शनिवार, 27 फ़रवरी 2010

गुप्ती रिपोर्टको खुलासा गर भन्ने दलहरूलाई गुरूङको पुरानै जवाब

वार्ताको अघिल्लो दिन रिपोर्ट हात-हातमा थमाइदिन्छौं-गुरूङ

कालेबुङ,27 फरवरीः पहाड़का अन्य दलहरू अनि जनताले मोर्चाको गुप्ती रिपोर्ट वार्ताको अघिल्लो दिनमात्र हेर्न पाउने भएको छ। आज गोजमुमो अध्यक्ष विमल गुरूङले यसै कुरालाई अघि राख्दै वार्तामा जानअघि मात्र गुप्ती रिपोर्टको खुलासा गर्ने पक्कापक्की कुरा गरे। जब गोर्खालीग अध्यक्ष मदन तामाङले मोर्चालाई गतिलै आरोप लगाउँदै शीघ्र नै मोर्चाले दागोपापलाई नै क्षमतावृद्धि गराएको अर्को व्यवस्था गोर्खाल्याण्डको साटो भित्राउन लागेको कुरा बताएपछि मात्र अघिबाट नै केन्द्रलाई पठाइसकेको गुप्ती रिपोर्टबारे मोर्चाले खुलासा गरेको थियो। जोन बनाउन 28 न.समष्टी पुगेका विमल गुरूङले झन्नै मदन तामाङलाई नै जवाब दिँदै दागोपाप भङ्ग गरेपछि बहाली गर्ने व्यवस्थाबारे केन्द्रलाई आफै नै गुप्ती रिपोर्ट पठाएको अनि नाम मात्र परिवर्तन गरेको बताएका थिए। तर नाम दागोपापको हो कि गोर्खाल्याण्डको परिवर्तन गरेको हो त्यसबारे कुनै स्पष्ट कुरा अघि आएको छैन। गुरूङले त्यो गुप्ती रिपोर्टमा डुवर्स अनि सिलगढ़ीलाई पनि फाइदा रहेको बताएका थिए। किन भने दागोपाप केवल पहाड़को निम्ति मात्र थियो। यसकारण दागोपापको साटो बहाली गरिने मोर्चाको गुप्ती रिपोर्टमा कैद व्यवस्थाले डुवर्स र सिलगढ़ी तथा तराईलाई पनि फाइदा दिने भनिएको हो कि भन्ने लख सबैले काटेका छन्‌। अहिलेसम्म गुप्ती रिपोर्टमाथि सबैले विभिन्न अनुमानहरू मात्र लगाएका छन्‌ किन भने मोर्चाले नै गुप्ती रिपोर्टबारे खुलस्त नगरेको कारण लख काट्‌ने वातावरण जन्मिएको छ। गुप्ती रिपोर्टको कारण नै आलोचकदल वा विपक्षी दलहरूले मोर्चालाई विभिन्न आरोपहरू लगाइरहेको छ। आरोपहरूमा स्पष्ट रहेको कुरा भने मोर्चा पारदर्शी नरहेको कुरा नै अघि आएको छ। आलोचकहरूले जनताको मुद्दामा गुप्ती भन्ने कुरा नआउने, केन्द्रलाई पठाएको कुरा राज्यलाई नबताई बहाली गरिन नसकिने भएपछि मोर्चाले भनेको गुप्ती केवल जनता अनि पहाड़का अन्य दलहरूको निम्ति मात्र रहेको कारण मोर्चालाई शीघ्र नै पारदर्शी बन्नको निम्ति वार्ता अघि जनतालाई गुप्ती रिपोर्टमाथि बहस गर्न, आलोचना गर्न, राम्रो नराम्रो कुरा छुट्याउन धेरै समय दिइएको हुनुपर्ने कुरा अहिले चलिरहेको छ। आलोचकहरूको भनाई छ-वार्तामा जान अघि गुप्ती रिपोर्ट जनबहसमा आएको हुनु पर्छ। जनसहमति पाएपछि मात्र गुप्ती रिपोर्टमा उल्लेख गरिएको अदृश्य व्यवस्थालाई बहाली गरिनेबारे निर्णय गरिनु पर्छ। तर आज मोर्चा अध्यक्ष विमल गुरूङले अहिलेसम्म गुप्ती रिपोर्टमाथि भइरहेका सम्पूर्ण टिप्पणीहरूको जवाबमा पुरानै अड़ान दोहोर्‍याए। उनले वार्ताको तारिक पक्का भइसकेपछि अनि मोर्चा डेलिगेशनमा जान अघि मात्र गुप्ती रिपोर्टको खुलासा गरिने बताउँदै भने-डेलिगेशनमा जान अघि जनता अनि पहाड़का दलहरूको हात-हातमा गुप्ती रिपोर्ट थमाएर दिल्ली गएको हुनेछौं। मोर्चाले गुप्ती रिपोर्टको कुरा गर्ने वित्तिकै हाहाकार मच्चियो। गुप्ती रिपोर्टबारे छिट्टो बताउ भनिरहेको छ। हामीले भनिदिएका छौं, दिल्ली जानअघि हामी सबैको हात-हातमा दिएर जानेछौं। त्यसपछि हेरोस्‌ यो मूर्ख विमल गुरूङले कस्तो रिपोर्ट बनाएको रहेछ। अल पार्टीलाई पनि दिन्छौं, हेरोस्‌ विमलको बुद्धिलाई। गुप्तीमा सबैलाई फाइदा छ। त्यहॉं छलकपट छैन। मोेर्चा छलकपट गर्ने पार्टी होइन। हो, नाम मात्र परिवर्तन गरेका छौं। हाम्रो रिपोर्टले केन्द्रलाई साह्रो पारेको छ। टाइम दिएर पनि केन्द्रले वार्ता गर्न सकेको छैन। हामी इन्तजारमा छौं। हामीले इन्तजार गर्दा तर राजनैतिक विभेद् ल्याउने जन अन्योलता ल्याउने कार्य हुँदैछ। आज पनि उनले गुप्ती रिपोर्टले सबैलाई फाइदा गर्ने कुरा नै बारम्बार दोहोर्‍याए। दागोपापलाई गोर्खाल्याण्डको कुरा अघि बढ़ाउन मार्ग प्रशस्त गर्न मात्र भङ्ग गरिनु पर्ने कुरा राजनैतिक विश्लेषकहरूको छ। तर अहिले दागोपाप भङ्ग भएपछि एउटा गतिलै क्षमता भएको व्यवस्था नै बहाली हुने तर्खरमा मोर्चा अनि सरकार रहेको देखिएको छ। यसै पनि मोर्चाले गुप्ती रिपोर्टको कुरा अघि आएपछि निक्कै विवादस्पद् टिप्पणीहरू दिइसकेको छ। मोर्चाले गुप्ती रिपोर्ट भन्नेकुरा राज्यको क्षमताको बराबरको रहेको अनि विधानसभा चुनाउसम्मको निम्ति मात्र रहेको बताइसकेको छ। यसै कुरामा पनि आलोचकहरूले विभिन्न टिप्पणीहरू गरेका छन्‌ जसमा एक वर्षको निम्ति हुने व्यवस्था राज्य बराबर झमताको किन? विधानसभा पछि भने गोर्खाल्याण्ड हुन्छ भन्ने पक्कापक्की छ त भन्ने प्रमुख रहेको छ जसको चित्तबुझ्दो जवाब मोर्चाले दिएको प्रेस बयान अघि आएको छैन। वास्तवमा मोर्चाले रिपोर्टलाई राज्य र केन्द्रमा उदाङ्गो बनिसकेपछि पनि गुप्ती नै राखेको कारण मोर्चालाई विभिन्न शङ्‌काको दृष्टिले हेरेको देखिएको छ। कतिले त मोर्चाले वार्ताको एकदिनअघि मात्र खुलासा गर्ने कुरामा पनि शङ्‌का गरेको देखिएको छ। उनीहरूको शङ्‌का के मा हो भने मुद्दा जनताको निम्ति हो भने आफ्नो निम्ति हुने कुरा जान्ने समय केवल एकदिन मात्र हो? भन्ने हो। मोर्चालाई वार्ताको एकदिन अघि मात्र रिपोर्टको खुलासा गर्नु पर्ने के बाध्यता छ? भन्ने हो। एकदिन मात्र समय दिएर त्यसलाई बुझ्न नै नपाई मोर्चाले वार्तामा रिपोर्टमा उल्लेख गरिएको व्यवस्था छिराउने त होइन? भन्ने हो। त्यसै कारण नै मोर्चालाई विभिन्न पक्षबाट रिपोर्टबारे शीघ्र खुलासा गर्नु पर्ने चाप दिएको देखिएको छ। तर जति नै चाप दिएपनि मोर्चा भने अड़िग देखिएको छ। आजको जनसभाले मोर्चा यस कुरामा पक्कापक्की अड़िग रहेको अनि वार्ताको अघिल्लो दिनमात्र रिपोर्टबारे खुलासा गर्ने पक्षमा रहेको स्पष्ट भएको छ। गुप्ती रिपोर्टमाथि विभिन्न शङ्‌काहरू अघि आएको छ। जसमा मोर्चाले वन, पर्यटन, कृषि,चिया, कलैनबगान अनि अरू पनि आफै सञ्चालन गर्ने अधिकार मागेको अनि केन्द्रले सोझै वित्तिय अनुमोदन गर्नु पर्ने जसमा राज्यको हस्तक्षेप हुननहुने जस्ता कुराहरू रिपोर्टमा हुनसक्ने कुराहरू भने व्यापकरूपमा चर्चा भइरहेको छ। तर यी कुराहरू केवल शङ्‌का मात्र रहेको कारण अनि मोर्चाले अहिले मुख नखोल्ने अड़ान लिएको कारण कुनै कुरालाई पनि विश्वास गरिहाल्न नसक्ने परिवेश उपार्जन भएको छ।
जोनल कमिटीले पहिले पक्राउ दिने
सामूहिक पक्राउःअरूदलको निम्ति परीक्षा
कालेबुङ,27 फरवरीः भोलिदेखि शुरू हुने सामुहिक पक्राउ दिने कार्यक्रमलाई गोजमुमोले पहाड़का अन्य दलहरूको परीक्षाको रूपमा पनि लिएको मोर्चाले गर्ने टिप्पणीहरूले स्पष्ट पारेको छ। आजको एक जनसभाबाट पनि मोर्चा अध्यक्ष विमल गुरूङले यसै कुरालाई अघि राख्दै सामूहिक नेतृत्वको कुरा गर्ने दलहरूमाथि इङ्गित गर्दै भने- भोलिदेखि मोर्चाले सामुहिक पक्राउ दिनेछ। हामी हेर्छौं सामूहिक नेतृत्वको कुरा गर्नेहरूले आफ्नो कार्यकर्ताहरूलाई पनि पक्राउ गराउँछ कि गराउँदैन। पेपरमा बोल्ने अनि सामूहिक नेतृत्वको कुरा गर्नेहरूलाई सामूहिक पक्राउ गर्ने कार्यक्रममा वेलकम छ। मोर्चाको राजनैतिक कार्यक्रम रहेको कारण अन्य दलहरूले यस कार्यक्रममा अंशग्रहण गर्ने सम्भावना भने कमै देखिन्छ। मोर्चाले यस अघिको कुनै पनि कार्यक्रममा खुलेर आफ्नो कार्यक्रममा अरू दलको सहभागिता हेर्ने कुरा नगरेपनि यसचोटीको कार्यक्रममा भने जनसभाहरूबाट बारम्बार अरू दललाई पनि परख गर्ने कुरा दोहोर्‍याइरहेको छ। मोर्चालाई नै कार्यक्रम गर्न दिँदै आफ्नो दलको कार्यक्रम नगर्ने दलहरूलाई भने विमल गुरूङको यसप्रकारको टिप्पणी निक्कै गम्भीर हुने देखिएको छ। आज गुरूङले पहाड़का दलहरूको नाड़ी छामीसकेको अनि शुरूमा सबैलाई लिएर कार्यक्रम गरेपनि वास्तविकतादेखि वाहिरको कुरा गरेर जनतामा अन्योलता सृजना गरेको कारण अलपार्टीको च्याप्टर नै क्लोज गरेको कुरा गरे। उनले भने-कलेक्टिभ लिडरशीपको कुरा गर्नेहरूलाई हामीले हेर्‍यौं। नाराजुलूसमा लिप्त गरायौं। तर कहिले पनि 40 वर्ष राजनीति गर्नेहरूले राम्रो नजरले हेरेन। मैले भनें सही कुरा गर, राम्रो काम गर,तर जहिले पनि नराम्रै मात्र भन्छ। हाम्रो नेतृत्वमा काम गर्नु पर्छ भन्ने भावना राख्नु हुँदैन। कसैले पनि उन्मुक्ति पाएको थिएन। विमल गुरूङले जनतालाई मात्र होइन पार्टीहरूलाई पनि उन्मुक्त गरेको हो। स्वतन्त्र गरेको हो। तर वेशी स्वतन्त्र भएछ। जहिले पनि नराम्रै मात्र भन्छ। हामी कसैलाई पनि टिप्पणी गर्दैनौं। 2010 मेरो भिजन थियो तर हुन सकेन। गोर्खाल्याण्ड मेरो भिजन हो। विकास गर्ने पनि मेरो भिजन हो। घिसिङलाई दसपैसाको निम्ति पनि सोध्नु पर्थ्यो तर मलाई करोडौं रूपियॉंको निम्ति पनि सोध्नु पर्दैन। विकाससित नै आन्दोलन गर्नु पर्छ। भित्ता भत्किएको छ, बनाउनु पर्छ। बाटो छैन, बनाउनु पर्छ। गोर्खाल्याण्ड हुन्छ भनेको छु हुन्छ नै। उनले आजदेखि सामूहिक पक्राउ दिने कुरा गर्दै मोर्चाको सबै फ्रण्टल अर्गनाइजेशनले यस कार्यक्रममा भाग लिने बताए पनि केन्द्रीय कमिटीको भने नाम लिएनन्‌। उनले सबै भन्दा अघि जोनल कमिटीले जेल भर्ने पनि बताए।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें