रविवार, 21 फ़रवरी 2010

मोहन बगान एकाडेमीले छान्यो कालेबुङका 10 खेलाड़ी



कालेबुङ, 21 फरवरीः भारतीय फुटबल विकासको निम्ति फुटबलरहरू छान्दै मोहनबगान पीसीएम एकाडेमीका मुख्य प्रशिक्षक एवं भारतको भूतपूर्व खेलाड़ी प्रणव गाङ्गुली आज कालेबुङ आइपुगे। उनीसित संयोजक सुवास सरकार अनि सन्तानु बीसे पनि साथ थिए। मेला ग्राउण्डमा कालेबुङका युवा खेलाड़ीहरूको खेलकौशल जॉंच्दै खेलाड़ीहरूसित उनी भनिरहेका थिए-यो एउटा राम्रो मौका हो यसकारण आफ्नो कौशललाई खुलेर प्रदर्शन गर्नुहोस्‌। पत्रकारहरूसितको बातचितमा उनले भन्दैथिए- पहाड़का खेलाड़ीहरूमा खेलकौशल प्रशस्त हुन्छ तर उनीहरूले त्यसलाई उचित ठाउँमा प्रदर्शन गर्न पाइरहेका हुँदैनन्‌। यही कुरालाई अघि राखेर उनीहरूलाई राष्ट्रिय मैदान दिने हाम्रो उद्देश्य हो। एकाडेमीले खेलाड़ीहरू छनौट गरेर उनीहरूलाई प्रशिक्षण दिने अनि राष्ट्रियस्तरको खेलहरूको निम्ति तयार पार्ने बताउँदै संयोजक सुवास सरकारले भने-आज खेलाड़ीहरूले खुबै राम्रा प्रदर्शन गरे। उनीहरूमा प्रशस्त सम्भावनाहरू देखिएका छन्‌। त्यसलाई खारेर उनीहरूलाई उचित तक्निकहरूबारे सिकाइयो भने देशमा नै श्रेष्ठ खेलाड़ी बन्न सक्छन्‌। कालेबुङको केएसएले पहाड़का युवा खेलाड़ीहरूलाई पहाड़मा मात्र सिमित नराखेर चर्चित फुटबल क्लबसम्म पुर्‍याउने प्रयास गर्दै आइरहेको छ। आज पीसीएम मोहन बगान एकाडेमीले मेलाटारमा कालेबुङ, गोरूबथान लगायत दार्जीलिङबाट 115 जना खेलाड़ीहरू उपस्थित बनेका थिए। ती खेलाड़ीहरू मध्ये 10 जना फुटबल खेलाड़ीहरूलाई एकाडेमीले छनौट गरेका छन्‌। यीमध्ये 5 जनालाई भोलि नै प्रशिक्षणको निम्ति जलपाईगढ़ी लगिने भएको छ भने अन्य पॉंचजनालाई खेलाड़ीहरूको दशौं र बाह्रौं श्रेणीको परीक्षालाई मध्यनजर गरेर अलिक पछि लगिने केएसएका अध्यक्ष उर्गेन लामाले बताएका छन्‌। आज छनौट भएका खेलाड़ीहरूलाई एकाडेमीले नै पठन-पाठन अनि प्रशिक्षणको निम्ति प्रायोजना गरिदिने भएको छ भने खेलाड़ीहरूले भोलिदेखि नै फुटबलको प्रशिक्षण लिनेछन्‌। भोलि नै जलपाईगढ़ी प्रस्थान हुने युवाहरूमा कालेबुङबाट जोसेफ छेत्री, छेवाङ शेर्पा, निम्बोङबाट छो छिरिङ लेप्चा, गोरूबथानबाट रमेश तामाङ अनि दार्जीलिङबाट जेबासिस प्रधान रहेका छन्‌ भने केहीदिनपछि प्रस्थान हुनेहरूमा मङ्गपूबाट नासीब तामाङ, लाभाबाट समित गुरुङ, दार्जीलिङबाट आदर्श गुरुङ, कालेबुङबाट छिरिङ भोटिया अनि अलगढ़ाबाट देवाशिष राई रहेका छन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें