शनिवार, 13 फ़रवरी 2010

मुख्य मन्त्रीलाई यो, त्यो दिन सक्छौं भन्ने अधिकार छैन-गोजमुमो

कालेबुङ,13 फरवरी (सन्दिप कुलुङ)ः माकपा नेता तथा राज्यका मुख्य मन्त्री बुद्धदेउ भट्टाचार्यले आफ्नो सम्बोधनको प्राय समय नै मोर्चालाई चुनौति दिँदै दिन सकिन्छ भने दागोपापमा नै क्षमता वृद्धि गरेर दिन सकिने बताए पनि गोजमुमोले त्यसको निर्णय गर्ने अधिकार नै भट्टाचार्यलाई नरहेको बताए। मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले यससम्बन्धमा बोल्दै पत्रकारहरूलाई जनाए-बुद्धदेउ भट्टाचार्यले मोर्चाको विरोध गरेको होइन चुनाउको प्रचार शुरू गरेका हुन्। बङ्गाल विभाजन हँदैन भनेर उनले गोरामुमोकालदेखि नै भन्दै आएका हुन् तर किन विभाजन हुँदैन आजसम्म भन्न सकेका छैनन्। बुद्धदेउ भट्टचार्यहरूले पहाड़का मानिसहरूलाई अझसम्म पनि मुर्ख सम्झिन्छन् भन्ने प्रमाण हिजोको उनको जनसम्बोधन हो भन्दै उनले भने-मोर्चाले दागोपापमा अधिक क्षमता बढ़ाउने कुरा मान्नु हो भने छैटौं अनुसूची नै प्रशस्तै थियो। छैटौं अनुसूची पहाड़मा ल्याएर जनताको आकांक्षा बिरोधी कार्य माकपा अनि गोरामुमोले गर्यो अनि गोर्खाल्याण्डको मुद्दालाई सधैँको निम्ति दबाउने षड़यन्त्र गर्यो भनेर नै मोर्चा जन्मिएको हो। भट्टाचार्य को हुन् यो दिन सक्छौं र त्यो दिन सक्छौं भन्ने? पहाड़, तराई अनि डुवर्सका जनता उनले दिएको कुरा होइन आफूले मागेको कुरा दिनुपर्छ भनेर आन्दोलनमा उत्रिएको हो। उनले भट्टाचार्यका गोजमुमो विरोधी मन्तव्यलाई 2011मा हुने विधानसभा चुनाउको प्रचार गर्ने मसला मात्र रहेको बताउँदै भने-पहाड़मा दागोपापलाई नै बढ़ाएर त्यहॉंको समस्या समाधान गर्यौं भनेर उत्तर बङ्गालमा भोट बटुल्ने उनको चुनावी रणनीति मात्रै हो। नत्र उनले भनोस् बङ्गाल विभाजन हुँदैन भने किन र कसरी हुँदैन? उनको राजनैतिक जीवन रहिञ्जेल उनले यसको उत्तर दिन सक्दैनन् किन भने हामीले केन्द्रलाई गोर्खाल्याण्डको औचित्य र आवश्यकतामाथि केन्द्रलाई शिक्षित गरिसकेका छौं। उनले स्पष्ट भाषामा भने-भट्टाचार्यलाई पहाड़मा के हुनुपर्ने के नहुनुपर्ने कुरामा निर्णय गर्ने अधिकार छैन। उनी भारतीय नागरिक हुन् अनि हामी पनि। हामीले गोर्खाल्याण्डको निम्ति सोझै केन्द्रसित बातचित गरिरहेका छौं। उनले मोर्चा दागोपापमा क्षमता बढ़ाएर दिने व्यवस्थामा मान्छ भनेर भट्टाचार्यले नसोंचे हुन्छ भन्दै उनले भने-गोर्खाल्याण्डको दावी तराई, डुवर्स अनि तराईसित नै गरिरहेका छौं अनि गरिरहने छौं। गोजमुमोलाई सहुलियत होइन गोर्खाल्याण्ड चाहिन्छ। यसबाहेक कुनै पनि अरू कुरामा मोर्चाले सहमति दिने छैन। उनले जुन अन्तरिमको कुरा छ त्यो दागोपाप रद्द हुँदा पहाड़मा सृजना हुने भ्याकुमको निम्ति मात्र रहेको अनि यसको आयु निश्चित गरिएको हुने बताउँदै उनले भने-मोर्चाले गोर्खाल्याण्डको कुरा नगरेको भए वार्ताहरूको आवश्यकता नै पर्दैन थियो। अहिले राजनैतिक वार्तामा आइपुगेका छौं। वार्ताद्वारा नै हामी समस्याको समाधान गर्ने पक्षमा छौ अनि हाम्रो मुद्दा मात्र गोर्खाल्याण्ड हो।मुख्य मन्त्री भट्टाचार्यले सिलगढ़ीमा मोर्चाले अशान्ति गरिरहेको जुन आरोप लगाएका थिए त्यस सन्दर्भमा बोल्दै उनले भने-विद्यार्थीहरूलाई लट्ठीचार्ज गर्ने पुलिस मोर्चाको हो? भूतपूर्व सैनिकहरूलाई कुटपिट गर्ने मोर्चाको क्याडर हो? सिलगढ़ीमा जति पनि अशान्ति हुँदैछ त्यो मोर्चाको गणतान्त्रिक आन्दोलनलाई विथोल्न माकपाले बुनेको षड़यन्त्र हो। सिलगढ़ी भट्टाचार्यको नीजि जमीन हो र उनले त्यहॉं हात नहाल्नु भन्छन्? डुवर्सको कुरा गर्छन् भने उनलाई डुवर्समा मोर्चाको बाहुल्य कति छ भनेर देखाउन कालचिनीमा चुनाउ जिताएर देखाइसकेका छौं। भट्टाचार्यले भनेर केही हुँदैन। पहाड़,तराई र डुवर्सलाई पनि दोस्रो नन्दिग्राम बनाउन खोजे मोर्चालाई नोक्सानी छैन। नोक्सान भट्टाचार्यलाई नै हुन्छ। हामी त आन्दोलनकारी हौं। सिलगढ़ी अनि डुवर्सलाई माकपा र गोरामुमोले जुन धोका र शोषण गरेर राखेको छ त्यसबाट उन्मुक्ति दिलाउन नै मोर्चाले कम्मर कसेको बताउँदै उनले अझ भने-हामी गोर्खाल्याण्डको निम्ति कटिबद्ध छौं। भट्टाचार्यले विधानसभाको चुनाउ जित्छु भन्ने आशाले तराईमा मोर्चालाई गलत सावित गर्ने कोशिष गरिरहकोे भएपनि तराई अनि डुवर्सका जनताले मोर्चालाई बुझिसकेको उनले बताए।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें