शनिवार, 27 मार्च 2010

अन्तरिम पछि गोर्खाल्याण्ड


कालेबुङ, 27 मार्चः सोझै गोर्खाल्याण्ड हुन नसक्ने कुरा स्वीकार्दै तर गोर्खाल्याण्ड पुग्नैको निम्ति अन्तरिमको बाटो भएर जानुपर्ने परिस्थिति रहेकोले मोर्चाले अन्तरिम व्यवस्थाको कुरा अघि बढ़ाएको कुरा आज गोजमुमो सचिव रोशन गिरीले बताए। त्रिपक्षीय वार्ताबारे जनतालाई बताउन कालेबुङको डम्बरचौकमा गरिएको जनसभामा बोल्दै रोशन गिरीले अझ भने-यो अन्तरिम तीनै पक्ष बसेर लेजिसलेटिभ अन्तर्गत पारित भएको हुनुपर्छ। हामीले स्पष्ट पारेका छौं अन्तरिमले गोर्खाल्याण्डको बाउण्डेरी भत्काउँदैन र यो 2011 सम्मको निम्ति हो। अन्तरिमपछि नै गोर्खाल्याण्डको प्रक्रिया चल्छ।

मोर्चाको रिपोर्टलाई छैटौं अनुसूचीसित तुलना गर्नेहरूलाई इङ्गित गर्दै उनले भने-सुवास घिसिङ अनि दागोपापले गोर्खाल्याण्ड ड्रप गरेको छ, हाम्रो रिपोर्टले गोर्खाल्याण्डको आन्दोलन र मुद्दालाई कुनै असर गर्दैन भनेको छ। उनले अझ तुलनात्मक टिप्पणी राख्दै दागोपापमा 19 वटा विभाग रहेको तर अन्तरिममा 102 वटा विभाग रहेको बताए। छैटौं अनुसूचीले जात उपजातमा विभाजन गर्ने भएकोले विरोध गरेको तर अन्तरिमले ट्राइबल बनाए सबैलाई एकतामा राख्ने बताउँदै उनले भने-सेड्यूल कास्टको स्टाटस र बेनिफिटहरू अन्तरिममा उल्लेख गरिएको ट्राइबलको दाबीले यथावत राख्नेछ। उनले नागाल्याण्ड, अरूणाचल, मणिपूर पनि ट्राइबल रहेको तर छैटौं अनुसूची नरहेको बताउँदै उनले भने-ट्राइबल हुने भनेको छैटौं अनुसूची होइन। तर नबुझ्नेहरूले यसैलाई लिएर अन्योलता खड़ा गरिरहेको छ। ट्राइबललाई छैटौं अनुसूचीसित नदॉंज्नू। सूचना एवं तक्निकीको जमाना हो। हामीसित भिजन छ। यदि हामीले छैटौं अनुसूची नै मागेको भन्छ भने आऊ जनतालाई अघि राखौं, आर्गुमेन्ट गरौं। हामीले ढॉंटेको हो भने जनताले कार्वाही गर्छ तर मदन तामाङले ढॉंटेको हो भने उनलाई पनि जनताले नै कार्वाही गर्छ। अन्तरिमपछि राज्य भएका अरू राज्यहरूको उदाहरण अघि राख्दै उनले भारत सरकारले गोर्खाहरूको आवश्यकता बुझिसकेको दाबी पनि गरे। अन्तरिम नै अन्तरिम नरहेको, 102 बुँदामा अझ बुँदा थप्ने, अन्तरिम भएपछि त्यो व्यवस्था चलाउन मोर्चा प्रतिनिधिहरू नबस्ने, अन्तरिम पछि नै गोर्खाल्याण्ड ल्याएरै छोड्ने आज उनको सम्बोधनको सार रहेको थियो। दावा शेर्पा, दावा पाखरीन, सुवास घिसिङ, मदन तामाङप्रति पनि गिरी खनिए। जनता नै नभएको नेताको कुरा सुन्नै नहुने बताउँदै उनले अन्तरिमले नै राज्यमा हुने जम्मै अधिकार मागेको जसले राज्य भएपछि कार्यपहलमा सुविधा ल्याउने पनि उनले जनाए। अन्तरिम व्यवस्था राज्यकै तयारी रहेको दाबी गर्दै आदिवासी विकास परिषद्ले पनि अन्तरिम व्यवस्थालाई स्वीकार गरेको बताए।

राजीबप्रताप रूढ़ी, सुषमा स्वराजले मंोर्चाको गोर्खाल्याण्डको निम्ति कार्यपहल गरिरहेका छन्‌, केन्द्रिय भाजपा मोर्चासित छ फेरि दार्जीलिङबाट भाजपाले मोर्चासित सम्बन्ध विच्छेद गर्‍यो, भाजपाले आन्दोलन गर्छ भन्दैछ, त्यो कहॉंको भाजपा हो? कसैले पनि राजनैतिक आकांक्षा लिएर राजनीति नगरोस्‌, मुद्दा बिथोल्ने कार्य नगरोस्‌-गिरीले भने।

चिया, सिन्कोना, अस्थायी कर्मचारीलाई अन्तरिमले समेट्‌नेछःडा. छेत्री

102 बुँदे मागमा कुलैनबारी, चियाबारी, अस्थायी कर्मचारीहरूलाई छोड्यो भनेर विपक्षीले राजनैतिक तर्क राख्दै प्रतिक्रिया गर्दैछ। यसैबाट बुझ्नुपर्छ उनीहरूमा कति ज्ञान छ, कति राजनीति जान्दछ-मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले यसै जनसभामा भने। उनले थपे-चिया र कुलैनको मिनिस्ट्री छैन। हामीले इण्डस्ट्रीको कुरा गरेका छौं, यसैभित्र चिया र कुलैनबारी पनि आउँछ। उद्योग सम्बन्धित हुनुपर्ने सबै दाबी यसै मागभित्र पर्छ। विपक्षीलाई यसको ज्ञान छैन। यसैकारण नपढ़ी, नबुझी उनीहरूले विरोध गर्दैछन्‌। उनले अस्थायी कर्मचारीहरूको कुरा उल्लेख गर्दै भने-दागोपापको 19 वटा विभागमा छरिएर बसेका अस्थायी कर्मचारीहरू अन्तरिमको 102 वटा विभागमा अचार जस्तो पनि हुँदैनन्‌। अस्थायी कर्मचारीहरू जस्ता हजारौंले काम पाउँछन्‌। केन्द्रलाई गोर्खाल्याण्डबारे पूर्ण रूपमा शिक्षित गरेको, केन्द्रिय दलहरूको सहमति सङ्‌ग्रह गरिरहेको 19 वटा मेमोरेण्डम केन्द्रलाई बुझाएर राष्ट्रिय स्तरमा गोर्खाल्याण्डको निम्ति प्रशस्त काम गरेर फर्किंदा आफ्नै ठाउँमा भने स-साना कुरा झिकेर, आफ्नो अज्ञानताको कारण विपक्षीहरूले भने जनतालाई अन्योलमा पार्ने काम मात्र गरिरहेको आरोप लगाउँदै उनले भने-भाजपाको दावा शेर्पा जनता नै नभएको डी.के. प्रधानहरूलाई लिएर कालेबुङमा मिटिङ गर्दैछन्‌, जसले मोर्चाको उच्चस्तरीय कार्य पद्धति नै बुझ्न सक्दैनन्‌। उनीहरूले मुद्दा बिगार्ने षड्यन्त्र गरिरहेछन्‌। अब उनीहरूलाई कसरी लिनुपर्छ गम्भीरतापूर्वक सोंच्नुपर्छ। हामी अन्तरिम भन्छौं उनीहरू अन्तिम बुझ्छन्‌। यस्ताहरूलाई के गर्नुपर्ने जनताले नै विचार्नु पर्छ। उनले वार्तामा भएको कुराकानीको विवरण विभिन्न कथाहरूको उदाहरणसित नै राखे

कसम खाए गुरुङले

गोर्खाल्याण्ड अनि बङ्गालबाट छुट्टिनको निम्ति समय लाग्छ। थुप्रै सेटअपहरू गर्दै अघि बढ्नुपर्छ; त्यसैकारण अन्तरिम व्यवस्थाको कुरा गर्दैछौं। यसमा हाम्रो कुनै स्वार्थ छैन। चौकीको निम्ति हामी आएका होइनौं-भन्दै डुवर्सका साङ्गठानिक प्रतिनिधि सामुएल गुरुङले जनसभामा कसम खाए। उनले भने- म कुनै स्वार्थमा मोर्चामा आएको होइन। केवल गोर्खाल्याण्डको निम्ति आएको हुँ। जसको उदाहरण दिन म कसम खान्छु, जुन दिन अन्तरिम पारित हुन्छ म गोजमुमोबाट राजीनामा दिन्छु। यो 2011 सम्म चल्छ। यसको मियाद सक्ने बित्तिकै म दलमा फेरि आउँछु। त्यस अवधिभित्र म मोर्चा, विमल गुरुङ कोही चिन्दिनँ। अन्तरिमको मियाद सकिएपछि गोर्खाल्याण्ड राज्यको प्रक्रिया अघि बढ्छ। राज्य भएपछि पनि म कुनै चौकीमा बस्दिनँ। उनले मोर्चाका प्रतिनिधिहरू इमान्दार रहेको तर घिसिङले भने दागोपाप थाप्दा गोर्खाल्याण्ड ड्रप गरेको बताउँदै गोरामुमो र गोजमुमोमा प्रशस्तै अन्तर रहेको जनाए। उनले गोर्खालीग नेता मदन तामाङलाई गनगने बुढ़ोको संज्ञा दिँदै मोर्चाले 29 महीनामा पॉंचवटा त्रिपक्षीय वार्ता गरेर गोर्खाल्याण्डको पहल यहॉंसम्म ल्याउँदा पनि गनगन गर्न मदन तामाङले नछोड़ेको तर गनगन गरेजस्तो मुद्दाको निम्ति भने ढलेको सिन्का नभॉंचेको बताए। अन्तरिम भनेको घर नबनिञ्जेल डेरामा बसेको जस्तो रहेको बताउँदै डुवर्स गोर्खाल्याण्डको निम्ति पूर्ण सहमतिमा रहेको पनि उनले जनाए।

मानहानीको मुद्दा लाउँछौं-आशा

सबैको निम्ति मोर्चाले गोर्खाल्याण्ड मागेको भए पनि विपक्षी नेताहरूले कुरै नबुझी आरोपहरू लगाएको कुरा गर्दै आशा गुरुङले भनिन्‌-व्यक्तिगत आक्षेपहरू पनि लगाउँदैछ, साह्रै भयो भने मानहानीको मुद्दा लागाउँछौं। उनले मोर्चाको लक्ष्य गोर्खाल्याण्ड मात्र रहेको जनाउँदै राज्य गठन गरेरै छोड्ने कटिबद्धता प्रकट गरिन्‌।

बङ्गालका गोर्खाल्याण्ड विरोधी माकपा नेताहरूप्रति पनि खनिँदै उनले भनिन्‌- बङ्ग भङ्ग होबेना भनेको ठीकै हो, किनभने हाम्रो प्रस्तावित क्षेत्र बङ्गालको भए पो भङ्ग हुन्छ। विपक्षीहरूलाई भुक्ने कुकुरको संज्ञा दिँदै भुक्नेहरू भुक्दै गर्छ, मोर्चा विथोलिँदैन भनिन्‌। उनले पत्र-पत्रिकामा आउने सबै कुरा सत्य नहुने बताउँदै जनतालाई भनिन-पेपरमा नजानुहोस्‌, सबै सही हुँदैन भ्रममा पार्छ। सबैले मोर्चालाई कदममा कदम दिनुपर्छ। लक्ष्य भेटेरै छोड्छौं। यसै जनसभाबाट उद्घोषक मोतीप्रसाद शर्माले आशा गुरुङलाई कुलबधुश्रीको उपनाम पनि दिए।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें