गुरुवार, 25 फ़रवरी 2010

मोर्चा टोली स्यालदा जाने

जेल भरो अन्दोलनमा सामुहिक नेतृत्व भन्ने दलहरूको भूमिका हेर्छौं-गुरूङ

कालेबुङ, 23 फरवरीः गोजमुमोले पहाड़मा हुलिएको सीआरपीसित जनता डराउन नहुनेकुरामा जनतालाई बारम्बार सचेत गराउँदै आइरहेको छ। जति ठाउँ पनि जोनल कमिटी गठन गर्न जनसभाहरूको आयोजना भइरहेको छ अहिले त्यहींबाट मोर्चा अध्यक्ष विमल गुरूङले आफ्ना कार्यकर्ताहरूलाई सीआरपी पहाड़ छिराउनु बङ्गालको षड़यन्त्र रहेको अनि मोर्चाले गान्धीनीतिमा आन्दोलन गर्ने भएकोले जनता डराउनु पर्ने कारण नरहेको बारम्बार बताइरहेका छन्‌। आज पनि डुङ्‌ग्राको खेलमैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै विमल गुरूङले मोर्चासित बङ्गाल सरकार हारिसकेको अनि मोर्चाले सफलता प्राप्त गर्ने देखेर पहाड़को शान्ति भङ्ग गर्न सीआरपी हुलेको आरोप लगाए। उनले भने-हामी दङ्गा फसाद गर्दैनौं। सीआरपीलाई कसैले ढुङ्गा नहान्नु। सीआरपी हुलेर बङ्गालले झगड़ा सृष्टि गर्न चहान्छ। मोर्चालाई गलत देखाउन राज्य सरकारले नै माकपा क्याडरहरू लगाएर तोड़फोड़ गरिरहेको छ। कोही नडराउनु। तर सतर्क बस्नु। यतिबेला बिरोधीहरूले मौका लिन सक्छ। उनले सङ्गठनहरूलाई सतर्क गराउँदै नारी मोर्चाको कार्यक्रममा युवा मोर्चा पस्नु नहुने बताउँदै भने,युवा मोर्चाको जति पनि कार्यक्रम हुन्छ दिउँसो मात्र हुन्छ। राती गर्दैन। उनले सरकारलाई 72 घण्टाको समय दिइसकेको अनि यो अवधी पूर्ण हुने बित्तिकै सामुहिक गिरफ्तारी शुरू हुने अनि यसको निम्ति सङ्गठनहरूलाई तयार बस्ने निर्दैश दिइसकेको बताए। यो कुरा भन्दा भन्दै उनले सामुहिक नेतृत्वको कुरा गर्ने पहाड़का अरूदलहरूलाई पनि यसै कार्यक्रम अन्तर्गत परख गरिने बताउँदै भने-हामी हाम्रो मान्छेलाई बिनादोष यन्त्रणा दिन दिनेछैनौं। सीआरपी हुलेर जुन आतङ्‌क मच्चाइरहेको छ,यसको बिरोध गर्छौं। यसैकारण सामुहिक गिरफ्तारी दिएर बङ्गालको जेल भर्नेछौं। यतिबेला सामुहिक नेतृत्वको कुरा गर्ने नेताहरूलाई हेर्नु पर्छ। उनीहरूले आन्दोलनलाई नेतृत्व दिन्छ कि दिँदैन,हेर्नु पर्छ। मोर्चाले उनीहरूको प्रतीक्षा गर्नेछ। उनले जीएलपीको कुरा उठाउँदै आज पनि गोर्खाल्याण्डको पुलिस बनाउन जीएलपी गठन गरिएको अनि आन्दोलनभरि जीएलपीले समाजसेवा गर्ने बताए। उनले जीएलपीलाई मोर्चाले गलत ट्रेनिङ नदिएको अनि कुनै पनि क्याम्पमा हातहतियार नरहेको कुरा पनि बताए। उनले सीएरपी पहाड़ हुल्नुको कारण विधानसभा चुनाउ रहेको बताउँदै भने-माकपाको पतन भइरहेको छ। यसकारण पहाड़मा आतङ्‌क मच्चाएर भोट बटुल्ने षड़यन्त्र गरिरहेको छ। चुनाउलाई नै ताकेर माकपाले गोरामुमो हुल्ने कोशिष गरिरहेको, पहाड़का कतिपय दललाई अघि लगाएर पहाड़मा राजनैतिक अस्थिरताको वातावरण बनाइरहेको, सीआरपी हुलेर जनतालाई डर देखाइरहेको, गोर्खा सिपाहीहरूको हत्या गरिरहेको, घर, थाना जलाएर मोर्चालाई आरोप लगाइरहको पनि बताए। जनसभापछि विमल गुरूङले पत्रकार सम्मेलन डाक्दै मोर्चाको एक टोली स्यालदाको भ्रमणमा जाने तयारीमा रहेको बताए। उनले भने-बङ्गाल सरकारले सुनियोजित ढङ्गले यो घटना जन्माएको हो। यसकारण त्यसक्षेत्रमा सरकारले कुनै निरीक्षण गरेको छैन। त्यहॉं आतङ्‌क मच्चाएर राखेको छ। यसकारण त्यसठाउँको भ्रमण मोर्चाले गर्नेछ। त्यहॉं पनि गोर्खाहरू छन्‌,जो असुरक्षित छन्‌। उनीहरूको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें