मंगलवार, 9 फ़रवरी 2010

8 फरवरी

स्वशासनः विभिन्न दलहरूको प्रतिक्रिया

कालेबुङ, 8 फरवरी(सन्दिप कुलुङ)ः आज विभिन्न बङ्गला दैनिकहरूले मोर्चाले दागोपापको निम्ति स्वशासन चलाउने जुन समाचार प्रकाशित गरेको थियो त्यसले पहाड़मा निक्कै खुल्दुली मच्चाएको छ। समाचारमा मोर्चाले केन्द्रलाई पठाएको गुप्ती रिपोर्टमा दागोपापको विकल्पको कुरा रहेको अनि मोर्चाले 2011 सम्मको निम्ति स्वशासनको विकल्पलाई मान्य गरेको बताइएको छ। मोर्चाले गोर्खाल्याण्ड अहिले नै नहुने कुरा बुझेपछि गोर्खाल्याण्डको आन्दोलनलाई लामो अवधिको निम्ति राखेर अहिले स्वशासनमा कुरा मिलाउने जमर्को गरेको अनि गुप्ती रिपोर्ट यसै कारण केन्द्रलाई पठाइएको उल्लेख गर्दै राजनैतिक वार्ता फरवरीको तेस्रो अनि चौथो सप्ताहमा हुने, जहॉं स्वशासनमाथि कुरा हुने बताइएको छ भने दागोपापको साटोमा आउने स्वाशासनमा धेरै क्षमताहरू रहेको उल्लेख गरिएको छ। दागोपापमा रहेको 28वटा समष्टीलाई बढ़ोत्तरी गरेर 60 वटा बनाइने जहॉं तराइ र डुवर्स नरहने,22वटा विभागलाई बढ़ाएर 70 देखि 80 वटा बनाइने अनि आर्थीक प्याकेजकोरूपमा 300 देखि400 करोड़ दिइने जस्ता कुराहरू उल्लेख गरिएका ती समाचारहरूमा मोर्चाले जनतालाई यसबारे सम्झाउन शुरू गरिसकेको पनि बताइएको छ। यी समाचारहरूबारे बुझ्न चहॉंदा मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले आफूले समाचार नपढ़ेको बताउँदै ती समाचारपत्रहरू माकपासित सम्बन्धित रहेको अनि पत्रकारहरू पनि माकपाकै बचाउमा खटिएकोले मोर्चालाई राजनैतिक क्षति पुर्‍याउन बङ्गालले मीडियालाई लगाएर कार्य गरिरहेको बताए। उनले यस्तै हो भने सबै पत्रिकाहरूमा समाचार आउनु पर्ने भए पनि केवल बङ्गला पत्रिमा मात्र यस्ता समाचारहरू आएकोले पत्रिकाहरू माकपाको देखरेखमा चलिरहेकोले आफ्नो पत्रिका बिकाउन अनि मोर्चालाई गलत सावित गरेर मुद्दालाई विथोल्ने प्रयासमा लागेको बताउँदै भने-बङ्गला पत्रिकाहरूले जे सुकै लेखुन, हामीलाई सरोकार छैन। बङ्गालले जति नै हानी पुर्‍याउने कोशिष गरेपनि अब कुनै असर पर्दैन। उनले अहिले मोर्चाले गरिरहेको साङ्गठानिक कार्यक्रमहरूलाई पनि यसै कुराहरूसित जोड़ेर हेर्ने अनि पत्रकारहरूले त्यसको अर्थ आफ्नै तरिकाले निकालेर मनगड़न्ते समाचारहरू दिएर माकपासित साकिलो हुने कार्य गरिरहेको पनि बताए। उनले मोर्चाले स्वशासनमा कुरा गर्ने भएदेखि उहिल्यै गरिसक्ने बताउँदै मोर्चा गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेको देखेर बङ्गाल आत्तिएको पनि उनले बताए। मोर्चाले पठाएको गुप्ती रिपोर्टबारे सार्वजनिक नगरिएको अनि त्यसभित्र के माग गरिएको छ स्पष्ट नभएको कारण नै अहिले विभिन्न अड़कलबाजी भइरहेको छ। एकातिर विमल गुरूङले सेटअप तथा गुप्ती रिपोर्टमा धेरै अधिकारहरू मागेको कुरा गरिरहेका छन्‌ भने पैसाको सठिक उपयोग गर्नु पर्ने कुराहरू पनि गरिरहेका छन्‌। अर्कोतिर मोर्चाले 28 वटै समष्टिमा गएर दुइतीनवटा जोनहरू बनाइरहेको कुराले पनि व्यापक शङ्‌काहरू उपार्जन गरिरहेको छ तर मोर्चाले भने वारम्बार नै आफू इमान्दार रहेको अनि केवल गोर्खाल्याण्ड मात्र आफ्नो मुद्दा रहेको अनि कुनै पनि अवस्थामा तराई र डुवर्सलाई नछोड्ने कटिबद्धता देखाइरहेको छ। आज बङ्गला दैनिक पढ़ेर नै क्रमाकपा प्रतिनिधि मोहन पौड्यालले पत्रिकाको कुरा मान्नु हो भने पनि आपत्ति जनक रहेको बताए। उनले भने-यदि पत्रिकाको कुरा सॉंचो सावित भए क्रमाकपाले व्यापक विरोध जनाउनेछ। जनता गोर्खाल्याण्डको निम्ति मात्र एकत्रित बनेको, अनशन बसेको , जुलूसमा हिँड़ेको बताउँदै उनले अझ भने-तराई र डुवर्स छोड़िने कुरा मात्र पनि नितान्त गद्दारीपूर्ण कुरा हो। धोका भए त्यसको नतिजा राम्रो त अवश्य पनि हुँदैन। उनले पैसाको आन्दोलन होइन आत्मसम्मानको, आत्मपरिचयको आन्दोेलन रहेकोकारण मोर्चाले यदि आफू इमान्दार छ भने यस्ता खाले षड़यन्त्रहरूको व्यापक विरोध गर्नु पर्ने पनि उनले बताए। अर्कोतिर जिल्ला कंग्रेसका दीलिप प्रधानले भने यसकुरामा कुनै मन्तव्य नगर्ने अनि पॉंचौं वार्तालाई पर्खिएर मात्र बोल्ने बताउँदै भने-सीमानाको कुरामा गम्भीर रहनु अनिवार्य छ। क्षेत्र छोड़िने कुनै पनि कार्यको विरोध हामी गर्नेछौं। अन्तरिम व्यवस्था हुन्छ भने पनि त्यसको समयसीमा तोकिएको हुनुपर्छ। अर्कोतिर गोरामुमो-सीका अध्यक्ष कर्णल डी.के.प्रधानले पनि बङ्गला पत्रिकाको समाचार पढ़ेको अनि उनले अन्तरिम व्यवस्था हुने अवस्था अहिले नै नआइपुगेको बताए। उनले भने- जब केन्द्रले गोर्खाल्याण्ड दिँदैन अनि राज्य निर्माणको प्रक्रिया शुरू हुँदैन तबसम्म अन्तरिमको कुनै अर्थ रहँदैन। गोर्खाल्याण्ड भइसकेपछि राज्य सञ्चालनको निम्ति गरिनु पर्ने तयारीको अवधि दिने व्यवस्था मात्र अन्तरिम हुनसक्ने उनले बताएका छन्‌।



लीगको कार्यक्रम प्रभावहीन

विभिन्न दलहरूको प्रतिक्रिया

कालेबुङ, 8 फरवरी ः आज गोर्खालीगले डाकेको जनता कर्फ्यू नगरमा प्रभावहीन देखियो। हिजो अभागोली अध्यक्ष मदन तामाङ लगायत अन्य नेताहरूले बन्दको समयमा सड़कमा उत्रिनेहरू बङ्गालका दलालहरू हुन्‌ भनी बताएको भए पनि आज नगरमा मानिसहरूको चहलपहल उत्तिकै देखियो। नगरमा सदा झैं मानिसहरूको भीड़भाड़ रहेको थियो। अभागोलीको बन्द धेरैजसो जनताले प्रभावहीन माने। कतिपय मानिसले पनि बन्दको कुनै अर्थ नरहेको बताए भने कतिले लीगको कार्यक्रममा कुनै सत्यता हुनसक्ने पनि बताए। कतिपय मानिसहरूले यदि गोर्खालीगले गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्ने हो भने सड़कमा आएर गर्नुपर्ने अनि गोजमुमोले अघि बढ़ाएको आन्दोलनमा एक भएर अघि बढ़्‌नुपर्ने बताए भने कतिले यसप्रकारको अभागोलीको आन्दोलन अन्योलपरक देखिएको पनि बताए। धेरैजसो मानिसहरूले केही दिन अघाड़ि जेएसटीओद्वारा डाकिएको पॉंचौं गोर्खाल्याण्ड अन द टेबल-मा नआएर ठीक नलागेको अनि डराएको जस्तो देखिएको पनि बताए। लीगको यस कार्यक्रममाथि प्रतिक्रिया व्यक्त गर्दै क्रामाकपा प्रतिनिधि मोहन पौड्यालले आफूहरूको कार्यक्रम सफल नपार्नेहरू बङ्गालको दलाल हुन्‌ भनेर जुन मन्तव्य गरेको छ त्यो नितान्तै गलत रहेको बताए। उनले भने-लीगले गरेको कार्यक्रम उनीहरूको कार्यक्रम हो अनि जुनै पनि कार्यक्रम पालन गर्नु नगर्नु जनताको इच्छा हो। अर्कोतिर काङ्‌ग्रेसका दिलीप प्रधानसित जान्न चाहँदा लीगको कार्यक्रममाथि कुनै मन्तव्य नगर्ने बताए। यसरी नै गोरामुमो सी-का अध्यक्ष कर्णल डी.के. प्रधानसित जान्न चाहँदा उनले लीगको कार्यक्रमलाई आफ्नो पूर्ण समर्थन रहेको जनाए। उनले लीगले जनतालाई सचेत गराउने कार्य गरेको बताउँदै कुनै पनि दल त्यसैकारण कुनै पनि दलको विरूद्धमा त्यस्सै नबोल्ने बताउँदै उनले भने-लीगले जनतालाई एउटा मौका दिएको हो। बुझ्नु नबुझ्नु जनताको विचार हो तर गोर्खाल्याण्डको विरोधी को हुन्‌ त्यो भने शीघ्र नै जनताले बुझ्नेछन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें