मंगलवार, 16 फ़रवरी 2010

माओवादी हमलाको दायी बङ्गाल सरकार-मोर्चा

कालेबुङ,15 फरवरी( सन्दिप कुलुङ) आज गोजमुमो केन्द्रिय समितिको सभा यहॉंको डेलोमा सम्पन्न भयो। सभापछि मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले पश्चिम मिदनापूर जिल्लाको शिलदामा इष्ट्रन फ्रण्टियर राइफल(ईएफआर) क्याम्पमा सोमबार सॉंझ माओवादीहरूले गरेको हमलाको दायी बङ्गाल सरकार रहेको बताए। उनले आजको सभामा माओवादी हमलामा शहीद बनेका पहाड़का गोर्खा सिपाहीहरूलाई पूर्ण सम्मानको साथ पहाड़ ल्याउने बताए। उनले शहीदहरूप्रति शोक प्रकट गर्दै मोर्चाले 17 देखि 19 फरवरीसम्म दलीय झण्डालाई आधा मात्र उत्तोलन गर्ने जनाए। छेत्रीले राज्य सरकारको यस प्रकारको खेलाइँचीप्रति भर्त्सना जनाउँदै भने-त्यस्तो सम्वेदनशील क्षेत्रमा 50 जना सिपाहीलाई केवल थ्री नट थ्री दिएर राख्यो, त्यो पनि परेको बेलामा काम नलागेको थाहा लाग्यो। जब कि माओवादीसित एके 47 थियो। यसले बङ्गाल सरकार देशको सुरक्षाको सवालमा गम्भीर छैन भन्ने प्रमाणित गर्छ। माओवादी हमलामा गोर्खा सिपाहीहरू जो देशको सुरक्षा गर्न बसेका थिए उनीहरूलाई कामै नलाग्ने हतियार दिएर बङ्गाल सरकारले देशको सुरक्षाको सम्बन्धमा खेलाइँची गरेको छ। घटना हुनुको कारण बङ्गाल सरकारकै कमजोरी हो। उनले राज्यको मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई दोष्याउँदै अझ भने-मुख्यमन्त्री सिलगढ़ी आएर गोर्खाहरूको विरोधमा बोले। तर आफ्नै राज्यको सुरक्षा गर्न भने गोर्खाहरूलाई नै राखे। यसैले पुष्टि गर्छ देशको सुरक्षा गर्न सक्छ भने केवल गोर्खाहरूले मात्र। उनले गोर्खाहरूको विरूद्ध मुख्यमन्त्रीले बङ्गलादेशबाट छिराएका आमरा बङ्गाली, जनजागरण मञ्च जस्ता सङ्गठनका कार्यकर्ताहरूलाई खटाउँछन्‌। भट्टाचार्यलाई गोर्खाहरूको विरूद्धमा बोल्ने कुनै नैतिक अधिकार छैन। गोर्खा शहीदहरूको क्षतिपूर्ति स्वरूप गोर्खाल्याण्ड नै हुनुपर्ने दाबी गर्दै उनले बाघडुग्रामा शहीदहरूलाई सम्मानपूर्वक ग्रहण गर्न मोर्चा प्रतिनिधिहरूको उपस्थिति रहने अनि कालेबुङको मेला ग्राउण्ड, खरसाङको रेलवे स्टेशन अनि दार्जीलिङको पुरानो सुपर मार्केटमा शोक सभाको आयोजना गर्ने बताए। शहीदहरू पहाड़ लिएर आउँदा उनीहरूलाई शोक प्रकट गर्दै त्यस क्षण पहाड़ बन्द हुने पनि बताए। शहीदहरू बाघडुग्रा आउने बित्तिकैदेखि पहाड़ बन्द हुने जनाउँदै 13 जना दार्जीलिङ, 7 जना डुवर्स अनि सलुवाको लगाएर जम्मा 20 जना गोर्खा सिपाहीहरू शहीद बनेको उनले जनाए। जानकारी अनुसार शहीद हुनेहरूमा कालेबुङका पेमछिरिङ भोटिया, पेमछिरिङ लेप्चा अनि डम्बरबहादुर छेत्री रहेका छन्‌ भने गोरूबथानका शान्तीकुमार राई रहेका छन्‌। यसबाहेक मिङ्‌मा तामाङ, जीयान छेत्री, सरोज छेत्री, मनल छेत्री, रामबहादुर थापा, चन्द्र छेत्री, अजय थापा, गगन प्रधान, गोपाल छेत्री, प्रदीप प्रधान अनि निमता शेर्पा लगायत अन्य पनि पहाड़का विभिन्न ठाउँहरूका रहेका छन्‌। डा. छेत्रीले बङ्गाल सरकारलाई चुनौती दिँदै गोर्खा शहीदहरूलाई पूर्ण सम्मानको साथ पहाड़ ल्याइनु पर्ने, सुटुक्क ल्याइन नपाउने अनि पहाड़का जनताले शहीदहरूलाई जनसम्मान गर्न पाइनु पर्ने बताउँदै शवलाई पहाड़ ल्याएर जहॉं-जहॉं श्रद्धाञ्जली चढ़ाइन्छ त्यहॉं सम्पूर्ण गोर्खाहरूलाई उपस्थित बनिदिने अनि बङ्गाल सरकारको विरोधमा सबैले पाखुरामा कालो लुगा बॉंधिदिने आह्वान पनि गरे। शवलाई ससम्मान पहाड़ ल्याउन भूतपूर्व सैनिकहरू बाघडुग्रा पुग्ने बताउँदै कालेबुङको मेला ग्राउण्डमा हुने शोकसभामा गोजमुमो अध्यक्ष विमल गुरुङले श्रद्धाञ्जली चढ़ाउँदै जनसम्बोधन गर्ने पनि बताए। केन्द्रिय समितिकै सभामा गृह सचिवले 6 फरवरीमा त्रिपक्षीय वार्ता हुनुपर्ने मियाद सकिएपछि 10 फरवरीसम्म वार्ताको मिति तय गर्छु भने पनि आफ्नो वचन पूरा नगरेको बताउँदै उनले भने-आज नै मोर्चा टोलीले गृहमन्त्री अनि राज्य र केन्द्रका गृह सचिवहरूलाई वार्ता गर्न पर्ने सम्बन्धमा हेलचेक्राइँ गरिएको कारण माग्दै फ्याक्स वार्ता पठाएको छ। उनले शीघ्र नै वार्ता नभए मोर्चाले दोस्रो चरणको आन्दोलन तयार पार्ने बताउँदै भने-मोर्चाले सरकारलाई समय दिएकै हो। उनीहरूले नै खेलाइँची गरेर वार्ता नगरेपछि हाम्रो दोष रहेन। अझ खेलाइँची गरे हामी दोस्रो चरणको आन्दोलन गर्नेछौं जुन आन्दोलन उग्र हुनेछ। हामी कड़ा रूपमा कार्यक्रमहरू फ्यॉंक्नेछौं। त्यतिबेला राज्य र केन्द्रले मोर्चालाई दोष दिन पाउनेछैन। यदि दोस्रो चरणको आन्दोलन उग्र भए अनि परिस्थिति अर्कै बने त्यसको दोष राज्य र केन्द्रको नै हुनेछ। उनले यस्तो स्थिति आउन नदिनु हो भने शीघ्र नै वार्ता गरिनुपर्ने बताउँदै भने-22 फरवरीदेखि बजेट सेसन शुरू हुन्छ। यो भन्दा अघि नै वार्ताको मिति तय गरेर मोर्चालाई पठाएको हुनुपर्छ अथवा वार्ता हुनुपर्छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें