रविवार, 21 फ़रवरी 2010

जनतालाई उग्र बनाउने राजनीतिको विकास?

कालेबुङ, 21 फरवरीः सिक्किमका मुख्यमन्त्री पवन चामलिङले पत्रकारहरूले सरकारलाई हानी पुग्ने समाचारहरू लेखिरहेको बताउँदै यसको विरूद्धमा जनतालाई उग्र गराउने आशयमा मन्तव्य दिएको केही दिन पछि गोजमुमोको बिरोध गर्नेहरूको विरूद्धमा उठ्‌न जनतालाई अगणतान्त्रिक हुन प्रेरित गराएको मन्तव्य गोजमुमो अध्यक्ष विमल गुरूङले दिए। पर्यवेक्षकहरू अनुसार दुवै नेताको मन्तव्य गणतान्त्रिक होइन। सिक्किमका मुख्यमन्त्रीले पत्रकारहरूलाई मात्र दोष्याएनन्‌ तर वारि-पारिको विवाद फेरि ताजा गरेका छन्‌। उनको यसप्रकारको टिप्पणीले वारिबाट गएर पत्रकारिता गरिरहेका पत्रकारहरूले असुरक्षित अनुभव गरेका छन्‌। अहिले एसडीएफ अनि मोर्चाबीच चलिरहेको राजैतिक द्वन्द्वले निक्कै चर्को रूप लिइरहेको छ जसको कारण वारि-पारि नै अहिले रिसारिस चलिरहेको छ। सिक्किम सरकारले राजमार्गमा आन्दोलनकारीहरूको आन्दोलनलाई बन्देज गर्दै उच्च न्यायालयमा मुद्दा हालेपछि त्यसको असरहरू निक्कै चर्किएर गइरहेको छ। तर दुई दलबीचको द्वन्द्वले आम नागरिक अनि अहिले पत्रकारहरूसमेतलाई प्रभावित गरिरहेको अनुभव गरिन थालिएको छ। पारिका पत्रकारहरूले आफूहरूको विरोधमा समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएर उनीहरूलाई यस्तो गर्न नदिन जनता नै अघि आउनु पर्ने जस्तो कुरा गर्नु अनि जनतालाई उग्र हुनु प्रेरित नै गराउने किसिमको टिप्पणी गर्नु एकातिरको रिस अर्कोतिर पोखेको जस्तो देखिएको पत्रकारहरूले अनुभव गरेको यताका पत्रकारहरूले बताउने गरेका छन्‌। आफूले भूलको निम्ति दण्ड नदिएर जनतालाई नै त्यसको निम्ति अघि लगाउनु राम्रो नियत नरहने पनि पत्रकारहरू भन्छन्‌। उसै पनि पत्रकारहरू राज्यकै मेरूदण्ड हुन्‌। उनीहरूले सम्प्रेषण गरेको समाचारले नै जनताले राज्यमा भइरहेको राजनैतिक चरित्र अनि समाजको वास्तविक अनुहार देख्न पाउँछन्‌। पत्रकारहरूलाई त्यतिबेला गलत ठहराइन्छ जब पत्रकारहरूबाट आफ्नो स्वार्थ पुरा हुँदैन। सिक्किमको सम्बन्धमा वास्तविकता जे नै भए पनि जनतालाई उग्र बनाउने टिप्पणी गर्नु दायित्वशील प्रतिनिधिको निम्ति उचित भने होइन। देशको गणतन्त्र बहाल गर्ने किसिमका टिप्पणी गर्नेहरू गैरजिम्मेवार हुन्छन्‌। यस्ता गैरजिम्मेवारपूर्ण टिप्पणीहरूलाई पढ़ेर पनि जनताले वर्तमान राजनैतिक चरित्र बुझ्नु पर्ने हुन्छ। यता गोजमुमो अध्यक्ष विमल गुरूङले जनता गणतान्त्रिक हुनु नहुने भनेर जुन टिप्पणी गरे त्यो पनि गणतान्त्रिक देशको निम्ति राम्रो चरित्र राखिएको टिप्पणी नरहेको सचेतहरूले बताइरहेका छन्‌। पहाड़मा रहेको एकमुट्ठी दलहरू जो गोर्खाल्याण्डकै निम्ति बोलिरहेका छन्‌। तर जनता अगणतान्त्रिक बने अनि अर्को दलको विरोधमा बोले अनि त्यतिबेला हिंसात्मक घटना घटे त्यसले कसलाई फाइदा हुन्छ? पर्यवेक्षकहरूले अहिले यस्ता प्रश्नहरू उठाइरहेका छन्‌। नेता जति गणतान्त्रिक हुन्छ जनता उति नै गणतान्त्रिक नबने नेता र जनताबीचको तालमेल नै हराएर जाने अनि स्थिति अनियन्त्रित पनि बन्ने सम्भावना बढ़ी रहने पनि पर्यवेक्षकहरू भन्छन्‌। गणतान्त्रिक आन्दोलनमा जनता अगणतान्त्रिक बन्नु मुद्दाको निम्ति फाइदा जनक होइन। उसै पनि पहाड़मा आफ्नैहरूको घर भत्काउने, जलाउने घटना तीब्र नै छ। गोरामुमोकालमा देखिएको यो चरित्र अझ पनि कायम नै रहेको छ। राजनैतिक सङ्गठनले कुनै पनि यस्ताखाले घटना भए आक्रोशित जनता, कुतत्व, बिरोधी शक्तिलाई लगाउने बानी अझ पनि कायम नै रहेको छ। पहाड़मा यस्ता मान्छे छैनन्‌ जसले गोर्खाल्याण्डको बिरोध गर्छ। बिरोध भयो भने राजनैतिक दलको गलत कार्यक्रमको बिरूद्ध हुन्छ अनि त्यो पनि मुद्दाकै निम्ति हुन्छ। पहाड़को कुनै पनि दल चहॉंदैन कि एउटा राजनैतिक दलको भूलले मुद्दालाई नै असर गरोस्‌। यसैकारण नै राजनैतिक मदभेद् बढ़िरहेको छ अनि राजनैतिक सहमति बन्न सकिरहेको छैन। दलीय स्वार्थको निम्ति जनतालाई उग्र बनाउन नेेताहरूले गर्ने टिप्पणीहरूलाई अहिलेदेखि नै गम्भीरतापूर्वक लिनुपर्ने पर्यवेक्षकहरूले बताउन थालेका छन्‌। मोर्चाले उसै पनि गोर्खाल्याण्डको निम्ति राज्य सरकारसित कुनै सम्बन्ध नबनाउने अनि केवल केन्द्रसित सम्बन्ध बनाएर वार्ता मार्फत छिनाफाना गर्ने बताइसकेको छ। यसकारण जनतालाई बङ्गाल सरकारको विरूद्द कुनै कार्यक्रम गर्नुपर्ने आवश्यकता छैन। आवश्यक नै पर्‍यो भने पनि जनताले अहिलेसम्म नाइनास्ती गरेको छैन। तर जनतालाई अगणतान्त्रिक बनाउनु मुद्दाको निम्ति मात्र नभएर दलहरूको निम्ति नै हानिकारक हुन सक्दैन भन्न सकिन्न।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें