रविवार, 7 फ़रवरी 2010

7 फरवरीः

तराई र डुवर्सको हितमा रहेको गुप्ती रिपोर्टमा
हामीले धेरै क्षमता माागेका छौं-विमल

कालेबुङ, 7 फरवरीः सबैले प्रतीक्षा गरेको गोजमुमोको जनसभा आज डेलोमा सम्पन्न भयो। सबैले यस जनसभाबाट मोर्चाको भावी रणनीति कस्तो हुने हो त्यो खुलासा हुने अपेक्षा गरेको भए पनि त्यस्तो केही भएन। नयॉं कार्यक्रमको रुपमा 9 फरवरीदेखि सबै क्षेत्रमा युवा मोर्चाले सात सदस्यीय 48 घण्टे क्रमिक अनशन गर्ने अनि प्रत्येक हप्ताको शनिबार अनि आइतबार 4 बजीदेखि 7 बजीसम्म नारी मोर्चाले मोमबत्ती जुलूस गर्ने मोर्चा अध्यक्ष विमल गुरूङले घोषणा गरेका छन्‌। उनले अन्य अर्गनाइजेशनद्वारा भइरहेको क्रमिक अनशन विद्यार्थी मोर्चा बाहेक आजदेखि उठाइएको पनि बताए भने दलभित्र नै बसेर दलविरोधी कार्य गर्ने मोर्चा प्रतिनिधिहरू जसलाई मोर्चाले नोटिश जारी गरेको थियो उनीहरूलाई 10 फरवरीको दिन एकै ठॉंउ भेला पारेर चित्त माझामाझ गर्ने अनि पुनः मैत्रिक सम्बन्धलाई प्रगाड़ता दिने बताए। आजको जनसभाबाट पनि गोजमुमो अध्यक्ष विमल गुरूङले गुप्ती रिपोर्टबारे स्पष्ट कुरा राखेनन्‌। उनले भने-गुप्ती रिपोर्टबारे पॉंचौं राजनैतिक वार्ताको अघिल्लो दिन खुलासा गर्नेछौं। किन भने हामीले के, कस्तो सेटअप गरेर केन्द्रलाई पठाएका छौं त्यो बङ्गाललाई बताउन चहान्नौं। हामी मुद्दाको निम्ति गरिनुपर्ने जुनै पनि कुरा केन्द्रसित गर्छौं। यसकारण गुप्ती रिपोर्ट बङ्गाललाई बइकट गरेर पठाएका हौं। बङ्गालसित कुरा हुन्छ भने पहाड़को चिया, सिन्कोना, खोला नाला, वनजङ्गलको समस्यालाई लिएर हुन्छ। तर जब मुद्दाको कुरा आउँछ बङ्गालसित होइन दिल्लीसित कुरा हुन्छ। बङ्गालले थाहा नपाउन्‌ भनेर नै वार्ताको अघिल्लो दिन मात्र जनतासामु गुप्ती रिपोर्टबारे खुलासा गर्ने बताउँदै उनले भने-जनताको हातहातमा गुप्ती रिपोर्ट थमाइदिनेछौं। मोर्चालाई गोर्खाल्याण्ड बेच्यो भन्नेहरूले पनि पढ़्‌नु अनि कहॉं भूल रहेछ देखाउनु। उनले गोजमुमोले कहिले पनि भूल नगर्ने बताउँदै भने-सबैले गोर्खाल्याण्डको निम्ति दागोपाप भङ्ग हुनुपर्छ मात्र भन्छन्‌ अनि त्यसको साटोमा एउटा अन्तरिम व्यवस्था हुनुपर्छ भन्छन्‌ तर दागोपाप पहाड़को कुरा हो कसैले पनि तराई र डुवर्सलाई सोंच्दैनन्‌। हामीले गुप्ती रिपोर्ट तराई अनि डुवर्सको हितको निम्ति नै पठाएका हौं। हाम्रो सेटअपमा एउटै कुरा पनि काटेको हुनुहुुँदैन। गोर्खाल्याण्डको निम्ति सीमाना पनि मूल कुरा हुने बोल्दै उनले यसैको निम्ति गुप्ती रिपोर्टमा डुवर्स र तराईको अंशग्रहणलाई ध्यान दिइएको आशयमा प्रकट गरे। अहिलेसम्म पॉंचौं राजनैतिक वार्ता कहिले हुने अनि कहॉं हुने भन्नेबारे केन्द्र अनि राज्यले आधिकारिक घोषणा नगरेको भए पनि आज विमल गुरूङले वार्ता 9-10 फरवरीभित्र हुनसक्ने अनि वार्ता दिल्लीमा हुनसक्ने सङ्‌केत दिए। उनले भने- 9-10 तारिक वार्ताको डेट कन्फर्म हुन्छ अनि कन्फर्म भएपछि नै वार्तामा को को बस्ने हो भन्ने कुरा तय हुन्छ। उनले केन्द्रले यस वार्तालाई खेलाइँची गर्न नहुने बताउँदै उनले भने- वार्तामा राज्यको मुख्यमन्त्री अनि केन्द्रको गृहमन्त्री बस्नु पर्छ। उनीहरूभन्दा मुनिका प्रतिनिधिहरू वार्तामा बसायो भने वार्ता नै खारेज गरिदिन्छौं। उनले आफू अनि मोर्चालाई दागोपाप चलाउन थुप्रै अफर गरेको भए पनि आफूले दुत्कारेको बताउँदै भने- उनीहरूले गरेको अफर हामीले मानेनौं यसकारण हामीले नै नयॉं सेटअप गरेर केन्द्रलाई गुप्ती रिपोर्ट पठाएका हौं। उनले गुप्ती रिपोर्टमा वास्तवमा के के छ भन्नेबारे कुनै खुलासा नगरे पनि गुप्ती रिपोर्टले डुवर्स अनि तराईलाई समेट्‌ने कुरा बारम्बार दोहोर्‍याए। उनले अझ भने-गुप्ती रिपोर्टमा हामीले थुप्रै अधिकार मागेका छौं। टाइम अनि सीमा दिएर गुप्ती रिपोर्ट पठाएका छौं। हामीले भनेको कतिपय अधिकार दिएनौ भने हामी आफ्नो ठॉंउमा आफ्नै अधिकार जमाउने छौं। वार्ता सफल हुनुपर्छ। सफल भएन भने जिल्ला, महकुमा शासक, डीएसपी तथा सरकारी नोकरशाहहरू एवं अधिकारीहरू पहाड़मा नबस्नु। गुरूङले आफूहरू शासणप्रणाली चलाउन योग्य रहेको बताउँदै राज्यले पहाड़मा जति नै पैसा फ्यॉंके पनि त्यसको उचित सदुपयोेग गरेर देखाउने बताए। उनले भने-विकास केही होइन। बङ्गालकोे पैसा फ्यॉंकेर मुद्दा अनि आन्दोलन छिन्नबिन्न बनाउने षड़यन्त्र विफल भइसकेको छ। हामी शासणप्रणाली चलाउन तयार छौं। उनले राज्य अनि केन्द्रले अहिले आफूहरूको क्षमता हेरिरहेको बताउँदै शासनप्रणाली चलाउने दक्षता मोर्चामा रहेको बताए। उनले यसै सम्बन्धमा बोल्दै भने-हामीले कुन कुन विभागमा कति खर्च लाग्छ त्यो सोंच्दैछौं। कति ट्याक्स उठ्‌छ अध्ययन गरिसकेका छौं। हामीले भनेको कुरा दिँदैनौ भने जबरजस्ती गर्छौं। जबरजस्ती गर्न अघि आइसकेका छौं। उनले बङ्गालले अत्यचार गरिरहेकोले नै आफूहरूले बेग्लै सेटअपको कुरा गरेको बताउँदै बङ्गाल सरकारले डुवर्समा माओवादीहरू छिराएको आरोप लगाए। डुवर्सका साङ्गठानिक प्रतिनिधि सामुएल गुरूङलाई पक्राउ गरेको कुरा झिक्दै उनले भने, आन्दोलनमा यस्तो हुन्छ। कोही नसुर्ताउनु। बङ्गालले बुझ्नु एकैरातमा जे पनि हुनसक्छ। हाम्रो क्षेत्र चिकन नेक हो। आवेशमा जनता अघि आउँछ। सरकार र प्रशासनले बुझ्नु। टामटाले पनि बुझ्नु। पहाड़ आउन बन्द होला। गृहमन्त्रालयले पनि बुझ्नु। टामटाले पक्रिन्छु भन्छ, पक्रिएर हेर्नु। बङ्गालले माओ छिराउँदैछ। 2011को चुनाउलाई हेरेर डुवर्समा अशान्ति गर्दैछ। वार्ता राम्रो हुनुपर्छ। भोटको निम्ति राजनीति गर्नु हुँदैन। हामीले जीएलपी त्यसै बनाएका होइनौं। बुद्दिजीविहरू त्यसै मोर्चामा आएका होइनन्‌। उनले वार्तापछि नै मोर्चाले कार्यक्रमहरू बनाउने बताउँदै भने- वार्ताको दिन मोर्चाको सबै सङ्गठनका दुइदुइ प्रतिनिधिहरूले दिल्लीमा धर्ना, घेराउ गर्नेेछन्‌। सबै ढुक्कले बस्नु। अब शाशन चलाउने क्षमता देखाउनुपर्छ। पहाड़मा जत्ति नै पैसा बगाउ थाप्दैनौं। तर पहाड़को विकासको जुनै पनि काम गर्न लगाउँछौं। खेतको आली, भित्ता, बाटो, पानी, जेसुकै होस्‌। विकासको काम गर भन्छौं। गरेन भने डीएम पनि गेटआउट, प्रशासक बीएल मीना पनि गेटआउट। तर जनताले पैसा पाएर मुद्दा नविर्सनु। राम्रो सेटअपको निम्ति नै म सबै ठाउँ घुम्दैछु। क्रिम लिडरहरू छान्दैछु। कालेबुङ महकुमा समिति पनि राम्रो बनाउँछौं। धमिरा लागेको बटम फेर्छौं। गुरूङले आफ्नो सम्बोधनद्वारा सुवास घिसिङ र दावा पाखरिनको नाम लिदैं उनीहरूलाई पहाड़ ल्याउनु परे गोर्खाल्याण्ड पाएपछि नाम परिवर्तन गरेर आफैले ल्याउने कुरा पनि दोहोर्‍याए। मदन तामाङको नाम लिँदै 40 वर्ष राजनीति गर्नेबाट यतिञ्जेल त केही नभएको अनि अब अरू आशा कसैले नगर्ने अनि उनलाई बङ्गालको एजेन्ट मात्र रहेको बताए। पोष्टर टॉंस्नेहरूले पनि खुलेर पोष्टर टॉंस्ने अनि त्यतिबेला आफ्नो ढॉंड़ याद राख्नु पर्ने धम्की दिए। अर्कोतिर सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई पनि उनले छोड़ेनन्‌। बङ्गाल सरकारले मोर्चाको आन्दोलन बिगार्न थुप्रैलाई अघि लगाएको आरोप लगाउँदै उनले सिक्किमका मुख्यमन्त्री चामलिङ पनि बङ्गालको एजेन्ट नै रहेको जनाए। उनले भने-बङ्गालले हामीलाई चारैतिरबाट छेक्न खोज्दैछ। सिक्किमलाई पनि लगायो। पवन चामलिङले हाइवेमा मुद्दा लगाउनु आन्दोलन बिथोल्नु हो। बङ्गालले सिक्किम र दार्जीलिङको सम्बन्ध बिगार्दैछ। पवन चामलिङ पनि दोषी छन्‌। यत्रो राम्रो सम्बन्ध विगार्नु सिक्किमबासीको हीतको कार्य होइन। उनी कति दिन मुख्य मन्त्री हुन्छ, हामी हेर्छौं तर सम्बन्ध एकपल्ट बिग्रिए सधैँको निम्ति हुन्छ। हामी सुप्रिमकोर्टको भर्डिक मान्छौं तर हाइवेमा कार्यक्रम बन्द गर्दैनौं। केही भए चामलिङले जिम्मा लिनुपर्छ। हामीले सिक्किमलाई दुःख दिएको होइन। हाइवे हाम्रो जमीनमा भएकोले केही असुविधा भयो होला तर यसको निम्ति चामलिङले हामीसित टेवलमा कुरा गरेको भए हुन्थ्यो। हामीले सिक्किमको बजेटमा हस्तक्षेप गरेका छैनौं। सिक्किमको धन लुटेका छैनौं। गोर्खाल्याण्डको आन्दोलन संविधानको आधारमा गरेका छौं। सुप्रिमकोर्टले भर्डिक त दियो तर जनताको सुरक्षा दिन्छ के त?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें