रविवार, 24 जनवरी 2010

27 माइलको रोप-वे गोदाममा चोरी

कालेबुङ, 24 जनवरीः पहाड़को धरोहर रहेको 27 माइलस्थित ब्रीटिशकालीन रोपवे-को गोदाममा चोरी भएको जानकारी पाइएको छ। केही दिन अघिदेखि एनएचपीसीको जल परियोजनाको कारणले बन्द रहेको रोपवे-को मशीनहरू 27 माइलस्थित एक गोदामबाट चोरी भएको थाहा लागेको छ। लगभग 31 लाखको मशीनहरू सिलगढ़ीबाट एक टोली ल्याएर काट्‌न लगाइ रातारात कालेबुङका स्ट्याम्प भेण्डर अबुल फजलको अगुवाईमा चोरी गर्दै गरेको गोदाम छेउको प्रत्यक्षदर्शी चन्द्रिका सुब्बाले आरोप लगाएकी छन्‌। चोरी गर्दै गरेको थाहा लागेपछि स्थानीय युवाहरू आएर सोधखोज गर्दा फजलको टोलीसित वैद्य कागजपत्र नपाएपछि युवाहरूले सामान लान नदिएको तर त्यसको अघिल्लो दिन नै भारी मात्रामा सामानहरू सिलगढ़ीतर्फ लगिसकेको अनि उक्त टोलीले उपस्थित युवाहरूलाई 1.50 लाख रुपियॉं दिएर फकाउन खोजेको पनि स्थानीय भानु छेत्री अनि अमोन लेप्चाले बताएका छन्‌। युवाहरूले अबुल फजललाई सोधपुछ गर्दा समथार एग्रीकल्चर मल्टीपरपोज को-अपरेटिभ सोसाइटीका अध्यक्ष फादर ग्रेगोरी लेप्चाले नै एनएचपीसीलाई असुविधा दिइरहेको कारण सामान सिलगढ़ी सार्ने निर्देश दिएको फजलले बताएको पनि युवाहरूले बताएका छन्‌। यतिमात्र नभएर गोदाम छेउमा गोदामकै चौकीदारी 87 सालदेखि गर्दै आएको हरिप्रसाद सुब्बालाई पनि फजलले झट्ट घर छोड्ने धम्की दिएको सुब्बाले गुनासो गरेका छन्‌। एनएचपीसी जल परियोजनाको कारणले सुब्बाको घर सम्पूर्ण रूपले चर्काएको भए पनि आजसम्म सोसाइटी तथा एनएचपीसीले कुनै प्रकारको मरम्मतीको निम्ति क्षतिपूर्ति भने नदिएको पनि सुब्बाले बताएका छन्‌। यसरी लगभग 31 लाखको सामानहरू चोरी भएपछि स्थानीय युवाहरूले थानामा प्राथमिकी दर्ता गर्दा पनि थानाबाट कुनै प्रकारको चासो नदेखाएको अनि चोरी भएको यतिका दिनसम्म थानाबाट कुनै प्रकारको पहल नभएको पनि स्थानीय गाउँवासीले बताएका छन्‌। स्थानीय मानिसहरूले बताए अनुसार 60 को दशकमा कालेबुङका मानिसहरूको असुविधालाई मध्यनजर गरी ब्रीटिशले कालेबुङ तोपखानादेखि चारखोल हुँदै सेपखोलादेखि 27 माइल गोदामसम्म रोपवे खालेको थियो। त्यसताक रोपवे मार्फत नै मानिसहरू यातायात गर्ने गर्थे। सेपटार, नाजक बस्ती, धोङबस्ती, सुरूक, समथार आदिका मानिसहरू बजार, अस्पताल तथा अन्य ठाउँहरू आउजाउ गर्न त्यसबेला टिस्टा अनि रेली खोलामा कुनै प्रकारको पूलको सुविधा थिएन। विदेशीहरूले यस रोपवे-लाई समथार एग्रीकल्चर मल्टीपरपोज को-अपरेटिभ सोसाइटीलाई रोपवे चलाउन भनी सुम्पेर गएको थियो। तर 1996 सालमा रोपवे-को डोरी चुड़िएर चार ट्रलीबाट 6 जनाले ज्यान गुमाएपछि विस्तारै रोपवे-को अवस्था सोंचनीय बन्दै गएको थियो। यसरी 1997 सालमा सोसाइटीसँग सम्झौता गरी इन्द्र तिरूवा र तेजबहादुर थापाले 20 वर्षको निम्ति लीजमा लिएर 14 लाखको लागतमा मरम्मती गरेर फेरी सामानहरू ओसार-पसार गर्न शुरू गरेका थिए। पछिबाट 1998 सालमा सम्झौता मुताविक तिरूवा र थापाले रोपवे-को विकास गर्नको निम्ति सुवास सिंह अनि कुन्दन प्रधानलाई सामेल गराएको जानकारी पाइएको छ। उनीहरूले जनाए अनुसार त्यसबेला धेरै मात्रामा सामान अनि आपतकालीन अवस्थामा मात्र यसले मानिसहरू बोक्ने गर्थ्यो। यस टोलीले रोपवे-लाई पर्यटनीय विकास बढ़ाउनको निम्ति कलकत्ताबाट दामोदर रोपवे-को अधिकारीहरूलाई भ्रमण पनि गराइएको थियो तर अभाग्यवश 2000 सालदेखि एनएचपीसी जल परियोजनाको कार्य शुरू भयो। एनएचपीसीका मुख्य अभियन्ता सुवास रोयले अबोप्रान्त रोपवे-को विकास नगरीदिने औ यसको क्षतिपूर्ति एनएचपीसीले दिने भएपछि रोपवे-को यातायात पूर्ण रूपले ठप्प बनेको थियो। यस विषयमा लीजमा लिने एक व्यक्ति इन्द्र तिरूवासित पनि पत्रकारहरूले भेट गरेको थियो। उनीसित जान्न चॉंहदा एनएचपीसी जल परियोजनाको अधिकारीहरूले टिस्टा अनि रेली खोलामा पूल निर्माण गर्ने कुरा मानिलिएपछि आफूहरूले रोपवे बन्द गरेको बताए। एनएचपीसीसँग सरसल्लाह गरी महकुमा अधिकारी, खण्ड विकास अधिकारी आदिलाई लिएर समिति गठन गरेर 31 लाख क्षतिपूर्तिमा सम्झौता भए तापनि आज उनीहरूले कतिपय व्यक्तिगत कारणवश पैसा नपाएको बताए। यस्तै अवस्थामा केहीदिन अघि मशीनहरू राखेको गोदाम नै चोरी भएपछि यसको सम्पूर्ण जिम्मा सोसाइटीका अध्यक्ष फादर ग्रेगोरी लेप्चाले लिनुपर्ने उनले बताएका छन्‌। फादर ग्रेगोरी अनि अबुल फजलसित सम्पर्क गर्न खोजिए पनि सम्पर्क हुन सकेन।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें