शनिवार, 27 मार्च 2010

सेटअप होइन यो अर्को धोका हो-दावा शेर्पा


कालेबुङ, 27 मार्चः भाजपा राज्य कमिटीका सचिव दावा शेर्पा भाजपाको कार्यक्रम तयार पार्न आज कालेबुङ आइपुगेका थिए। उनले गोजमुमोले गोर्खाल्याण्ड मुद्दा छोड़ेर अन्तरिमतिर लागेकोले जनतालाई फेरि धोकाबाट बचाउन भाजपा आन्दोलन गर्न अघि आएको आज पत्रकारहरूलाई बताए। सबै दलहरूको सहमति अनि सामुहिक निर्णय अनुसार भाजपाले उप्रान्त आन्दोलन अघि बढ़ाउने जनाउँदै उनले भने-अन्तरिम सेटअप अर्को धोका हो। हामी धोका हुन दिनेछैनौं। भाजपाले आन्दोलन अघि बढ़ाएर लैजान केन्द्रिय समितिलाई भाजपा जिल्ला कमिटीले प्रस्ताव पठाइसकेको जनाउँदै एक प्रश्नको उत्तरमा उनले भने-मोर्चाले क्षेत्रीय स्तरमा काम गर्दैथ्यो। भाजपाले गोर्खाल्याण्डको निम्ति सहयोग गरेको थियो तर मोर्चा गोर्खाल्याण्ड छोड़ेर सेटअपमा लाग्यो। जनता सेटअपको निम्ति होइन गोर्खाल्याण्डको निम्ति आएको हो। तर जनतालाई धोका हुन गइरहेको छ, त्यो हामी गर्न दिनेछैनौं। मोर्चामाथि प्रश्न उठाउँदै उनले 2011 सम्म भनिएको अन्तरिम 2011 पछि के हुन्छ? भन्ने कुरा स्पष्ट नरहेको बताउँदै भने-मोर्चाले भनोस्‌-2012 मा गोर्खाल्याण्ड हुन्छ भनेर कसैले भनेको छ भने खुलासा गरोस्‌, भाजपाले आन्दोलन यहीं थन्काउँछ। नत्र दुइवटै कुरा स्पष्ट छ 2011 देखि कि त दागोपापतिरै फर्किनु पर्‍यो कि त फेरि आन्दोलन गर्नुपर्‍यो।

उनले भाजपाले आन्दोलन गर्ने कुरा दावा शेर्पाको व्यक्तिगत निर्णय नरहेर जिल्ला कमिटीले प्रस्ताव ल्याएर आन्दोलन गर्ने घोषणा गरेको अनि शीघ्र नै कार्यक्रमहरू अघि ल्याउने बताए। उनले मोर्चाप्रति कटाक्ष गर्दै जनताले बजेट र विभागको निम्ति आन्दोलन गरेको हो? भन्ने प्रश्न उठाउँदै भाजपाले केवल गोर्खाल्याण्डको निम्ति सहयोग गरेको तर कुरा सेटअपको आयो यसको निम्ति भाजपाले सहयोग नगर्ने बताउँदै भने-अन्तरिम भनेको हाफपेन्ट लाउने नोकरलाई टाइ लाउने नोकर बनाएको जस्तो हो तर नोकर त नोकरै हो। हामी बङ्गालबाट उन्मुक्तिको कुरा गर्दैछौं। चिह्नारीको कुरा गर्दैछौं। 120-25 वटै विभाग होस्‌ तर बस्नु त बङ्गालमै हो। हामी त्यो मान्दैनौं।

मोर्चाले पहाड़ तराईमा हुँदै नहुने कपास, जुट बन्दरगाहको कुरा गरेको तर सिन्कोना र चियाको भने उल्लेखै नगरेको बताउँदै मोर्चाको रिपोर्टमाथि भाजपाको विश्वास नै नरहेको बताए। खासमा, जनतालाई धोका हुँदैछ। मोर्चा बङ्गालको चङ्गुलमा फँसिसक्यो। बङ्गालले मोर्चाको घॉंटी समातिसकेको छ, अब उम्किने ठाउँ छैन। मोर्चाले जस्तो भाजपाले नोटको गान्धीवाद होइन असल गान्धीवाद देखाउँछ-उनले भने।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें