रविवार, 31 जनवरी 2010

कालेबुङ, 30 जनवरीः

अन्तरक्रियामा गोर्खाल्याण्डउठ्यो दलहरूमा पारदर्शिताको प्रश्न

ढॉंटे मदनले

कालेबुङ, 30 जनवरीः पहाड़का दलहरूमा रहेका द्वन्द्वलाई सधैँको निम्ति मेट्‌न जेएसटीओले आज रामकृष्ण रङ्गमञ्चमा गोर्खाल्याण्डमाथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गर्‍यो। अन्तरक्रियामा मुख्यरूपले क्रामकपाका महासचिव आर.बी.राई, गोजमुमोका प्रवक्ता डा.हर्कबहादुर छेत्री, महासचिव रोशन गिरी अनि सिरामोका अध्यक्ष आर.मोक्तान उपस्थित थिए। जेएसटीओको यस कार्यक्रममा मोर्चा अध्यक्ष विमल गुरूङ, क्रमाकपाका आर.बी राई अनि गोर्खालिगका मदन तामाङको उपस्थिति हुने हल्लाले कालेबुङमा निक्कै जोर पक्रिएको भए पनि हिजो जेएसटीओले विमल गुरूङ साङ्गठानिक कार्यक्रममा व्यस्त रहेकोले कार्यक्रममा उपस्थित हुन नसक्ने बताए पनि आर.बी राई अनि मदन तामाङले उपस्थितिको निम्ति लिखित स्वीकृति दिएको बताएको थियो। अन्तरक्रिया कार्यक्रम शुरू हुँदासम्म जेएसटीओले मदन तामाङ उपस्थित हुने आशा जनलहरमा राखिरहेको भए पनि कार्यक्रम सकिँदासम्म मदन तामाङ उपस्थित भएनन्‌। जेएसटीओले उपस्थित नहुने कुरामा तामाङले कुनै आधिकारिक खबर नगरेकाले जनलहरलाई आफूहरूले ढॉंटेको जस्तो भएकोमा क्षमा पनि माग्यो। गोजमुमोमाथि सधैँ आलोचना गरेर जनतामा अन्योलताको उपार्जन गरिरहने गोर्खालिग नेता मदन तामाङ उपस्थित नभएकोले सामुहिक नेतृत्वको कुरा गर्ने तामाङले जेएसटीओलाई ढॉंटेकोमा कार्यक्रममा उपस्थित जनलहरले खल्लो मानेको देखियो। वास्तवमा यसै कार्यक्रमद्वारा लिग र मोर्चामा रहेको द्वन्द्व मेटिने अनि आन्दोलनलाई सफलसित अघि बढ़ाउन नयॉं योजनाहरूको निर्माण हुनसक्ने सबैले आशा गरेको भएपनि तामाङ उपस्थित नहुनुमाथि सबैले सन्देह गरेको पनि जनलहरमा देखियो। जे जस्तै वाध्यता भएपनि तामाङले आफ्नो पारदर्शिता देखाउन कार्यक्रममा उपस्थित बन्नु अनिवार्य रहेको सबैले कुरा गरेको सुनियो। कार्यक्रममा उपस्थित जनलहरमा तामाङले आफूलाई स्पष्ट गर्ने ठूलो मौका चुकाएको अनि अहिलेसम्म उनको कुराहरूलाई महत्व दिनेहरूलाई अनुपस्थित बनेर तामाङले आफ्नो वास्तविकता छर्लङ्ग पारेको मात्र होइन वर्तमान सेटअपको कुरालाई लिएर उनले जुन आरोप मोर्चालाई लगाएको थियो त्यो कालेबुङको जनतालाई प्रमाणित गर्न नसक्ने डरले उनले जेएसटीओलाई मात्र होइन कालेबुङलाई नै ढॉंटेर आफ्नो छवि जनतालाई देखाएकोसमेत कुरा गरिएको सुनियो।

मोर्चा इमान्दार छ-डा छेत्री,गिरी

अन्तरक्रियालाई मध्यस्थकर्ता पी.अर्जुनले अघि बढ़ाउँदै वार्तामा आन्दोलनको उपलब्धी, कमजोरी अनि आगामी रणनीतिहरूबारे जनतालाई अवगत गराउनु कार्यक्रमलेे उद्देश्य राखेको बताउँदै उनले मञ्चमा प्रश्नहरूको जवाब दिन उपस्थित प्रतिनिधिहरूलाई विभिन्न प्रश्न राखे। यसै प्रश्नको उत्तर दिने क्रममा मोर्चाको पक्षबाट रोशन गिरी अनि डा. हर्कबहादुर छेत्रीले आफ्नो दलले गर्दै गरेका कार्यहरूको विवृत्ति राखे। मोर्चाको माथिल्लो तहले केन्द्र सरकारलाई गोर्खाल्याण्डबारे एडुकेट गरिरहेको अनि यसकार्यमा मोर्चा सफल पनि भइरहेको उनीहरूले बताए। अहिलेसम्म अरू छोड़ेर मुख्यरूपले गोर्खाल्याण्ड किन हुनुपर्छ, गोर्खाल्याण्डको आर्थिक सम्भावनाका कुराहरू के के छन्‌, गोर्खाल्याण्ड राज्यको निर्माण देशको सुरक्षाको प्रश्नबीच कति महत्वपूर्ण छ, गोर्खाल्याण्ड राज्यभित्रका हुने सामाजिक, सॉंस्कृतिक, शैक्षिक रूपरेखा, राज्यले मोर्चामाथि राखेको दृष्टिकोण अनि वास्तविकता, संवैधानिक, कानूनी, ऐतिहासिक दस्तावेज तथा यस्तै अरू जम्मा दशवटा विस्तृत कागजपत्र केन्द्रलाई बुझाइसकेको डा. हर्कबहादुर छेत्रीले जनाए। उनले प्रस्तावित गोर्खाल्याण्डको मानचित्र गोर्खा अनि आदिवासी बहुलक्षेत्रलाई ध्यानमा राखेर निर्माण गरिएको अनि आवश्यक परे त्यसमा सम्झौता गरिने प्रावधानहरू पनि रहेको पनि जनाए। उनले मोर्चा मुद्दाको निम्ति इमान्दार रहेको अनि अहिलेसम्म केन्द्रियस्तरमा गरिरहेको कसरत गोर्खाल्याण्ड कै निम्ति रहेको पनि जनाए। उनले मोर्चाले राष्ट्रियस्तरमा गरिरहेको कार्यहरूको आधारभूत सत्य नबुझि मदन तामाङले आलोचना गर्ने जो जनहितको नभएर नितान्त नीजिस्वार्थको निम्ति भइरहेको आरोप लगाउँदै मोर्चा गठन भएपछि यसले जति उपलब्धी हासिल गरेको छ त्यसको सानो अंश पनि लिगले नगरेको कारण कुवामा बसेर कराइरहनु राजनीति नरहेको जनाए। उनले घिसिङ हटाउनु, मुद्दालाई राजनैतिक वार्तासम्म ल्याउनु, आन्दोलनलाई हिंसाबाट निकालेर अहिसांपरक बनाउनु अनि जहिल्यै पनि मुर्ख ठानिने गोर्खा बुद्धिजीवीहरूलाई केन्द्रसित तर्क गराउन सक्षम बनाउनु मोर्चाको मुख्य उपलब्धीहरू रहेको जनाए। सुषमा स्वराज, राजिबप्रताप रूड़ी अनि जसवन्त सिंहलाई गोर्खाहरूको पक्षमा बोल्न लगाउनु सानो उपलब्धी नरहेको बताउँदै उठिरहेको अन्तरिममाथि भ्रामक कुरा गरेर आन्दोलनको वास्तविकता बिर्सनु गतिलै मुर्खता हुने पनि उनले जनाए। अर्कोतिर रोशन गिरीले जनताको आकांक्षा नै सर्वोपरि रहेको जनाउँदै मोर्चाले गोर्खाल्याण्डको निम्ति राजनैतिक सहमतिको निम्ति राष्ट्रीयस्तरमा कार्य गरिरहेको अनि भारतका मूल 26 वटा दलहरूसित पत्रव्यवहार गरिसकेको कुरा दोहोर्‍याए। उनले भने, मोर्चा जनताको आकांक्षामा विश्वास गर्ने दल हो यसकारण गोर्खाल्याण्ड गठन हुनसक्ने सबै सम्भावनाहरूलाई सङ्‌ग्रह गरेर राष्ट्रीय तर्कको निम्ति हामी तयार भइसकेका छौं। मोर्चा गोर्खाल्याण्डको निम्ति इमान्दार छ। कसैलाई शङ्‌का भए हामीसित कुरा गर्न कसैले पनि सक्नेछन्‌। हामी गोर्खाल्याण्डबाट एक सुता पनि हटेका छैनौं। उनले मोर्चाले केन्द्रियस्तरमा गर्नुपर्ने कसरत पनि गर्दै अनि अहिले केही फूर्सदको समय साङ्गठानिक विस्तारमा पनि ध्यान दिइरहेको बताउँदै कसैले पनि स्वस्थ आलोचना गरे कसैले त्यसलाई दुत्कार्दैन तर आलोचना गर्नु अघि आफूले विपक्षीको कार्यको सही तथ्य राख्न जरुरी रहेको भए पनि केवल आलोचनाकै निम्ति आलोचना भइरहेको अनि त्यसको उद्देश्य मोर्चाको कार्यक्रमहरू अनि आत्मविश्वासमा चोट पुर्‍याउनु मात्र रहेको देखिएको छ-उनले भने। क्षेत्रीयस्तरमा मोर्चाले सरकारलाई चाप दिने कार्यहरू जस्तै विजुली, फोन अनि वाहनको ट्याक्स तथा बील नतिर्ने कार्यहरू गरिरहेको पनि उनले जनाए। उनले मोर्चाले गरेको सबै कार्यबारे जनतालाई उदाङ्गो नपारिने उनले बताए पनि क्रामाकपाका महासचिव आर.बी. राईले दलमा पारदर्शिता अनिवार्य रहेको बताए।

अन्तरिमले देशमा गोर्खाहरूको आकांक्षा बोकेको हुनुपर्छ-
आरबी
आर.बी.राईले वर्तमान अवस्थामा वाद-विवाद अनि संवादको परिस्थिति नरहेको बताउँदै पहाड़मा विपक्षीको भूमिका गणतन्त्रको प्राथमिक आधार रहेको जनाए। उनले भने, पहाड़मा जातीय अस्मिताको सवालमा हामी एक छौं तर हाम्रो कार्यप्रणाली फरक छ। दलीय चरित्र फरक छ। यसैकारण मुद्दालाई लिएर जतिपनि विवादहरू अघि आउँछ त्यसको समाधानको निम्ति एकार्काबीच वार्तालाप अनिवार्य छ। उनले चलिरहेको सामुहिक नेतृत्वको प्रश्नलाई लिएर पहाड़का सबै दलरूलाई एक सूत्रमा बॉंध्ने दायित्व मोर्चाको रहेको बताउँदै जबसम्म मूल मुद्दाको निम्ति सबै दलमा सहमति हुँदैन तब आन्दोलनको बाधक पक्षहरू उपार्जित हुने पनि बताए। उनले जनता अघि कुनै पनि दल पारदर्शी बन्नु मुद्दाको निम्ति अनिवार्य रहेको बताउँदै भने, जनतालाई पार्टीले गुप्तीकार्य गरिरहेको छ भन्नु हुँदैन। मुद्दा एउटै हो, गुप्ती भन्ने के छ र? गरेको जनताको निम्ति हो अनि जनतालाई गुप्ती छ, पार्टीको मात्र कुरा हो भन्नु गलत हुन्छ। उनले मोर्चाको जुन उड़ान छ त्यो सराहनीय रहेको तर दलभित्रका कतिपय ठिगाविगाको कार्यहरूले अनि त्यसमा मोर्चाको सन्तुलनले व्यापक असन्तुष्टी उपार्जन गरिरहेको सत्य सबैले स्वीकार्नु पर्ने बताउँदै भने, पहाड़मा आएको पैसाको प्रयोग कि त निर्वाचित संस्था कि त मनोनित कि सरकारीरूपले गरिए राम्रो हुन्छ। उनले अन्तरिममाथि क्रामाकपाको अड़ान स्पष्ट पार्दै दागोपापको विकल्प गोर्खाल्याण्ड मात्र हुने अनि यदि पहाड़मा अन्तरिम व्यवस्थाको बहाली हुनुपर्छ भने त्यसले भारतमा गोर्खाहरूको चिन्हारी, अस्मिता बोकेको हुनुपर्ने बताए। यस सम्बन्धमा बङ्गालबाट छुट्टिनु नै आन्दोलनको आकांक्षा रहेको कसैले भुल्नु नहुने कुरा पनि बारम्बार दोहोर्‍याए। रोशन गिरीले मोर्चाले विकल्प होइन अन्तरिमको कुरा गरेको भएपनि अहिले त्यसको सन्दर्भ नरहेकोले मोर्चा गोर्खाल्याण्डमाथि नै अडिग रहेको स्पष्टिकरण दिए। यसैबीच गोर्खाल्याण्डको विकल्पको कुरा उठेकोले सिरामोले उठाउँदै आइरहेको सिक्किम दार्जीलिङ विलयको कुरा पनि चर्चामा आयो।

मोर्चाले गोर्खाल्याण्ड थन्कायो भने म विलयको आन्दोलन गर्नेछु-
मोक्तान
यस सम्बन्धमा आर. मोक्तानले अहिले विलयको मुद्दा गोर्खाल्याण्डको आन्दोलन चलिरहेको कारण सान्दर्भिक नरहेको बताउँदै पनि आफूसित विलयको निम्ति सम्पूर्ण तथ्यहरू रहेको बताउँदै भने, यदि मोर्चाले गोर्खाल्याण्ड आन्दोलन कुनै कारण थन्कायो भने म विलयको आन्दोलन गर्नेछु। किन भने मैले गोर्खाल्याण्डको विकल्पको रूपमा विलयको मुद्दा जिउँदै राखेको छु। उनले विलय हुनसक्ने सबै तथ्यगत्‌ बुँदाहरू पनि कार्यक्रममा राखे। चिन्हारीको सवालमा गोर्खाल्याण्ड आन्दोलन भइरहेकोले अहिलेको निम्ति त्यही ठीक रहेको बताउँदै बङ्गाल भङ्ग हुँदैन भन्नेहरूलाई विलयको मुद्दाको झटारोले हिर्काए ठहरै हुने पनि उनले जनाए। अर्कोतिर आर.बी. राईले जातीय अस्मिताको सवालमा राष्ट्रस्तरमा दार्जीलिङले आवाज उठाउन केन्द्रिय भूमिका निर्वाह गरिरहेको कारण सिक्किममा दार्जीलिङ होइन दार्जीलिङमा सिक्किम विलय गर्न कार्य गरे भविष्यमा एउटा सम्भाव्य मुद्दा हुन सक्ने बताए।अर्कोतिर डा. हर्कबहादुर छेत्रीले भने दार्जीलिङ सिक्किममा विलय हुनको निम्ति सिक्किमलेे योग्य ठाउँ नठान्ने रहेको कारण विलयप्रति मोर्चाले चासो नदिएको बताए। विलयले बङ्गालबाट छुट्टिए पनि चिन्हारीको समस्या समाधान नहुने पनि उनले जनाए। कार्यक्रममा मुख्यरूपले मुद्दाको निम्ति मोर्चा अनि अरू दलबीच सहमति हुनुपर्ने, मोर्चा पारदर्शी हुनुपर्ने, अन्तरिम भए पनि त्यो बङ्गालबाट छुटिएको हुनुपर्ने कि त त्यसको सिमित आयु हुनुपर्ने लगायत मुद्दाको निम्ति केन्द्रियस्तरमा हुनुपर्ने राजनैतिक कार्यव्यवहार बलियो हुनुपर्ने अनि यदि आन्दोलनले जनाकांक्षा पूर्ति नगरे त्यसको विकल्पको निम्ति विलयको मुद्दालाई अघि लैजान सकिने निचोड़हरू अघिआएको थियो। यसबाहेक मोर्चाले प्रस्तावित गोर्खाल्याण्डको मानचित्र अनि क्षेत्रहरूको अंशग्रहणमाथि निक्कै गम्भीर अनि पारदर्शी हुनुपर्ने कुरा पनि अघि आएको थियो।

विधानसभा चुनाउलाई हेरेर सेटअपको कुरा गरेको हो-मोर्चा

कालेबुङ, 30 जनवरीः अहिले मोर्चा अध्यक्ष विमल गुरूङले राजनैतिक वार्ता अघि नै एउटा सेटअपको कुरा जनतालाई खुलासा गर्ने कुराले निक्कै खुल्दुली मच्चाएको छ। आज एक कार्यक्रमबीच गोजमुमो महासचिव रोशन गिरीले त्यसबारे स्पष्टिकरण दिँदै भने,2011 मा हुने विधानसभा चुनाउभन्दा अघि गोर्खाल्याण्डमाथि कुनै निर्णय हुन नसक्ने मोर्चाले अनुभव गरेको छ। चौथौ वार्तामा केन्द्र सरकार पक्षबाट मोर्चालाई दागोपाप भङ्ग गरेपछि पहाड़मा अन्तरिम व्यवस्था गर्न आफै एउटा प्याकेज बोकेर आएको थियो। तर हामीले मानेनौं। हामीलाई राज्य र केन्द्रले विभिन्न प्याकेज र सहुलियत दिएर फकाउने कोशिष गरिरहेको छ। तर हामीले सबै कुरालाई लत्याइदिएका छौं। गोर्खाल्याण्डको आन्दोलन अघि बढ़ाउनको निम्ति दागोपाप भङ्ग हुनु जरूरी छ। यसै कारण अहिलेको परिस्थितिलाई हेरेर हामीले आफ्नै सेटअप गरेर केन्द्रलाई पठाएका छौं,जो गोर्खाल्याण्ड राज्य बराबर क्षमताको छ। हामीलाई केन्द्रले हाम्रो सेटअप मान्छ जस्तो लागेको छैन। मान्यो भने त्यो गोर्खाल्याण्डको बराबर क्षमताको छ। तर त्यो पनि हामीले 2011को विधानसभा चुनाउसम्मको निम्ति अस्थायीरूपमा पहाड़मा प्रशासनिक व्यवस्था बहालीको निम्ति गरेका हौं। त्यो नै फाइनल कुरा होइन । जनता नआत्तिए हुन्छ किन भने मोर्चा मुद्दाबाट एक सुता पनि पछि हटेको छैन। उनले कस्तो सेटअप हो त्यसबारे पॉंचौं वार्ता अघि मोर्चाले जनतामा खुलासा गर्ने बताए।

प्रस्तावित गोर्खाल्याण्डको मानचित्र घटाएको समाचार झुटो हो-डा.
छेत्री

कालेबुङ, 30 जनवरीः आज हिमालय दर्पण नेपाली दैनिकमा प्रकाशित मोर्चाले प्रस्तावित गोखाल्याण्डको सीमालाई घटाएको समाचार सरासर झुटो रहेको कुरा डा. हर्कबहादुर छेत्रीले जनाएका छन्‌। पत्रिकामा आफ्नो नक्सा देख्दा कुनै परायको नक्सा हेेरेको झैं भान आज आफूलाई भएको बताउँदै उनले भने, मैले त्यस पत्रिकामा कुनै पनि प्रेस वक्तव्य दिएको छुइनँ। जतिपनि कुरा मेरो नाममा आएको छ त्यो मैले भनेको होइन। राती आनन्द बाजार पत्रिकाको सम्वाददाता भनेर फोन आएको थियो। मैले गोर्खाल्याण्डको मानचित्रबारे आउनसक्ने फेरबदलबारे कुरा गरेको थिएँ। किन भने मोर्चाले तराई, डुवर्स अनि पहाड़का मोर्चा समर्थित अनि गोर्खा-आदिवासी (जो गोर्खाल्याण्ड समर्थित छन्‌।) बहुल क्षेत्रलाई लिएर नयॉं मानचित्र बनाइने मोर्चाको योजना छदैंछ। मोर्चा अध्यक्षले जुन रिपोर्ट केन्द्रलाई पठाएको कुरा गरेका छन्‌ त्यसैको सन्दर्भमा मेरो कुरा थियो। पत्रकारले उल्टो बुझेको हुनसक्छ। तर मैले अन्य प्रेस या त कुनै समाचार एजेन्सीलाई कुनै मन्तव्य दिएको छुइनँ। त्यो समाचार झुटो हो। उनले जुन पत्रिकाले झुटो समाचार छापेको छ उसले स्रोतमाथि सम्पर्क गरेेर सत्य कुरा लेख्नुपर्ने थियो भन्ने मन्तव्य गरे। उनले मोर्चाले सिलगढ़ी, डुवर्स, तराई कुनै पनि क्षेत्रलाई नछोड़ेको भए पनि गोर्खाबहुल क्षेत्रहरूलाई मात्र राज्यमा प्राथमिकता दिने अनि त्यो पनि सरकारसित नेगोसेसन गर्नु पर्दाको निम्ति मात्र रहेको उनले बताए। त्यस समाचारले व्यापक अन्योल उपार्जन गरेको भएपनि सीमा सानो पारेको कुरा झुटो रहेको बुझ्नु पर्ने बताए। अहिलेको परिस्थितिमा पत्रिकाले मोर्चालाई व्यापक हानी पुर्‍याउने समाचार छापेको भएपनि पत्रिकाविरूद्ध मोर्चाको कस्तो कार्वाही हुने भन्ने कुरा भने उनले गरेनन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें