रविवार, 24 जनवरी 2010

अन्य समाचारहरू -24 जनवरीः

होल्याण्ड होइन गीतकोलबोङबाट निर्यात गरिने लिलियमको बल्ब

कालेबुङ, 24 जनवरीः दार्जीलिङमा विश्व चर्चित लिलियम फूल विस्तारणको सम्भावना देखेपछि कालेबुङ कृषक कल्याण सङ्गठन मार्फत होल्याण्डका भीडब्ल्यूएस कम्पनीले पहाड़मा कार्य गर्ने भएको छ। भीडब्ल्यूएस कम्पनी होल्याण्डका जोहन ब्रास आज कालेबुङ आइपुगेका थिए। अहिलेसम्म लिलियमका बल्बहरू होल्याण्डबाट नै मगाउनु पर्ने बाध्यता पहाड़, सिक्किम तथा उत्तरपूर्वी क्षेत्रका फूल खेती गर्नेहरूलाई रहेको थियो भने अब होल्याण्डबाट होइन गीतकोलबोङबाट लिलियमका बल्ब विश्वलाई प्रदान गराउने उद्देश्यमा कालेबुङ कृषक कल्याण सङ्गठनले कार्य गरिरहेको छ। यसै शिलशिलालाई व्यवहारिकता दिन होल्याण्डका जोहन ब्रास सङ्गठनको कार्यालय आइपुगेका थिए जहॉं उपस्थित कृषकहरूलाई उनले लिलियमको बल्ब उत्पादन गर्न सकिने वातावरण रहेको कारण यसको विकासको निम्ति अप्नाउनु पर्ने सबै तरिकाबारे उनले अवगत गराए। कार्यक्रममा हिमालयन फ्लोरिका दिल्लीका निर्देशक निरज छेत्रीको पनि उपस्थिति रहेको थियो भने उनले पनि कृषकहरूलाई प्रशिक्षण दिए। जोहन ब्रासले होल्याण्डको यस कम्पनीले पहिलो चोटी कार्य आरम्भ गरेको अनि तीनवर्षदेखि सिक्किममा कार्य गरिरहेको जनाए। उनले लिलियमको उत्पादन भए त्यसको मार्केटिङ अनि पोस्ट हार्भेस्टिङको व्यवस्था मिलाइने बताए। सङ्गठनका सचिव विष्णु छेत्रीले गीतकोलबोङमा लिलियमको बल्ब उत्पादन गरिने अनि विश्वभरि नै यसको निर्यात गरिने योजनामा सङ्गठनको पहल भइरहेको अनि यसै पहलको पहिलोचरण शुरू भइसकेको जनाएका छन्‌।

विचारप्रधान पत्रिका युगध्वनिको विमोचन

कालेबुङ, 24 जनवरीः 24 न. समष्टिबाट आजदेखि निस्कियो युगध्वनी। पासाङ लामाद्वारा प्रकाशित अनि भुवन खनालद्वारा सम्पादित मासिक विचारप्रधान पत्रिका युगध्वनिलाई आज सार्वजनिक गरियो। स्थानीय एक होटलमा मुख्य अतिथि डा. हर्कबहादुर छेत्री, कार्यक्रम अध्यक्ष प्रा. परशुराम शर्मा, डा. आर.बी. भूजेल, कर्णल रमेश आले, भीषण रोका अनि हरि दाहालको बाहुलीबाट पत्रिकाको विमोचन गरियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. हर्कबहादुर छेत्रीले पत्रकारहरूमाथि समाज उत्थानको गह्रौं दायित्व रहेको बताए। उनले जनताले भन्न नसकेको आवाजलाई पत्रकारहरूले प्रकाश पार्नु पर्ने जनाउँदै युगध्वनिको पदार्पण एउटा उपलब्धी नै रहेको जनाए। अन्यायमा रूमलिएको समाजलाई न्याय दिने कार्यमा युगध्वनिको पदक्षेप हुने आशा पनि उनले व्यक्त गरे। यसरी नै नाम्ची सरकारी कलेजका प्रा. परशु शर्माले जनाकांक्षालाई प्रकाश पार्न युगध्वनिले पहल गर्ने आशावादिता प्रकट गरे। डा. आर.बी. भूजेलले युगध्वनिले युवावर्गलाई मार्ग निर्देशन गर्ने आशा व्यक्त गरे। प्रकाशक पासाङ लामा अनि रूदेन लेप्चाले यस पत्रिका डेढ़ वर्ष प्रकाशित गर्ने आर्थिक प्रबन्धन आफूहरूले गरिसकेको जनाए। पत्रकार अनि सम्पादक भुवन खनालले पत्रिका अनि पत्रकारिता सम्बन्धी आफ्नो कुरा पनि राखेका थिए।

प्रशान्तद्वारा अकीन कन्सल्टेन्ट-को उद्घाटन

कालेबुङ, 24 जनवरीः इण्डियन आइडल प्रशान्त तामाङले कालेबुङमा पहिलोचोटि स्थापित अकीन कल्सल्टेन्सी-को औपचारिक उद्घाटन गरे। एनएचडीएल-ले कालेबुङका मानिसहरूलाई सुविधा उपलब्ध गर्न स्थापना गरेको टीन फेसिलेशन सेन्टर अकीन कन्सल्ट्यान्ट-को उद्घाटन गर्न प्रशान्त तामाङ कालेबुङ आइपुगेका थिए। उनले रिबन काटेर यस सेन्टरको उद्घाटन गरे। मुख्य अतिथि प्रशान्त तामाङले रिबन काटेर औपचारिक उद्घाटन गरेको यस सेन्टरले स्थानीय मानिसहरूलाई टीएएन, डिजिटल सिग्नेयर, इम्पोर्ट एक्सपोर्ट कोड, प्यान कार्ड अनि प्यान भेरिफिकेशन, सोसाइटी रेजिस्ट्रेशन अनि रिनुअल, प्रोजेक्ट रिपोर्ट अनि त्यसको इम्प्लिमेन्टेशन अनि प्रायर परमिशन लगायत फाइनेन्सियल अनि म्यानेजमेन्ट सम्बन्धमा सुविधा र सेवा उपलब्ध गर्ने निर्मल अग्रवालले बताएका छन्‌। उनले प्रतिदिनको एकाउन्टिङ, बुक कीपिङ कम्पनी फर्मेशन, सेक्रेटेरियल मेटर्स, इन्कम ट्याक्स एक्ट 1961 अनुसार भीएस 35 एसी रेजिस्ट्रेशन, भीएस12ए अनि 80जी रेजिस्ट्रेशन गर्ने मात्र होइन सिलगढ़ी गएर काम गर्नु पर्ने टीडीएस-को क्वाटरलीरिटर्न प्रिपरेशन अनि फिलिङको सुविधा पनि यसै सेन्टरद्वारा हुने जनाएका छन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें