेर नै आफ्नो जमातलाई सचेत गराइराख्छ, किन भने पहाड़ सानो ठाउँ भएको अनि नेताहरूले राजनीति नै नबुझेकोले आत्मघाती चलखेल गर्ने डर सधैँ हुन्छ। नेताहरू अल्पबुद्धि भयङ्‌करी प्रवृतिको रहेकोले सचेत नागरिक उनीहरूबाट सधैँ जोगिन चहान्छन्‌। राष्ट्रिय राजनैतिक परिस्थितिलाई ध्यानमा राखेर राजनीति गर्न जानिएन भने विभिन्न लाञ्छना, अवरोध अनि आत्मपीड़ित परिवेशको निर्माण हुन्छ जो घातक पनि हुनसक्छ। 10 मार्च पनि झन्नै त्यस्तै एउटा परिस्थिति हो। तर यतिबेला पनि मुद्दाको निम्ति दह्रो कार्यनीति नदेखाएर मोर्चालाई चाप दिने व्यवहार नै देखापर्‍यो जसलाई सचेतवर्गले दुर्भाग्यपूर्ण बताएको छ। तर सचेत वर्गले 10 मार्चलाई पहाड़को राजनीतिमा एउटा नयॉं पदक्षेप हुनसक्ने अनुमान गरेको छ। मोर्चाले पनि यसदिनदेखि उता सबैदललाई सहमतिमा राखेर, खुल्ला अनि आत्मिय व्यवहार गर्दै सुझावहरू मागेर, मुद्दाको निम्ति के के गर्न सकिन्छ फीडव्याक मागेर उप्रान्त कार्यक्रम गरे जनताको निम्ति सबैभन्दा ठूलो उपलब्धी हुनेछ। अरू दलले पनि मोर्चासित सहभाव देखाएर कॉंधमा कॉंध दिने वैचारिक र बौद्धिक व्यवहार देखाए जनताले दलको अस्तित्वमाथि गर्व गर्नेछन्‌। तर उप्रान्त पनि सबैदल एकार्कामा बौंठिएर, बाङ्गिएर, मन दुखाएर, आह्रिस गरेर, प्रतिक्रिया मात्र गरेर, दोष्याएर, नराम्रो मात्र देखाएर बसे अनि मुद्दा हातबाट चिप्लिएर गए मोर्चालाई मात्र होइन कुनै दललाई जनताले माफ गर्नेछैन। दलहरूले जुन भीड़लाई जनता ठान्छन्‌ त्यो सबैभन्दा ठूलो भ्रम हो। भीड़ कार्यकर्ता हुनसक्छ जनता होइन। कार्यकर्ता अनि जनताको अर्थ छुट्याउन नजान्ने दल अहिलेसम्म लामोसम्म टिकेको इतिहास छैन।

अर्कोतिर आन्दोलनमा पत्रकारहरूलाई तारो बनाउने प्रवृति पनि दलहरूले त्याग्न सकेको छैन। पत्रकारले कुनै पनि दलको कार्यकर्ता भएर कार्य गर्दैन। उ जनताको आवाज र सत्य उजागार गर्ने गणतन्त्रको ठूलो शक्ति हो। पत्रकारको कलमलाई जति दबाइन्छ त्यस सत्ता र दलले उति नै गणतन्त्रमाथि प्रहार गर्छ जो दलको निम्ति खुबै हानिकारक पदक्षेप हुन्छ। पत्रकारहरूको स्वतन्त्रता सत्ता अनि बलले छिन्न सक्दैन। पत्रकारितालाई पनि स्वतः मुद्दाकेन्द्रित अनि जनकेन्द्रित बनाउनको निम्ति माहौल तयार गरिएको हुनुपर्छ। कुनै पनि दलले दिएको निर्देशलाई कार्यकर्ताहरूले पालन गर्छन्‌ पत्रकारहरूले होइन। पहाड़मा पत्रकारहरूले असुरक्षित अनुभव गर्नबाट सबैले आलङ्‌कन गर्न सक्छन्‌ पहाड़मा कति गणतन्त्र बॉंचेको छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें