शनिवार, 6 मार्च 2010

अन्योल होइन अन्धकारमा छन्‌ जनता-आर.बी राई


10 मार्चको दिन रिपोर्ट खुलासा गरिनु पर्ने क्रामाकपाको माग

कालेबुङ,6 मार्चः मोर्चाको कार्यशैली अनि कार्यनीतिले जुन अन्योलता उपार्जन गरेको छ यसैभित्र नै आन्दोलनकारीहरूको भविष्य निर्धारण हुने परिवेश निर्माण गरिएको छ। मोर्चाले शुरूदेखि नै जनान्दोलन भाग दुइलाई अन्तिम लड़ाईं, आत्मनिर्णयको लड़ाईं, सर्वभारतीयस्तरमा गोर्खाहरूको चिन्हारीको स्थापनाको लड़ाईं भनेर भन्ने गरेको भए पनि अहिले राजनैतिक वार्तामा हुने चर्चाको विषयलाई जनतासामु गोप्य राखिएको छ जसले व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। मोर्चाले गोर्खाल्याण्डको निम्ति समाधानको निर्णय हुनसकेन भने गुप्ती रिपोर्टको कुरा गरेर समाधान निकालिने अनि बारम्बार नै त्यो रिपोर्टभित्र राज्यकै क्षमता बराबरको सहुलियत रहेको बताएकोले सबैलाई रहस्यमा राखेको छ। मोर्चाको साथीदल भएर कार्य गर्दै आइरहेको क्रामाकपाले तर यसलाई अन्योलपरक कार्यशैली मात्र नभनेर जनतालाई अन्धकारमा राख्ने नीतिकैरूपमा हेरेको छ। क्रामाकपा प्रमुख आर.बी. राईले यस्तो अन्धकारमा राखिने राजनीतिले प्रशस्त संशय जन्माउने अनि यसलाई मुद्दाको निम्ति पारदर्शी कार्यशैली नमानिने बताउँदै मोर्चा जतिछिटो स्पष्ट हुन्छ उति फाइदाकारी परिवेशको निर्माण हुने नत्र पहाड़को परिवेश बिथोलिने सम्भावना रहेको जनाएका छन्‌। राज्यकै बराबरको छ, यो भयो भने गोर्खाल्याण्डको आवश्यक्ता छैन भनेर त भनिँदैछ तर रिपोर्टमा के छ जनतालाई बताउँदैनन्‌। मोेर्चा किन भयाक्रान्त छ, बुझिएन। राम्रै छ भने पनि नराम्रो नै छ भनेपनि मोर्चाले यसलाई शीघ्र नै खुलासा गर्नु नै मोर्चाको मुद्दा केन्द्रित व्यवहार बुझिनेछ। राज्यको बराबार छ भनेर मात्र हुँदैन, त्यो कस्तो खाले व्यवस्था हो, त्यसको संवैधानिकस्वरूप कस्तो छ त्यो जान्नु प्रमुख कुरा हो। जनतालाई अन्योलतामा मात्र होइन अन्धकारमा राख्ने कुरालाई जनताले त उचित मान्दैन। जनतामा जति स्पष्ट हुनसक्यो उती नै जनशक्ति प्राप्त हुने कुरा हो। गोजमुमो नेता विमल गुरूङले मार्च 10 को दिन राज्य गठन गर्ने जुन कटिबद्धता देखाएको थियो यो पूरा हुन नसकेपनि मोर्चा अध्यक्षले यसै तारिक गुप्ती रिपोर्टको खुलासा गरे मोर्चाको पारदर्शी कार्यनीति हुनजाने अड़ान राख्दै क्रामाकपाले यसै दिन रिपोर्ट खुलासा गर्नु पर्ने माग राखिएको बताउँदै राईले भने-सबै गोप्य छ। 18 मार्चको दिन जे पनि हो प्रकटमा आइहाल्ने छ। जे हो सत्य बाहिर आउने नै हो। जस्तै सम्झौता होस्‌, सम्झौता पत्र बाहिर आउने नै हो। तर त्यतिबेला यदि रिपोर्टले नकरात्मक परिवेश उपार्जन गर्‍यो भने के हुन्छ? राम्रो छ भने, क्रामाकपाले भनेको जस्तो छ भने हाम्रो त समर्थन हुन्छ नै तर छैन भने पनि बिरोध त हुन्छ नै। ढिलो, छिटो मात्र हो। यसैले मोर्चा अध्यक्ष विमल गुरूङले 10 मार्चको दिन नै यस रिपोर्टको खुलासा गर्नु पर्ने हामीले भनेका छौं। यसो भए त्यसलाई लिएर आलोचना गर्न प्रशस्त समय पाइने छ। तीन दिनको समय त पर्याप्त भएन। फेरि किन यति समय र त्यति समयको कुरा अघि आइरहेको छ? रिपोर्ट नितान्तै आलोच्य कुरा रहेको छ। उनले मोर्चाले नै सबैलाई गम्भीर हुनुपर्ने परिवेशको उपार्जन गरिरहेको पनि उनले जनाए। उनले घिसिङले पनि दागोपापको निम्ति गरिएको हस्तक्षर फिर्ता गरेर बोले मात्र उनको बोलीलाई गम्भीरता दिइने भएको बताउँदै भने, घिसिङकालीन राजैतिक कार्यशैली सबैलाई थाहा रहेको अनि यदि उनी अहिले आएर बोल्छन्‌ नै भने हस्ताक्षर फिर्ता गरेर बोले मात्र त्यसलाई राजनैतिक अनि मुद्दा केन्द्रित बयान मानिने पनि उनले जनाए।

मैले त्यसो भनेको होइन-डा. छेत्री

ॅकालेबुङ,6 मार्चः मोर्चाले पठाएको गुप्ती रिपोर्ट केन्द्रले मान्यो भने गोर्खाल्याण्डको आवश्यकता पर्ने छैन भन्ने वक्तव्य आफूले नभनेको कुरा आज गोजमुमो प्रवक्ता डा. हर्कबहादुर छेत्रीले एक टेलिफोनिक वार्तामा बताए। उक्त कुरा आफूले नभनेको तर पत्रिकाहरूको बदमाशी रहेको उनले बताए। आफूले जुन अन्तरिम सेटअपको कुरा छ त्यसको क्षमता झन्नै राज्यकै बराबरको रहेको बताएको तर सेटअप भयो भने गोर्खाल्याण्डको आवश्यकता पर्दैन भन्ने बयान भने नदिएको बताउँदै उनले पत्रकार अनि पत्रिकाहरूले गोर्खाल्याण्ड आन्दोलन बिगार्न एजेण्डा नै लिएर काम गरिरहेको आरोप समेत लगाए। पत्रकारहरूले वास्तविकता, सॉंचो तथ्य बुझेर नै समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै उनले आफूले बोलेको कुरालाई तोड़मोड़ गरेर मार्चालाई जनताको केन्द्रिय आकांक्षाबाट नै बाहिर पुर्‍याउने कार्य पत्र-पत्रिकाहरूले गरेको बताए। उनले भने-घिसिङ, जसलाई आन्दोलनको प्रतिनिधि नै मानिँदैन, जोसित मुद्दा पनि छैन अनि जनता पनि छैन उनलाई बढ़ी प्राथमिकता दिएर आन्दोलनलाई बाधा पुर्‍याउने कोशिश बारम्बार गरिरहनु अनि मोर्चाद्वारा गरिएका टिप्पणीहरूलाई गलत रूपमा प्रस्तुत गरिनुबाट पत्रिकाहरूले नै मुद्दालाई हानी पुर्‍याउने एजेण्डा नै लिएर कार्य गरिरहेको देखिन्छ। छेत्रीले मुख्यगरी सिलगढ़ीबाट प्रकाशित हुने एक रङ्गीन नेपाली दैनिक पत्रिकाको नाम नै उल्लेख गर्दै आजसम्म त्यस पत्रिकाले तीनचोटि मोर्चालाई गलत रूपमा प्रस्तुत गर्ने कोशिश गरेको आरोपसमेत लगाए। तीनधारेमा भएको मोर्चाको जनसभाबाट गोजमुमो अध्यक्ष विमल गुरुङले मुद्दालाई बिथोल्ने अनि दबाउने किसिमको समाचारहरू सम्प्रेषण गर्ने त्यस पत्रिका पढ्न पनि नहुने बताएको पनि छेत्रीले जनाए। उनले मोर्चालाई यस किसिमले प्रस्तुत गर्नमा पत्रिकाले जुनै पनि गोर्खा विरोधी दलहरूबाट पैसा खाएको हुनसक्ने आरोप लगाउँदै काङ्‌ग्रेसको नाम समेत उच्चारण गरे। पहाड़का पत्रकारहरूको यसमा दोष नरहे पनि डेस्कमा बसेर काम गर्नेहरूले नै बदमाशी गरिरहेको उनले जनाए। कतिपय पत्रिकाहरूले जनभावनासित खेल्दै केवल व्यापार मात्र हेर्ने गरेको बताउँदै यस्ता पत्रिकाहरूको उद्देश्य बुझेर नै पाठकहरूले पढ्नपर्ने उनले जनाए। अर्कोतिर खर्साङका पत्रकारहरूसित बुझ्न चहॉंदा डा.छेत्रीले भनेको कुरा नै सबै पत्रिकाले प्रकाशित गरेको जनाए।



अटोनोमस काउन्सिलबाट नै राज्य हुन्छःमाकपा

कालेबुङ,6 मार्चः अहिले मोर्चा गोर्खाल्याण्ड होइन मोर्चाले पठाएको गुप्ती रिपोर्टमा नै केन्द्रित रहेको देखिएको जसलाई माकपाको कार्यपहलकै प्रतिफल भनी माकपा प्रतिनिधि तारा सुन्दारले जनाएका छन्‌। उनले भने-सङ्घीय प्रणालीभित्र जुन कुरा उठाइँदैछ अथवा छुट्टै राज्यको जुन माग गरिँदैछ त्यो अहिले नै सम्भव छैन। उसै पनि केन्द्रले नौटङ्‌कीपूर्ण राजनैतिक व्यवहार देखाइरहेको छ। आफ्नो स्वार्थ पूर्ति हुने कुरामा मात्र केन्द्र सरकारले केन्द्रिय दृष्टिकोण राख्छ। केन्द्र सरकार नौटङ्‌की मात्र हो जसको उदाहरण तेलेङ्गानाको मुद्दा हो। शुरूमा हुन्छ भनेर अहिले टङ्‌ग्याएर लानु केन्द्र सरकारको नौटङ्‌की राजनैतिक व्यवहार हो। यसैलाई बुझेर हामीले दागोपापलाई क्षमताशील बनाउने पहाड़का जनताको आकांक्षापूर्ति हुने, आवश्यकता पूर्ति हुने विकास कार्यहरू माग गर्दै संवैधानिक सुरक्षाभित्र गोर्खाहरूलाई हाल्नु पर्ने माग गर्दै आइरहेको हो। राजनीति राष्ट्रिय परिप्रेक्ष्यलाई हेरेर गरिनुपर्ने तर यहॉं पहाड़मा अर्को दललाई दोष्याएर आफूमात्र साकिलो हुने प्रवृत्तिको विकास भइरहेको बताउँदै उनले भने-मोर्चाले माकपालाई मात्र दोष दिनु हुँदैन। माकपाले जहिले पनि गोर्खाको हितमा कार्य गरिरहेको छ। अर्कोदललाई खराब देखाउनु गणतन्त्र होइन। उनले मेघालय, मणिपूर, अरूणाचलको उदाहरण दिँदै राज्य हुन्छ भने पहिले अटोनोमस काउन्सिल भएर नै पछि त्यसको विकास हुँदै गएर नै राज्य हुने बताउँदै उनले भने-पहाड़का जनता प्रशस्त आवश्यकतामा छन्‌। यसकारण पहाड़मा प्रचुर मात्रामा विकास कार्य हुनु जरूरी छ। अहिले जे कुरामा पहाड़को समस्या समाधान गरिने कुराहरू अघि आइरहेको छ यसको माग माकपाले पच्चीस वर्षदेखि नै गर्दै आइरहेको हो। गोर्खाल्याण्ड भन्ने आजभोलि नै हुँदैन। तर हुन्छ नै। ढिलो छिटोको कुरा राष्ट्रिय परिवेशमा निर्भर हुन्छ। समय लाग्छ, स्तर दरस्तरमा चढ्दै जानुपर्छ। अहिले जे हुन्छ त्यसैलाई चलाउँदै जाऔं, समयले के भन्छ त्यसलाई हेर्नुपर्छ। माकपाले पहाड़को विकास हुनुपर्छ भनेर जुन कुरा गरिरहेको थियो अहिले हुनगइरहेको समाधानको कुरा त्यसैको प्रतिफल हो।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें