शनिवार, 27 फ़रवरी 2010
गुप्ती रिपोर्टको खुलासा गर भन्ने दलहरूलाई गुरूङको पुरानै जवाब
कालेबुङ,27 फरवरीः पहाड़का अन्य दलहरू अनि जनताले मोर्चाको गुप्ती रिपोर्ट वार्ताको अघिल्लो दिनमात्र हेर्न पाउने भएको छ। आज गोजमुमो अध्यक्ष विमल गुरूङले यसै कुरालाई अघि राख्दै वार्तामा जानअघि मात्र गुप्ती रिपोर्टको खुलासा गर्ने पक्कापक्की कुरा गरे। जब गोर्खालीग अध्यक्ष मदन तामाङले मोर्चालाई गतिलै आरोप लगाउँदै शीघ्र नै मोर्चाले दागोपापलाई नै क्षमतावृद्धि गराएको अर्को व्यवस्था गोर्खाल्याण्डको साटो भित्राउन लागेको कुरा बताएपछि मात्र अघिबाट नै केन्द्रलाई पठाइसकेको गुप्ती रिपोर्टबारे मोर्चाले खुलासा गरेको थियो। जोन बनाउन 28 न.समष्टी पुगेका विमल गुरूङले झन्नै मदन तामाङलाई नै जवाब दिँदै दागोपाप भङ्ग गरेपछि बहाली गर्ने व्यवस्थाबारे केन्द्रलाई आफै नै गुप्ती रिपोर्ट पठाएको अनि नाम मात्र परिवर्तन गरेको बताएका थिए। तर नाम दागोपापको हो कि गोर्खाल्याण्डको परिवर्तन गरेको हो त्यसबारे कुनै स्पष्ट कुरा अघि आएको छैन। गुरूङले त्यो गुप्ती रिपोर्टमा डुवर्स अनि सिलगढ़ीलाई पनि फाइदा रहेको बताएका थिए। किन भने दागोपाप केवल पहाड़को निम्ति मात्र थियो। यसकारण दागोपापको साटो बहाली गरिने मोर्चाको गुप्ती रिपोर्टमा कैद व्यवस्थाले डुवर्स र सिलगढ़ी तथा तराईलाई पनि फाइदा दिने भनिएको हो कि भन्ने लख सबैले काटेका छन्। अहिलेसम्म गुप्ती रिपोर्टमाथि सबैले विभिन्न अनुमानहरू मात्र लगाएका छन् किन भने मोर्चाले नै गुप्ती रिपोर्टबारे खुलस्त नगरेको कारण लख काट्ने वातावरण जन्मिएको छ। गुप्ती रिपोर्टको कारण नै आलोचकदल वा विपक्षी दलहरूले मोर्चालाई विभिन्न आरोपहरू लगाइरहेको छ। आरोपहरूमा स्पष्ट रहेको कुरा भने मोर्चा पारदर्शी नरहेको कुरा नै अघि आएको छ। आलोचकहरूले जनताको मुद्दामा गुप्ती भन्ने कुरा नआउने, केन्द्रलाई पठाएको कुरा राज्यलाई नबताई बहाली गरिन नसकिने भएपछि मोर्चाले भनेको गुप्ती केवल जनता अनि पहाड़का अन्य दलहरूको निम्ति मात्र रहेको कारण मोर्चालाई शीघ्र नै पारदर्शी बन्नको निम्ति वार्ता अघि जनतालाई गुप्ती रिपोर्टमाथि बहस गर्न, आलोचना गर्न, राम्रो नराम्रो कुरा छुट्याउन धेरै समय दिइएको हुनुपर्ने कुरा अहिले चलिरहेको छ। आलोचकहरूको भनाई छ-वार्तामा जान अघि गुप्ती रिपोर्ट जनबहसमा आएको हुनु पर्छ। जनसहमति पाएपछि मात्र गुप्ती रिपोर्टमा उल्लेख गरिएको अदृश्य व्यवस्थालाई बहाली गरिनेबारे निर्णय गरिनु पर्छ। तर आज मोर्चा अध्यक्ष विमल गुरूङले अहिलेसम्म गुप्ती रिपोर्टमाथि भइरहेका सम्पूर्ण टिप्पणीहरूको जवाबमा पुरानै अड़ान दोहोर्याए। उनले वार्ताको तारिक पक्का भइसकेपछि अनि मोर्चा डेलिगेशनमा जान अघि मात्र गुप्ती रिपोर्टको खुलासा गरिने बताउँदै भने-डेलिगेशनमा जान अघि जनता अनि पहाड़का दलहरूको हात-हातमा गुप्ती रिपोर्ट थमाएर दिल्ली गएको हुनेछौं। मोर्चाले गुप्ती रिपोर्टको कुरा गर्ने वित्तिकै हाहाकार मच्चियो। गुप्ती रिपोर्टबारे छिट्टो बताउ भनिरहेको छ। हामीले भनिदिएका छौं, दिल्ली जानअघि हामी सबैको हात-हातमा दिएर जानेछौं। त्यसपछि हेरोस् यो मूर्ख विमल गुरूङले कस्तो रिपोर्ट बनाएको रहेछ। अल पार्टीलाई पनि दिन्छौं, हेरोस् विमलको बुद्धिलाई। गुप्तीमा सबैलाई फाइदा छ। त्यहॉं छलकपट छैन। मोेर्चा छलकपट गर्ने पार्टी होइन। हो, नाम मात्र परिवर्तन गरेका छौं। हाम्रो रिपोर्टले केन्द्रलाई साह्रो पारेको छ। टाइम दिएर पनि केन्द्रले वार्ता गर्न सकेको छैन। हामी इन्तजारमा छौं। हामीले इन्तजार गर्दा तर राजनैतिक विभेद् ल्याउने जन अन्योलता ल्याउने कार्य हुँदैछ। आज पनि उनले गुप्ती रिपोर्टले सबैलाई फाइदा गर्ने कुरा नै बारम्बार दोहोर्याए। दागोपापलाई गोर्खाल्याण्डको कुरा अघि बढ़ाउन मार्ग प्रशस्त गर्न मात्र भङ्ग गरिनु पर्ने कुरा राजनैतिक विश्लेषकहरूको छ। तर अहिले दागोपाप भङ्ग भएपछि एउटा गतिलै क्षमता भएको व्यवस्था नै बहाली हुने तर्खरमा मोर्चा अनि सरकार रहेको देखिएको छ। यसै पनि मोर्चाले गुप्ती रिपोर्टको कुरा अघि आएपछि निक्कै विवादस्पद् टिप्पणीहरू दिइसकेको छ। मोर्चाले गुप्ती रिपोर्ट भन्नेकुरा राज्यको क्षमताको बराबरको रहेको अनि विधानसभा चुनाउसम्मको निम्ति मात्र रहेको बताइसकेको छ। यसै कुरामा पनि आलोचकहरूले विभिन्न टिप्पणीहरू गरेका छन् जसमा एक वर्षको निम्ति हुने व्यवस्था राज्य बराबर झमताको किन? विधानसभा पछि भने गोर्खाल्याण्ड हुन्छ भन्ने पक्कापक्की छ त भन्ने प्रमुख रहेको छ जसको चित्तबुझ्दो जवाब मोर्चाले दिएको प्रेस बयान अघि आएको छैन। वास्तवमा मोर्चाले रिपोर्टलाई राज्य र केन्द्रमा उदाङ्गो बनिसकेपछि पनि गुप्ती नै राखेको कारण मोर्चालाई विभिन्न शङ्काको दृष्टिले हेरेको देखिएको छ। कतिले त मोर्चाले वार्ताको एकदिनअघि मात्र खुलासा गर्ने कुरामा पनि शङ्का गरेको देखिएको छ। उनीहरूको शङ्का के मा हो भने मुद्दा जनताको निम्ति हो भने आफ्नो निम्ति हुने कुरा जान्ने समय केवल एकदिन मात्र हो? भन्ने हो। मोर्चालाई वार्ताको एकदिन अघि मात्र रिपोर्टको खुलासा गर्नु पर्ने के बाध्यता छ? भन्ने हो। एकदिन मात्र समय दिएर त्यसलाई बुझ्न नै नपाई मोर्चाले वार्तामा रिपोर्टमा उल्लेख गरिएको व्यवस्था छिराउने त होइन? भन्ने हो। त्यसै कारण नै मोर्चालाई विभिन्न पक्षबाट रिपोर्टबारे शीघ्र खुलासा गर्नु पर्ने चाप दिएको देखिएको छ। तर जति नै चाप दिएपनि मोर्चा भने अड़िग देखिएको छ। आजको जनसभाले मोर्चा यस कुरामा पक्कापक्की अड़िग रहेको अनि वार्ताको अघिल्लो दिनमात्र रिपोर्टबारे खुलासा गर्ने पक्षमा रहेको स्पष्ट भएको छ। गुप्ती रिपोर्टमाथि विभिन्न शङ्काहरू अघि आएको छ। जसमा मोर्चाले वन, पर्यटन, कृषि,चिया, कलैनबगान अनि अरू पनि आफै सञ्चालन गर्ने अधिकार मागेको अनि केन्द्रले सोझै वित्तिय अनुमोदन गर्नु पर्ने जसमा राज्यको हस्तक्षेप हुननहुने जस्ता कुराहरू रिपोर्टमा हुनसक्ने कुराहरू भने व्यापकरूपमा चर्चा भइरहेको छ। तर यी कुराहरू केवल शङ्का मात्र रहेको कारण अनि मोर्चाले अहिले मुख नखोल्ने अड़ान लिएको कारण कुनै कुरालाई पनि विश्वास गरिहाल्न नसक्ने परिवेश उपार्जन भएको छ।
जोनल कमिटीले पहिले पक्राउ दिने
सामूहिक पक्राउःअरूदलको निम्ति परीक्षा
कालेबुङ,27 फरवरीः भोलिदेखि शुरू हुने सामुहिक पक्राउ दिने कार्यक्रमलाई गोजमुमोले पहाड़का अन्य दलहरूको परीक्षाको रूपमा पनि लिएको मोर्चाले गर्ने टिप्पणीहरूले स्पष्ट पारेको छ। आजको एक जनसभाबाट पनि मोर्चा अध्यक्ष विमल गुरूङले यसै कुरालाई अघि राख्दै सामूहिक नेतृत्वको कुरा गर्ने दलहरूमाथि इङ्गित गर्दै भने- भोलिदेखि मोर्चाले सामुहिक पक्राउ दिनेछ। हामी हेर्छौं सामूहिक नेतृत्वको कुरा गर्नेहरूले आफ्नो कार्यकर्ताहरूलाई पनि पक्राउ गराउँछ कि गराउँदैन। पेपरमा बोल्ने अनि सामूहिक नेतृत्वको कुरा गर्नेहरूलाई सामूहिक पक्राउ गर्ने कार्यक्रममा वेलकम छ। मोर्चाको राजनैतिक कार्यक्रम रहेको कारण अन्य दलहरूले यस कार्यक्रममा अंशग्रहण गर्ने सम्भावना भने कमै देखिन्छ। मोर्चाले यस अघिको कुनै पनि कार्यक्रममा खुलेर आफ्नो कार्यक्रममा अरू दलको सहभागिता हेर्ने कुरा नगरेपनि यसचोटीको कार्यक्रममा भने जनसभाहरूबाट बारम्बार अरू दललाई पनि परख गर्ने कुरा दोहोर्याइरहेको छ। मोर्चालाई नै कार्यक्रम गर्न दिँदै आफ्नो दलको कार्यक्रम नगर्ने दलहरूलाई भने विमल गुरूङको यसप्रकारको टिप्पणी निक्कै गम्भीर हुने देखिएको छ। आज गुरूङले पहाड़का दलहरूको नाड़ी छामीसकेको अनि शुरूमा सबैलाई लिएर कार्यक्रम गरेपनि वास्तविकतादेखि वाहिरको कुरा गरेर जनतामा अन्योलता सृजना गरेको कारण अलपार्टीको च्याप्टर नै क्लोज गरेको कुरा गरे। उनले भने-कलेक्टिभ लिडरशीपको कुरा गर्नेहरूलाई हामीले हेर्यौं। नाराजुलूसमा लिप्त गरायौं। तर कहिले पनि 40 वर्ष राजनीति गर्नेहरूले राम्रो नजरले हेरेन। मैले भनें सही कुरा गर, राम्रो काम गर,तर जहिले पनि नराम्रै मात्र भन्छ। हाम्रो नेतृत्वमा काम गर्नु पर्छ भन्ने भावना राख्नु हुँदैन। कसैले पनि उन्मुक्ति पाएको थिएन। विमल गुरूङले जनतालाई मात्र होइन पार्टीहरूलाई पनि उन्मुक्त गरेको हो। स्वतन्त्र गरेको हो। तर वेशी स्वतन्त्र भएछ। जहिले पनि नराम्रै मात्र भन्छ। हामी कसैलाई पनि टिप्पणी गर्दैनौं। 2010 मेरो भिजन थियो तर हुन सकेन। गोर्खाल्याण्ड मेरो भिजन हो। विकास गर्ने पनि मेरो भिजन हो। घिसिङलाई दसपैसाको निम्ति पनि सोध्नु पर्थ्यो तर मलाई करोडौं रूपियॉंको निम्ति पनि सोध्नु पर्दैन। विकाससित नै आन्दोलन गर्नु पर्छ। भित्ता भत्किएको छ, बनाउनु पर्छ। बाटो छैन, बनाउनु पर्छ। गोर्खाल्याण्ड हुन्छ भनेको छु हुन्छ नै। उनले आजदेखि सामूहिक पक्राउ दिने कुरा गर्दै मोर्चाको सबै फ्रण्टल अर्गनाइजेशनले यस कार्यक्रममा भाग लिने बताए पनि केन्द्रीय कमिटीको भने नाम लिएनन्। उनले सबै भन्दा अघि जोनल कमिटीले जेल भर्ने पनि बताए।
तेह्रौं पारसमणि पुरस्कार केदार गुरूङलाई
शुक्रवार, 26 फ़रवरी 2010
वार्ता नभए आन्दोलन गर्छौं-डा छेत्री
यही कार्यक्रमबाट नै सामुहिक नेतृत्व शुरू हुन सक्छ
अर्कोतिर उनले गोर्खालीग अध्यक्ष मदन तामाङले वास्तविकता नबुझी बिरोध गरिरहेको बताउँदै भने-मदन तामाङलाई थाहा छ हामीले प्रत्येक वार्तामा गोर्खाल्याण्डको मात्र कुरा गरेका छौं। वार्तामा गोर्खाल्याण्ड कि गोर्खाल्याण्ड भनिँदैन। वार्तामा नै बसेको भए पो वार्ता कसरी हुन्छ भन्ने कुरा थाहा हुन्थ्यो। कराई हेरेर चर्को छ भन्नु गलत कुरा हो। पकाउनेलाई नै थाहा हुन्छ नी चर्को हो कि पिरो हो। स्वस्थ आलोचनाको सधैँ कदर गर्छौं तर बुझेर पनि निदाएको अभिनय गर्नेको निम्ति औषधी छैन। उनले जेलभरो कार्यक्रमको उल्लेख गर्दै मोर्चाले सबैदल एक हुन सक्ने सम्भावना रहेको कार्यक्रम गरेको बताउँदै भने-हुनसक्छ यही कार्यक्रमबाट नै सामुहिक नेतृत्वको शुरूवात हुनसक्छ। किन भने यो कार्यक्रम मोर्चाको व्यक्तिगत स्वार्थको निम्ति गरेको होइन।
कालेबुङमा 22 हजार 4 सय 36 ऐकर खाली जमीन
तरैपनि भूमिहीनहरूलाई किन बॉंड्दैन?-सुन्दास
कालेबुङ, 26 फरवरीः भारत सरकारले 10 फरवरी2006 को दिन अध्यादेश जारी गर्दै शरु गरेकोे चास-बास भूमिदान प्रकल्प अनुसार बीपीएल, ए.ए,वाई अनि अल्पसंख्यकहरू जोसित जमीन छैन उनीहरूलाई सरकारीरूपमा भूमि दिनु पर्ने भए पनि अहिलेसम्म पहाड़का सरकारी निकायले यो अधिकारको हनन गरेको छ। सरकारले यो प्रकल्पको निम्ति वर्षेनी 10 करोड़ रूपियॉं छुट्याउने गरेको छ तर पॉंच वर्ष बित्यो यो प्रकल्पको सुविधा पहाड़वासीले पाएको छैन अनि यसको कारण हो निकायमा बस्ने अधिकारीहरूको दायित्वहीनता। भारत स्वतन्त्र भयो भन्छन् तर हाम्रो जनता दलाल नोकरशाहीहरूको चङ्गुलबाट स्वतन्त्र छैनन्। अब पहाड़का जनताले आफ्नो अधिकारको निम्ति दलाल नोकरशाहहरूको बिरूद्धमा सङ्ग्राम गर्नु पर्छ। उक्त कुरा माकपा आञ्चलिक समितिका तारा सुन्दासले पत्रकारहरूलाई अवगत गराउँदै सम्बन्धित निकायले पहाड़का मानिसहरूलाई उनीहरूको अधिकारबाट यत्रोवर्ष बञ्चित राक्ने कार्य गर्दै आफ्ने दायित्वहीनताको प्रदर्शन मात्र होइन सरकारको आदेशको उलङ्घन समेत गरेको बताए। उनले पहाड़का बी.पी.एल,ए.ए.वाई अनि अल्पसंख्यकहरू अझ पनि भूमिहीन नै रहन परेको अनि जमीनको मामिलामा विभागले अहिलेसम्म कुनै पनि सचेतनामूलक कार्यक्रम, सरकारी आदेशको जानकारी अनि यस सम्बन्धमा कुनै पनि आधिकारिक पहल नगरेर अन्याय गरेको बताउँदै यसै सम्बन्धमा महकुमा भूमि अनि भूमि सुधार अधिकारी कुमार भूषालसित भेटघाट गर्दै भूमिहीनहरूलाई शीघ्र नै मालिकाना हक दिलाइनु पर्ने माग गर्दै ज्ञापन चढ़ाएको बताए। उनले भने-प्रकल्प अनुसार भूमिहीन, घरहीन तथा प्रकल्पको सुविधा प्राप्त गर्न पाउने वर्गलाई 16 देखि 25 डेसिमलसम्म जमीन दिने प्रावधान छ। तरै पनि प्रकल्प अनुसार उनीहरूलाई जमीन दिने कार्य त के यस सम्बन्धमा उनीहरूलाई अवगत गराउन कुनै कार्यक्रम धरी गरेको छैन। जमीन नभएर नदिइएको हो भने पनि यसै सम्बन्धित विभागले खण्ड-एक मा 824, दुइमा 1074 अनि तीनमा 20448 ऐकर जमीन मान्छे बस्न लायकको छ भनेर सरकारलाई रिपोर्ट बुझाएको छ। तरै पनि किन बॉंड़्दैन? कालेबुङको डीआई फण्ड अनि डेभलोपमेन्टमा पनि खाली जमीन छ। माकपाले भनेको छ अब यी खाली जमीन शीघ्रनै सम्बन्धित वर्गलाई वितरण गरिनु पर्छ। उनले अधिकारीले लोलेमा 5 ऐकर 48 डेसिमल जमीन लिएको जो निम्बोङ-पेशोकका पैह्रो पीड़ितहरूलाई वितरण गर्ने प्रबन्ध मिलाइरहेको अनि काङ्केबुङमा 64 डेसिमल जमीन किने जो चार परिवारलाई वितरण गर्ने प्रबन्ध मिलाएको बताए पनि अन्यत्र जमीन नै नपाएको बताएको भन्दै भने-विभागीय अधिकारीले यस्तो कुरा गरे पनि प्रिमतामका एक व्यक्तिले विभागलाई 2007 मा सरकारी मूल्यमा नै सरकारलाई जमीन नहुनेहरूको निम्ति वितरण गर्न आफ्नो जमीन बेच्न दर्खास्त पनि गरेका हुन् तरै पनि अहिलेसम्म कुनै पहल गरेको छैन। यस्तो खेलाईंची गर्नुको कारण के हो? उनले पहाड़भरिमा दार्जीलिङमा 20,448,कालेबुङमा 8,244, खरसाङमा 28,590 ए.ए.आई परिवार अनि बीपीएल 95,052 परिवार रहेको भए पनि कसैले पनि चास-बास प्रकल्प अनुसार अधिकार नपाएको खुलासा पनि गरे। उनले यसबाहेक पनि कालेबुङ महकुमाको डेभलोपमेन्ट एरिया अनि पीडब्ल्यूडी विभागको जमीनमा पुस्तौंदेखि बसोबासो गर्दै आइरहेका नागरिकहरूलाई पनि शीघ्र नै जमीनको मालिकना हक दिनु पर्ने माग पनि गरेका छन्। उनले भने, 19 फरवरी 2010 को दिन कलकत्ताको सचिवालयमा भएको बैठकमा कुनै पनि नागरिक सरकारी जमीनमा बीस वर्षअघिदेखि बस्दै आइरहेको छ भने उसलाई एक रूपियॉं खजनाको दरमा (वर्षेनी) 99 सालको निम्ति लिजमा दिने निर्णय भएको छ। यस निर्णय अनुसार पहाड़का जनताले पनि यस सहुलियतको उपभोग गर्न पाउनु पर्छ। उनले विभागले शीघ्र नै उनीहरूलाई उनीहरूको अधिकार उपलब्ध गर्नु पर्ने अनि जमीन मामिलामा सरकारले दिएको अधिकार हासिल गर्नको निम्ति पहाड़का जनता सचेत भएर अघि आइदिने अपील पनि गरेका छन्। उनले आफूले चढ़ाएको ज्ञापन जिल्ला भूमि सुधार अधिकारी समक्ष पठाइएको जानकारी पाएको बताउँदै अधिकारीहरूले यसबारे खेलाइँची गर्न नपाउने अनि नागरिकलाई न्यायपूर्ण व्यवहार गर्ने आशा गरिएको पनि बताएका छन्।
गुरुवार, 25 फ़रवरी 2010
कालेबुङ नागरिक अधिकार मञ्चले सोध्यो मोर्चालाई
कालेबुङ, 23 फरवरीः गोजमुमोलाई निक्कै नजिकबाट परख गर्दै आइरहेको कालेबुङ नागरिक अधिकार मञ्चले मोर्चामा देखापरिरहेको कार्यशैलीमा विचलन, जनपीड़क कार्यक्रम, कार्यक्रमहरूमा देखिएको लचिलोपन,अनुशासनहीनता अनि मोर्चाले उपार्जन गरेको अन्योलताबारे मोर्चालाई सोधखोज गर्यो। ठाकुरबाड़ीको शनी मन्दिर सभागृहमा मोर्चा प्रतिनिधिहरूसित एक अन्तरक्रियात्मक भेटघाट गर्दै मञ्चका कार्यकर्ताहरूले पर बसेर अनुभव गर्दै आइरहेको मोर्चाको हानिकारक कार्यव्यवहारबारे जायजा लिँदै उपयुक्त सुझाउहरू पेश गर्यो। यस भेटघाटमा मञ्चको पक्षमा अध्यक्ष एन.पी दिक्षीत, संयोजक जे.एन.प्रधान, कोरकमिटी प्रतिनिधिहरू नारायण गजमेर, के.के.दिक्षीत, पी.के.प्रधान, सी.के.प्रधान, पी.टी.शेर्पा, संयोगिता सुब्बा, शिक्षाविद् पी.आर.प्रधान, शमशेर अली लगायत अन्यको उपस्थिति रहेको थियो भने मोर्चा पक्षबाट मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्री,कल्याण देवान, देशभक्त सुब्बा, तोपदेन भोटियाले उपस्थिति दिएका थिए। मञ्चका प्रतिनिधिहरूले अधिकार मञ्चले मोर्चालाई कसरी हेरिरहेको छ भन्ने कुरा अवगत गराउँदै मोर्चामाथि सबैको आस्था रहेको भएपनि मोर्चाले पारदर्शी कार्यशैली नअप्नाइरहेको, दादागिरी, अनुशासनहीनता, कार्यकर्ताहरूले मनोपोली, महकुमा कमिटीमा ग्रुपिज्म, कार्यक्रमहरूमा खेलाईंची देखिएको अवगत गराउँदै मुद्दा जनताको भएको कारण जुनसुविधा अनि जनाकांक्षा मूलक कार्यक्रमहरू हुनुपर्ने अवगत गराए। उनीहरूले मोर्चा आफैले सबै कुराको निर्णय नलिएर आमसहमति जुटाउँदै, जनतामा पारदर्शी व्यवहार देखाएर निर्णयहरू लिए असफल हुने सम्भावना नरहने पनि जनाए। मञ्चले मुद्दालाई फाइदा हुने अनि कार्यक्रम प्रभावकारी हुने अनेक लिखित सुझावहरू पेश गरेपनि अहिलेसम्म त्यसको कुनै जवाब नदिएको कारण मोर्चामा बुजुर्गहरूबाट सल्लाह लिने संस्कार नदेखिएको अनि मनपरि कार्यक्रमहरू गरेर मोर्चा आफैले जनताको आत्मविश्वासमा चोट पारिरहेको कुरा पनि अवगत गराइएको थियो। कार्यक्रमहरू गर्नु अनि त्यसको कुनै उपलब्धी नभइ फिर्ता लिनु, कार्यक्रम बनाउँदा त्यसले गर्ने फाइदा अनि हानीहरूबारे कुनै पर्वाह नगरिनु, मनपरि घोषणाहरू गर्नु अनि त्यसलाई कार्यरूप नदिइनु, बोल्दा कुराको गरिष्टताको ख्याल नगरिनु जस्ता स-साना कुराहरूको कारण मोर्चाले सचेतवर्गबाट विश्वास हराउन सक्ने जस्ता कुरामा सचेतता नदेखाइनु दोषहरू देखिएको मञ्चका अघिकारीहरूले आफ्नो तरिकाले मोर्चा प्रतिनिधिहरूलाई बताए। मोर्चा पक्षबाट डा.हर्कबहादुर छेत्रीले शुरूवाती क्षणमा मोर्चाले एकैचोटी धेरै कार्यक्रमहरू गर्नु परेको कारण साङ्गठनिक एकबद्धता, अनुशासन, कार्यनीति, कौशलगत व्यवहार देखाउने मौका नपाएको कारण, अनि मोर्चा कलिलै भएको कारण अनि केन्द्रियस्तरमा कार्यगर्नु परेको कारण मोर्चाबाट धेरै भूलहरू भएको हुनसक्ने बताउँदै अहिले मोर्चाले यी नै कुराहरूलाई बलियोगरी निर्वहन गराउने पक्षमा ध्यान दिइरहेको बताए। उनले अहिले मोर्चालाई यस्ता स्वस्थ सुझावहरूको आवश्यक्ता रहेको अनि मञ्चले पनि आफ्नो सुझाउहरू दिएर मोर्चालाई अनि मुद्दालाई बलियो गराउन सहयोग गर्ने मोर्चाले अपेक्षा गरेको पनि बताए
मोर्चा टोली स्यालदा जाने
कालेबुङ, 23 फरवरीः गोजमुमोले पहाड़मा हुलिएको सीआरपीसित जनता डराउन नहुनेकुरामा जनतालाई बारम्बार सचेत गराउँदै आइरहेको छ। जति ठाउँ पनि जोनल कमिटी गठन गर्न जनसभाहरूको आयोजना भइरहेको छ अहिले त्यहींबाट मोर्चा अध्यक्ष विमल गुरूङले आफ्ना कार्यकर्ताहरूलाई सीआरपी पहाड़ छिराउनु बङ्गालको षड़यन्त्र रहेको अनि मोर्चाले गान्धीनीतिमा आन्दोलन गर्ने भएकोले जनता डराउनु पर्ने कारण नरहेको बारम्बार बताइरहेका छन्। आज पनि डुङ्ग्राको खेलमैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै विमल गुरूङले मोर्चासित बङ्गाल सरकार हारिसकेको अनि मोर्चाले सफलता प्राप्त गर्ने देखेर पहाड़को शान्ति भङ्ग गर्न सीआरपी हुलेको आरोप लगाए। उनले भने-हामी दङ्गा फसाद गर्दैनौं। सीआरपीलाई कसैले ढुङ्गा नहान्नु। सीआरपी हुलेर बङ्गालले झगड़ा सृष्टि गर्न चहान्छ। मोर्चालाई गलत देखाउन राज्य सरकारले नै माकपा क्याडरहरू लगाएर तोड़फोड़ गरिरहेको छ। कोही नडराउनु। तर सतर्क बस्नु। यतिबेला बिरोधीहरूले मौका लिन सक्छ। उनले सङ्गठनहरूलाई सतर्क गराउँदै नारी मोर्चाको कार्यक्रममा युवा मोर्चा पस्नु नहुने बताउँदै भने,युवा मोर्चाको जति पनि कार्यक्रम हुन्छ दिउँसो मात्र हुन्छ। राती गर्दैन। उनले सरकारलाई 72 घण्टाको समय दिइसकेको अनि यो अवधी पूर्ण हुने बित्तिकै सामुहिक गिरफ्तारी शुरू हुने अनि यसको निम्ति सङ्गठनहरूलाई तयार बस्ने निर्दैश दिइसकेको बताए। यो कुरा भन्दा भन्दै उनले सामुहिक नेतृत्वको कुरा गर्ने पहाड़का अरूदलहरूलाई पनि यसै कार्यक्रम अन्तर्गत परख गरिने बताउँदै भने-हामी हाम्रो मान्छेलाई बिनादोष यन्त्रणा दिन दिनेछैनौं। सीआरपी हुलेर जुन आतङ्क मच्चाइरहेको छ,यसको बिरोध गर्छौं। यसैकारण सामुहिक गिरफ्तारी दिएर बङ्गालको जेल भर्नेछौं। यतिबेला सामुहिक नेतृत्वको कुरा गर्ने नेताहरूलाई हेर्नु पर्छ। उनीहरूले आन्दोलनलाई नेतृत्व दिन्छ कि दिँदैन,हेर्नु पर्छ। मोर्चाले उनीहरूको प्रतीक्षा गर्नेछ। उनले जीएलपीको कुरा उठाउँदै आज पनि गोर्खाल्याण्डको पुलिस बनाउन जीएलपी गठन गरिएको अनि आन्दोलनभरि जीएलपीले समाजसेवा गर्ने बताए। उनले जीएलपीलाई मोर्चाले गलत ट्रेनिङ नदिएको अनि कुनै पनि क्याम्पमा हातहतियार नरहेको कुरा पनि बताए। उनले सीएरपी पहाड़ हुल्नुको कारण विधानसभा चुनाउ रहेको बताउँदै भने-माकपाको पतन भइरहेको छ। यसकारण पहाड़मा आतङ्क मच्चाएर भोट बटुल्ने षड़यन्त्र गरिरहेको छ। चुनाउलाई नै ताकेर माकपाले गोरामुमो हुल्ने कोशिष गरिरहेको, पहाड़का कतिपय दललाई अघि लगाएर पहाड़मा राजनैतिक अस्थिरताको वातावरण बनाइरहेको, सीआरपी हुलेर जनतालाई डर देखाइरहेको, गोर्खा सिपाहीहरूको हत्या गरिरहेको, घर, थाना जलाएर मोर्चालाई आरोप लगाइरहको पनि बताए। जनसभापछि विमल गुरूङले पत्रकार सम्मेलन डाक्दै मोर्चाको एक टोली स्यालदाको भ्रमणमा जाने तयारीमा रहेको बताए। उनले भने-बङ्गाल सरकारले सुनियोजित ढङ्गले यो घटना जन्माएको हो। यसकारण त्यसक्षेत्रमा सरकारले कुनै निरीक्षण गरेको छैन। त्यहॉं आतङ्क मच्चाएर राखेको छ। यसकारण त्यसठाउँको भ्रमण मोर्चाले गर्नेछ। त्यहॉं पनि गोर्खाहरू छन्,जो असुरक्षित छन्। उनीहरूको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ।
रविवार, 21 फ़रवरी 2010
जनतालाई उग्र बनाउने राजनीतिको विकास?
मोहन बगान एकाडेमीले छान्यो कालेबुङका 10 खेलाड़ी

कालेबुङ, 21 फरवरीः भारतीय फुटबल विकासको निम्ति फुटबलरहरू छान्दै मोहनबगान पीसीएम एकाडेमीका मुख्य प्रशिक्षक एवं भारतको भूतपूर्व खेलाड़ी प्रणव गाङ्गुली आज कालेबुङ आइपुगे। उनीसित संयोजक सुवास सरकार अनि सन्तानु बीसे पनि साथ थिए। मेला ग्राउण्डमा कालेबुङका युवा खेलाड़ीहरूको खेलकौशल जॉंच्दै खेलाड़ीहरूसित उनी भनिरहेका थिए-यो एउटा राम्रो मौका हो यसकारण आफ्नो कौशललाई खुलेर प्रदर्शन गर्नुहोस्। पत्रकारहरूसितको बातचितमा उनले भन्दैथिए- पहाड़का खेलाड़ीहरूमा खेलकौशल प्रशस्त हुन्छ तर उनीहरूले त्यसलाई उचित ठाउँमा प्रदर्शन गर्न पाइरहेका हुँदैनन्। यही कुरालाई अघि राखेर उनीहरूलाई राष्ट्रिय मैदान दिने हाम्रो उद्देश्य हो। एकाडेमीले खेलाड़ीहरू छनौट गरेर उनीहरूलाई प्रशिक्षण दिने अनि राष्ट्रियस्तरको खेलहरूको निम्ति तयार पार्ने बताउँदै संयोजक सुवास सरकारले भने-आज खेलाड़ीहरूले खुबै राम्रा प्रदर्शन गरे। उनीहरूमा प्रशस्त सम्भावनाहरू देखिएका छन्। त्यसलाई खारेर उनीहरूलाई उचित तक्निकहरूबारे सिकाइयो भने देशमा नै श्रेष्ठ खेलाड़ी बन्न सक्छन्। कालेबुङको केएसएले पहाड़का युवा खेलाड़ीहरूलाई पहाड़मा मात्र सिमित नराखेर चर्चित फुटबल क्लबसम्म पुर्याउने प्रयास गर्दै आइरहेको छ। आज पीसीएम मोहन बगान एकाडेमीले मेलाटारमा कालेबुङ, गोरूबथान लगायत दार्जीलिङबाट 115 जना खेलाड़ीहरू उपस्थित बनेका थिए। ती खेलाड़ीहरू मध्ये 10 जना फुटबल खेलाड़ीहरूलाई एकाडेमीले छनौट गरेका छन्। यीमध्ये 5 जनालाई भोलि नै प्रशिक्षणको निम्ति जलपाईगढ़ी लगिने भएको छ भने अन्य पॉंचजनालाई खेलाड़ीहरूको दशौं र बाह्रौं श्रेणीको परीक्षालाई मध्यनजर गरेर अलिक पछि लगिने केएसएका अध्यक्ष उर्गेन लामाले बताएका छन्। आज छनौट भएका खेलाड़ीहरूलाई एकाडेमीले नै पठन-पाठन अनि प्रशिक्षणको निम्ति प्रायोजना गरिदिने भएको छ भने खेलाड़ीहरूले भोलिदेखि नै फुटबलको प्रशिक्षण लिनेछन्। भोलि नै जलपाईगढ़ी प्रस्थान हुने युवाहरूमा कालेबुङबाट जोसेफ छेत्री, छेवाङ शेर्पा, निम्बोङबाट छो छिरिङ लेप्चा, गोरूबथानबाट रमेश तामाङ अनि दार्जीलिङबाट जेबासिस प्रधान रहेका छन् भने केहीदिनपछि प्रस्थान हुनेहरूमा मङ्गपूबाट नासीब तामाङ, लाभाबाट समित गुरुङ, दार्जीलिङबाट आदर्श गुरुङ, कालेबुङबाट छिरिङ भोटिया अनि अलगढ़ाबाट देवाशिष राई रहेका छन्।
दिलीय चरित्रमाथि शङ्का तीब्र
गोजमुमोले वार्ता 9 अनि 10 फरवरीभित्र हुनसक्ने बताए पनि त्यसो नगरिएको कारण खोल्दै आफूहरूले पठाएको गुप्ती रिपोर्टबारे छलफल भइरहेको कारण वार्ताको मिति तय नगरिएको हुनसक्ने मोर्चा अध्यक्ष विमल गुरूङले बताएका छन्। अहिलेसम्म वार्तामाथि पनि थुप्रै विवाद अघि आएको छ। कतिपय आलोचकहरूको किटान नै छ कि अहिलेसम्म वार्तामा गोर्खाल्याण्डको कुरा नै भएको छैन। मोर्चाले तर भइरहेका वार्ताको लक्ष्य गोर्खाल्याण्ड नै रहेको बताएको छ। वार्ता पॉंचौ स्तरमा आइपुग्दा पनि वार्ताबारे उठेको विवाद त्यत्तिकै छ। मुद्दा एउटै रहे पनि पहाड़मा सर्वदलीय सहमति अहिलेसम्म जुटेको छैन। गोजमुमोले पनि सर्वदलीय सहमति जुटाउँदै मुद्दालाई तर्कयोग्य अनि विवादरहित बनाउने कुरालाई महत्त्व दिएको छैन भने अन्य दलहरू पनि आफै अघिसरा नभएर धाक र घुर्की समातेर बसेकोले नै राजनैतिक द्वन्द्व र अन्योलता चर्किएर गइरहेछ। तर पॉंचौं वार्ताको मिति तय नहुनुको कारण मोर्चाले पठाएको सेटअपमाथिको छलफल हुनुले पनि थुप्रै कुराको सङ्केत दिएको छ। एक त वार्ता सेटअपको निम्ति महत्त्वपूर्ण भइरहेको हो कि गोर्खाल्याण्डको निम्ति भन्ने कुरा नै स्पष्ट छैन। राजनैतिकरूपले गर्ने वार्ता गोर्खाल्याण्डको निम्ति हुनुपर्ने हो तर वार्ता सेटअप तथा गुप्ती रिपोर्टमाथि नै केन्द्रित हुन सक्ने छॉंट देखिएको छ। गुप्ती रिपोर्टमा दागोपापको ठाउँमा क्षमतावान व्यवस्था राखिने अनि त्यसले दागोपापले छोड़ेको डुवर्स र सिलगढ़ीलाई पनि अन्तर्भुक्त गर्ने मोर्चाले अहिलेसम्म दिएको छनक छ। मोर्चा अनुसार नै राखिने त्यो सेटअप एक वर्षको मात्र हुनेछ, विधानसभा चुनाउसम्म। त्यो व्यवस्था झन्नै राज्यको बराबरको हुनेछ। यी नै कुराहरू नै राजनीतिमा अन्योलताको बीज भएको छ जो दिनोदिन बढ्दो छ। आलोचकहरूले प्रश्न उठाएका छन्-एक वर्षको हुने भए त्यत्रो क्षमताको किन? विधानसभा चुनाउपछि राज्यमा आउने कुनै पनि दलले उसो भए गोर्खाल्याण्ड दिइहाल्छ त? यी आलोचनाहरू तर गोर्खाल्याण्डको बिरोध होइन। हो भने दलीय चरित्रमाथि शङ्का मात्र हो। वार्ताको अघिल्लो दिन मात्र गुप्ती रिपोर्टको खुलासा गर्ने अनि जनताले 24 घण्टाभित्र फिडव्याक दिनु पर्ने कुरा अहिले मोर्चाबाट आएको निक्कै विवादित् टिप्पणी रहेकोे छ। मोर्चाको चरित्रमाथि शङ्का गर्दै आएका आलोचकहरूले 24 घण्टामा फिडव्याक दिनुपर्ने कुरालाई निक्कै महत्त्वको साथ लिएर किन 24 घण्टा मात्र? भन्ने प्रश्न उठाए। 24 घण्टाको कुरा संशयपूर्ण रहेको बताए। आरोप लगाइयो-मोर्चाले जनविरोध भएन भनेर गोर्खाल्याण्डको साटो अन्तरिमको नाममा कुनै पनि व्यवस्था बहाली गराउने अनि सत्ता जमाउने हतारो देखाइरहेको छ। मोर्चासित नै सहयात्रा गरिरहेको क्रामाकपाको युवा एकाइ गक्रायुमोले त पोष्टर नै टॉंस्योे। सबैले शङ्का गर्यो मोर्चाले सेटअपमा देखाइरहेको हतारोमा कतै न कतै दालमा कालो छ नै। नत्र विमल गुरूङले जनसभैपिच्छे पैसा चलाउने कुरा किन गछर्र्न्? सरकारले नाड़ी छामेको कुरा किन गर्छन्? यी सबै बहाना हुन्। किन भने सरकारलाई गोर्खाहरूले राज्य चलाउने क्षमता देखाइरहने दर्कार नै छैन। क्षमता नभए राज्यको दावी नै किन गरिन्थ्यो? गोर्खाल्याण्ड चलाउने क्षमता गोर्खाहरूको होइन कतिपय दलका नेताहरूको नहुन सक्छ तर यो त ठूलो कुरा होइन। यसप्रकारका टिप्पणीहरू जतासुकै सुनिए। गक्रायुमोले गरेको शङ्काको जवाबमा मोर्चाले पनि छिट्टै नै खुलासा गर्ने कुरा गर्यो। समीक्षकहरूले यी घटनालाई निक्कै गम्भीरता पूर्वक लिएका छन्। उनीहरू अनुसार हुन पनि मोर्चालाई गुप्ती रिपोर्ट भनिरहनु पर्ने त्यस्तो बाध्यता नै छैन। किन भने जस्तै रिपोर्ट पठाए पनि केन्द्रले राज्य अघि त्यसलाई नराखी त्यसको छलफल नै हुन सक्तैन। मोर्चा अध्यक्ष विमल गुरूङले बङ्गालसित गुप्ती रिपोर्टबारे कुरा गर्दै होला भनेर वार्ताको मिति तय हुन नसकेको कारण बताउनुले मोर्चाले बङ्गालले थाहा नपाओस् भनेर गुप्ती रिपोर्ट पठाएको अनि त्यसको खुलासा नगरेको भनेर दिएको बयान नै विवादित् बनेको छ। उसो भए मोर्चाको गुप्ती रिपोर्ट राज्य र केन्द्रको निम्ति होइन जनताको निम्ति मात्र गुप्ती भयो त भन्ने कुरा समीक्षकहरूले गरिरहेको कुरा छ। मोर्चामा नदेखिएको यही अपारदर्शिता नै अन्योलताको प्रमुख कारण रहेको छ। के के छ त गुप्ती रिपोर्टमा? त्यो रिपोर्ट जनताले जान्न अघि केन्द्रले जान्नु किन अनिवार्य मानियो? केन्द्रले राज्यलाई नदेेखाइ रिपोर्टमाथि छलफल हुन्छ त? मोर्चाले ठानेको सेक्रेसी बॉंच्छ त? जुनै रिपोर्ट पटाए पनि त्यो मुद्दासित केन्द्रित हो भने त्यसलाई जनतासामु पनि गुप्ती किन राखिनु? किनभने मुद्दा मोर्चाको मात्र होइन जनताको हो। जनता भनेको कुनै पनि दलको नितान्त अस्थायी शक्ति हो। जुन शक्तिलाई चिनेर जनाकांक्षा अनुरूप कार्य भएन भने त्यही जनता नै दलहरूको निम्ति खतरा बन्न सक्छ। जनछलफलमा नल्याइ दलको केन्द्रीय टोलीले रिपोर्टबारे राज्यलाई थाहा नदिनको निम्ति गुप्तीरूपमा पठाइएको मन्तव्य वास्तवमा अघिबाट नै खुलासा भए पहाड़मा नै रिपोर्टले विवाद निम्त्याउने सम्भावनादेखि बढ़ी सचेत देखिएको समीक्षकहरूको अड़ान छ। जस्तै रिपोर्ट पठाए पनि जनसहमतिलाई बेवास्ता गरिनु मोर्चाको भूल नै ठहर हुने कुराको पुष्टि अहिले उठिरहेको विवादले दिइरहेको छ। पहाड़को सबै दलले मोर्चालाई शङ्का गर्यो अनि यो शङ्का मोर्चाकै कार्यचरित्रले उपार्जन गरेको समीक्षकहरू ठान्छन्। मोर्चाले दलीय लक्ष्य मुद्दा केन्द्रित रहेको बताए पनि यसलाई प्रमाणित गर्ने कार्यपहललाई पारदर्शी बनाउन सकिरहेको छैन। चिन्ता यसैमा पनि गरिएको छ। मोर्चाले विवादलाई साम्य गराइहाल्नको निम्ति गुप्तीबारे सबैले बुझ्ने गरेर अहिले नै खुलासा गर्न अनिवार्य देखिएको छ। खुलासा भएन भने यसले अझ अन्योलता अनि अपारदर्शी चरित्रको राजनीतिलाई विस्तार गरिरहने कुरा समीक्षकहरूको छ। मोर्चाले भनेजस्तो, हुनसक्छ केन्द्रले राज्यसित गुप्ती र बहाली गरिने व्यवस्थाको निम्ति बहस गरिरहेको छ। उसो भए गुप्ती भन्ने कुरा कहॉं रह्यो? गुप्तीकै कारण मोर्चाको विपक्षी भनिने दलहरूले राजनीति गर्ने बहाना पाएको छ। जो मोर्चाको निम्ति हानिकारक होइन भन्न सकिन्न। तरै पनि मोर्चाले खुलासालाई लिएर देखाइरहेको ढिल्याईंले पनि थुप्रै शङ्का उपार्जन गरिरहेको मोर्चाले थाहा गर्नु पर्ने समीक्षकहरू भन्छन्। गुप्ती, अन्तरिम अनि विकासको कुरा नै अहिले राजनैतिक धारा देखिएको छ, जसले विभिन्न विवाद, अन्योलता, अस्थिरता अनि दलीय मदभेद्को विकास गरिरहेको छ। किन यस्तो स्थितिको विकास गरिइएको छ? यो प्रश्न सचेतहरूले अहिले बारम्बार उठाइरहेका छन्। दलीय दृष्टिकोणमा गोर्खाल्याण्डको विरोध गर्ने जमात पहाड़मा रहे पनि जनविचार त्यस्तो छैन। मुद्दाको विरोध गरिएको जुन कुरा छ त्यो दलको चरित्रसित केन्द्रित रहेको देखिएको छ। मुद्दाको होइन दलको कार्यचरित्रको बिरोध भइरहेको समीक्षकहरू ठान्छन् अनि मोर्चाले कार्य चरित्रलाई पारदर्शी बनाए सबै विवाद, अन्योलता, अस्थिरता नष्ट भएर जाने ठनाइ पनि समीक्षकहरूको छ। मोर्चाले जति गरिरहेको छ त्यति कसैले गरेको छैन। मोर्चामाथि कसैले पनि शङ्का गरेको छ भने त्यो मोर्चाकै कार्यचरित्रको कारण छ। विपक्षीले किन मोर्चालाई मुद्दा बेचेको आरोप लगाएको हो? यति जोरसित उसले आफ्नो दावीलाई किन राख्न सकिरहेको छ? सोंच्नु पर्ने कुरा मोर्चाको निम्ति यति हो पारदर्शिताको प्रश्नमा। क्षेत्रीय विभेद् मुद्दाको निम्ति हानिकारक हो। यसकारण क्षेत्रीय सहमति अनिवार्य छ। नत्र यही विभेद्लाई अघि राखेर राज्य र केन्द्रले गोर्खाल्याण्डमाथि विपरित निर्णय गर्न सक्छ। गोर्खाल्याण्डको निम्ति अरू नै बहाली गर्न सक्छ। दलीय सहमतिको कुरामा जति दायित्व मोर्चाको छ उत्ति नै दायित्व अरू दलको पनि छ। किन भने गोर्खाल्याण्डको साटो आउने कुरामा दलीय विभेद् दायी रह्यो भने जनताले कुनै पनि दललाई क्षमा गर्ने छैन- समीक्षकहरूले गर्ने बहस यस्तो रहेको छ।
मंगलवार, 16 फ़रवरी 2010
नाड़ी छाम्दैछ, पैसा चलाएर देखाउँछौं-विमल
माओवादी हमलाको दायी बङ्गाल सरकार-मोर्चा
सोमवार, 15 फ़रवरी 2010
गोर्खाल्याण्ड भन्दा अघि नै तराई डुवर्स अन्तर्भुक्त गर्ने प्रयासमा छौं--डा. छेत्री
कार्यक्रम सिलगढ़ी, तराई, डुवर्समा हुनुपर्छ - प्रधान
हाम्रो रिपोर्टलाई सर्टआउट गर्दै होला-विमल
शनिवार, 13 फ़रवरी 2010
मुख्य मन्त्रीलाई यो, त्यो दिन सक्छौं भन्ने अधिकार छैन-गोजमुमो
बुधवार, 10 फ़रवरी 2010
नोटिश पाउनेहरू फेरि पार्टीमा
bogati_hd08@yahoo.com
विद्यार्थीहरू पहाड़ नआउँदा सरकारलाई होइन पहाड़लाई नै नोक्सान
अहिले पहाड़मा राजनैतिक माहौल राम्रै रहेको भएपनि विद्यार्थी मोर्चाले यसप्रकारको घोषणामा एकप्रकारले भयको सङ्केत पाइएको मानिसहरूले बताएका छन्। न त पहाड़मा कुनै आतङ्क छ न त गतिलो राजनैतिक कार्यक्रम नै तरै पनि विद्यार्थी मोर्चाले बाहिरका विद्यार्थीहरूलाई पहाड़ अहिले नै नआइदिने जुन आह्वान गरेको छ यसले पहाड़मा कुनै भयकारी स्थिति पो आउने हो कि भन्ने शङ्का गरिन थालिएको छ। विद्यार्थी मोर्चाले सिलगढ़ीमा विद्यार्थी अनशनकारीहरूलाई जुन अत्यचार गरेको छ त्यसको प्रतिवादमा गोजविमोले विभिन्न कार्यक्रमहरू गर्न सक्ने जसको कराण शैक्षिक संस्थानहरू पनि प्रभावमा रहने भएकोले होस्टेल बसेर पढ्ने तथा बाहिरबाट आएर पढ्ने विद्यार्थीहरूलाई अहिले नै पहाड़ नल्याइदिने आशयमा यसप्रकारको आह्वान गरिएको भए पनि अहिले भर्नाको सिजन चलिरहेकोले यसप्रकारका आह्वानले पहाड़को शैक्षिक व्यापारमा व्यापक हानी हुनसक्ने शङ्का गरिन थालिएको छ। पहाड़मा बाहिरबाट पढ्न आउने गरेको कारण नै स्कूल राम्ररी सञ्चालन भइरहेको छ भने सानोदेखि उच्चस्थ व्यापारीहरू समेत उनीहरूबाट लाभान्वित हुने गरेको कारण वर्षमा पहाड़ले करोड़ौंको आम्दानी गर्ने माध्यम नै धराशयी हुनसक्ने अनुमान गर्न थालिएको छ। मानिसहरूले विद्यार्थी मोर्चाले जति नै कार्यक्रमहरू गरेपनि त्यो जनपीड़क तथा पहाड़को अर्थनीतिमा हानी पुर्याउने हुनु नहुने मानिसहरूको भनाइ सुनिएको छ। उनीहरूले सोझै सरकारलाई असर पुग्ने अरू नै माध्यम अप्नाएर राजनैतिक कार्यक्रम गरिए त्यो विद्यार्थाीहरूको बुद्धिमत्ता हुने पनि बताउन थालेका छन्। धेरैवटा स्कूलहरूसित सम्पर्क गर्दा आफूहरू पनि गोर्खाल्याण्डको निम्ति समर्पित नै रहेको अनि पहाड़का सबै विद्यार्थीहरू पनि आन्दोलनमा सरिक बनेको तर आफ्नै कार्यक्रमहरूले आफ्नै हानी हुने देखिए पनि आलोचना अनि सल्लाह गर्ने प्रवृति कसैमा नभएको तथा यस्तो भएन भन्दा आन्दोलनको विरोध गरेको बुझिदिने भय रहने कारणले चपचाप बस्नु परेको बताएका छन्। हुन पनि पहाड़ प्रशिद्ध छ भने यहॉंको शैक्षिक स्तरको कारण पनि छ। यहॉं सिक्किम, नेपाल, भूटान मात्र होइन अन्य देशहरूबाट पनि विद्यार्थीहरू आउँछन जो पहाड़को आर्थिक आम्दानीका आधारहरू हुन्। त्यसैलाई नष्ट पार्ने किसिमका कार्यक्रम पहाड़को हितको निम्ति उचित नहुने यसै पनि स्पष्ट छ।
bogati_hd08@yahoo.com
पहाड़लाई आँटा होइन चारो
मंगलवार, 9 फ़रवरी 2010
8 फरवरी
कालेबुङ, 8 फरवरी(सन्दिप कुलुङ)ः आज विभिन्न बङ्गला दैनिकहरूले मोर्चाले दागोपापको निम्ति स्वशासन चलाउने जुन समाचार प्रकाशित गरेको थियो त्यसले पहाड़मा निक्कै खुल्दुली मच्चाएको छ। समाचारमा मोर्चाले केन्द्रलाई पठाएको गुप्ती रिपोर्टमा दागोपापको विकल्पको कुरा रहेको अनि मोर्चाले 2011 सम्मको निम्ति स्वशासनको विकल्पलाई मान्य गरेको बताइएको छ। मोर्चाले गोर्खाल्याण्ड अहिले नै नहुने कुरा बुझेपछि गोर्खाल्याण्डको आन्दोलनलाई लामो अवधिको निम्ति राखेर अहिले स्वशासनमा कुरा मिलाउने जमर्को गरेको अनि गुप्ती रिपोर्ट यसै कारण केन्द्रलाई पठाइएको उल्लेख गर्दै राजनैतिक वार्ता फरवरीको तेस्रो अनि चौथो सप्ताहमा हुने, जहॉं स्वशासनमाथि कुरा हुने बताइएको छ भने दागोपापको साटोमा आउने स्वाशासनमा धेरै क्षमताहरू रहेको उल्लेख गरिएको छ। दागोपापमा रहेको 28वटा समष्टीलाई बढ़ोत्तरी गरेर 60 वटा बनाइने जहॉं तराइ र डुवर्स नरहने,22वटा विभागलाई बढ़ाएर 70 देखि 80 वटा बनाइने अनि आर्थीक प्याकेजकोरूपमा 300 देखि400 करोड़ दिइने जस्ता कुराहरू उल्लेख गरिएका ती समाचारहरूमा मोर्चाले जनतालाई यसबारे सम्झाउन शुरू गरिसकेको पनि बताइएको छ। यी समाचारहरूबारे बुझ्न चहॉंदा मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले आफूले समाचार नपढ़ेको बताउँदै ती समाचारपत्रहरू माकपासित सम्बन्धित रहेको अनि पत्रकारहरू पनि माकपाकै बचाउमा खटिएकोले मोर्चालाई राजनैतिक क्षति पुर्याउन बङ्गालले मीडियालाई लगाएर कार्य गरिरहेको बताए। उनले यस्तै हो भने सबै पत्रिकाहरूमा समाचार आउनु पर्ने भए पनि केवल बङ्गला पत्रिमा मात्र यस्ता समाचारहरू आएकोले पत्रिकाहरू माकपाको देखरेखमा चलिरहेकोले आफ्नो पत्रिका बिकाउन अनि मोर्चालाई गलत सावित गरेर मुद्दालाई विथोल्ने प्रयासमा लागेको बताउँदै भने-बङ्गला पत्रिकाहरूले जे सुकै लेखुन, हामीलाई सरोकार छैन। बङ्गालले जति नै हानी पुर्याउने कोशिष गरेपनि अब कुनै असर पर्दैन। उनले अहिले मोर्चाले गरिरहेको साङ्गठानिक कार्यक्रमहरूलाई पनि यसै कुराहरूसित जोड़ेर हेर्ने अनि पत्रकारहरूले त्यसको अर्थ आफ्नै तरिकाले निकालेर मनगड़न्ते समाचारहरू दिएर माकपासित साकिलो हुने कार्य गरिरहेको पनि बताए। उनले मोर्चाले स्वशासनमा कुरा गर्ने भएदेखि उहिल्यै गरिसक्ने बताउँदै मोर्चा गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेको देखेर बङ्गाल आत्तिएको पनि उनले बताए। मोर्चाले पठाएको गुप्ती रिपोर्टबारे सार्वजनिक नगरिएको अनि त्यसभित्र के माग गरिएको छ स्पष्ट नभएको कारण नै अहिले विभिन्न अड़कलबाजी भइरहेको छ। एकातिर विमल गुरूङले सेटअप तथा गुप्ती रिपोर्टमा धेरै अधिकारहरू मागेको कुरा गरिरहेका छन् भने पैसाको सठिक उपयोग गर्नु पर्ने कुराहरू पनि गरिरहेका छन्। अर्कोतिर मोर्चाले 28 वटै समष्टिमा गएर दुइतीनवटा जोनहरू बनाइरहेको कुराले पनि व्यापक शङ्काहरू उपार्जन गरिरहेको छ तर मोर्चाले भने वारम्बार नै आफू इमान्दार रहेको अनि केवल गोर्खाल्याण्ड मात्र आफ्नो मुद्दा रहेको अनि कुनै पनि अवस्थामा तराई र डुवर्सलाई नछोड्ने कटिबद्धता देखाइरहेको छ। आज बङ्गला दैनिक पढ़ेर नै क्रमाकपा प्रतिनिधि मोहन पौड्यालले पत्रिकाको कुरा मान्नु हो भने पनि आपत्ति जनक रहेको बताए। उनले भने-यदि पत्रिकाको कुरा सॉंचो सावित भए क्रमाकपाले व्यापक विरोध जनाउनेछ। जनता गोर्खाल्याण्डको निम्ति मात्र एकत्रित बनेको, अनशन बसेको , जुलूसमा हिँड़ेको बताउँदै उनले अझ भने-तराई र डुवर्स छोड़िने कुरा मात्र पनि नितान्त गद्दारीपूर्ण कुरा हो। धोका भए त्यसको नतिजा राम्रो त अवश्य पनि हुँदैन। उनले पैसाको आन्दोलन होइन आत्मसम्मानको, आत्मपरिचयको आन्दोेलन रहेकोकारण मोर्चाले यदि आफू इमान्दार छ भने यस्ता खाले षड़यन्त्रहरूको व्यापक विरोध गर्नु पर्ने पनि उनले बताए। अर्कोतिर जिल्ला कंग्रेसका दीलिप प्रधानले भने यसकुरामा कुनै मन्तव्य नगर्ने अनि पॉंचौं वार्तालाई पर्खिएर मात्र बोल्ने बताउँदै भने-सीमानाको कुरामा गम्भीर रहनु अनिवार्य छ। क्षेत्र छोड़िने कुनै पनि कार्यको विरोध हामी गर्नेछौं। अन्तरिम व्यवस्था हुन्छ भने पनि त्यसको समयसीमा तोकिएको हुनुपर्छ। अर्कोतिर गोरामुमो-सीका अध्यक्ष कर्णल डी.के.प्रधानले पनि बङ्गला पत्रिकाको समाचार पढ़ेको अनि उनले अन्तरिम व्यवस्था हुने अवस्था अहिले नै नआइपुगेको बताए। उनले भने- जब केन्द्रले गोर्खाल्याण्ड दिँदैन अनि राज्य निर्माणको प्रक्रिया शुरू हुँदैन तबसम्म अन्तरिमको कुनै अर्थ रहँदैन। गोर्खाल्याण्ड भइसकेपछि राज्य सञ्चालनको निम्ति गरिनु पर्ने तयारीको अवधि दिने व्यवस्था मात्र अन्तरिम हुनसक्ने उनले बताएका छन्।
लीगको कार्यक्रम प्रभावहीन
विभिन्न दलहरूको प्रतिक्रिया
कालेबुङ, 8 फरवरी ः आज गोर्खालीगले डाकेको जनता कर्फ्यू नगरमा प्रभावहीन देखियो। हिजो अभागोली अध्यक्ष मदन तामाङ लगायत अन्य नेताहरूले बन्दको समयमा सड़कमा उत्रिनेहरू बङ्गालका दलालहरू हुन् भनी बताएको भए पनि आज नगरमा मानिसहरूको चहलपहल उत्तिकै देखियो। नगरमा सदा झैं मानिसहरूको भीड़भाड़ रहेको थियो। अभागोलीको बन्द धेरैजसो जनताले प्रभावहीन माने। कतिपय मानिसले पनि बन्दको कुनै अर्थ नरहेको बताए भने कतिले लीगको कार्यक्रममा कुनै सत्यता हुनसक्ने पनि बताए। कतिपय मानिसहरूले यदि गोर्खालीगले गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्ने हो भने सड़कमा आएर गर्नुपर्ने अनि गोजमुमोले अघि बढ़ाएको आन्दोलनमा एक भएर अघि बढ़्नुपर्ने बताए भने कतिले यसप्रकारको अभागोलीको आन्दोलन अन्योलपरक देखिएको पनि बताए। धेरैजसो मानिसहरूले केही दिन अघाड़ि जेएसटीओद्वारा डाकिएको पॉंचौं गोर्खाल्याण्ड अन द टेबल-मा नआएर ठीक नलागेको अनि डराएको जस्तो देखिएको पनि बताए। लीगको यस कार्यक्रममाथि प्रतिक्रिया व्यक्त गर्दै क्रामाकपा प्रतिनिधि मोहन पौड्यालले आफूहरूको कार्यक्रम सफल नपार्नेहरू बङ्गालको दलाल हुन् भनेर जुन मन्तव्य गरेको छ त्यो नितान्तै गलत रहेको बताए। उनले भने-लीगले गरेको कार्यक्रम उनीहरूको कार्यक्रम हो अनि जुनै पनि कार्यक्रम पालन गर्नु नगर्नु जनताको इच्छा हो। अर्कोतिर काङ्ग्रेसका दिलीप प्रधानसित जान्न चाहँदा लीगको कार्यक्रममाथि कुनै मन्तव्य नगर्ने बताए। यसरी नै गोरामुमो सी-का अध्यक्ष कर्णल डी.के. प्रधानसित जान्न चाहँदा उनले लीगको कार्यक्रमलाई आफ्नो पूर्ण समर्थन रहेको जनाए। उनले लीगले जनतालाई सचेत गराउने कार्य गरेको बताउँदै कुनै पनि दल त्यसैकारण कुनै पनि दलको विरूद्धमा त्यस्सै नबोल्ने बताउँदै उनले भने-लीगले जनतालाई एउटा मौका दिएको हो। बुझ्नु नबुझ्नु जनताको विचार हो तर गोर्खाल्याण्डको विरोधी को हुन् त्यो भने शीघ्र नै जनताले बुझ्नेछन्।
सोमवार, 8 फ़रवरी 2010
उचित सर्वराह नगरे बिजुली काट्नेछौं-विमल
कालेबुङ, 8 फरवरी ः साङ्गठानिक कार्यक्रम लिएर गाउँघर घुमिरहेका गोजमुमो अध्यक्ष आज अलगढ़ा पुगेका थिए। उनी जनतालाई सम्बोधन गर्न अलगढ़ा पुग्दा त्यहॉं बिजुली थिएन। उनले जेनेरेटरद्वारा सर्वराह गरिएको बिजुलीको भरमा जनतालाई सम्बोधन गर्दै भने-यहॉं बङ्गाल सरकारले खेलाईँची गरिरहेको छ। हाम्रै खोला-नालाबाट निकालिएको बिजुली नियमित नगरिनु अन्याय हो। यसकारण भोलि जोनल कमिटीले पावर डिपार्टमेन्ट अनि एसडिओलाई बिजुली सर्वराहको उचित व्यवस्था मिलाउन ज्ञापन चढ़ाउनु। यति गर्दा पनि बिजुली नियमित भएन भने सधैँको निम्ति बिजुली हामी काट्नेछौं। पोलहरू निकाल्नेछौं। हामीलाई एसी चाहिँदैन। उनीहरूलाई चाहिन्छ। ज्ञापन चढ़ाउनु, नटेरे हाम्रो खोला-नालाबाट लगेको बिजुली बन्द हुनेछ। गुरूङले अलगढ़ामा भइरहेको साङ्गाठानिक मतभेद्लाई सबैले विर्सेर नयॉं समितिले उचित तरिकाले सङ्गठन सञ्चालन गर्ने आह्वान पनि गरे। उनले आज अलगढ़ा, सन्तुक-मिरिक, पैयुङ अनि दलपचन्दलाई लिएर जोनल कमिटी गठन पनि गरे। उनले महकुमा समितिबाट नै दलमा दुइफ्याक हुने संस्कार जन्मिएको बताउँदै भने-हामी गोर्खाल्याण्डको निम्ति आएका हौं। लक्ष्य गोर्खाल्याण्ड मात्र हो तर यहॉं कोही अर्को ग्रुपको कोही अर्को ग्रुपको भन्छन्। यसरी फ्याक हुनेले गोर्खाल्याण्डलाई के गर्छ?यसकारण अबोप्रान्त सबै मिलेर कार्य गर्नु। उनले अलगढ़ाका जनतालाई पनि आह्वान गर्दै भने-अलगढ़ा पैह्रोको चपेटमा पर्न सक्छ, यहॉं विभिन्न समस्याहरू छन्। म सबै समस्याको समाधान गर्छु तर सबै एक भएर बस्नु पर्छ। झोड़ाको निम्ति राजनीति गर्नु हुँदैन। भत्किएको भित्ताको निम्ति राजनीति गर्नु हुँदैन। विकास जनताको निम्ति हुनुपर्छ। आफ्नो निम्ति मात्र विकास गर्नु हुँदैन। यसले दललाई असर गर्छ। अलगढ़ाको जनताले नै तय गर्नु यहॉं के गर्नु पर्छ। जनताले नै काम गर्नु। कामको निम्ति महकुमा समिति, केन्द्रीय समिति कसैले पनि हस्तक्षेप गर्दैन। जनताले जसरी चहान्छ त्यसरी काम गर्छ। म समस्याहरूको समाधान गर्दै गोर्खाल्याण्डको आन्दोलन गर्छु तर यसको फाइदा कसैले नउठाउनु। उनले आफू जस्तो मुद्दाको निम्ति सबैलाई समर्पित भएर अघि आउनु पर्ने आह्वान गर्दै भने-मैले जेट क्याटागोरीको सेक्यूरिटी पाउने मान्छेलाई एकै क्षणमा पहाड़बाट आउट गरें। जनताको आकांक्षालाई लिएर समर्पित भएर अघि आएको छु। गोजमुमोमा सीपीएम, गोरामुमो तथा सबै दलका मानिसहरू गोर्खाल्याण्डको निम्ति काम गरिरहेका छन्। कोही पराया होइनन्। यसकारण सबै एक हुनुपर्छ। यहॉं कोही दुश्मन छैनन्। सोंचाइमा ठिक छैन। तर सबैलाई सम्झाउनु सक्नुपर्छ। बलियो हुनुपर्छ।
जनता कर्फ्यूलाई जनताले जवाब दिनेछ-गोजयुमो
कालेबुङ, 8 फरवरीः गोर्खालिग नेता मदन तामाङले आज जनता कर्फ्यूको घोषणा गरेको छ। लीगको यो प्रथमचोटी देखिएको पहिलो कार्यक्रम तर कतिको प्रभावी बन्ने हो आज दिनभरिमा त्यसको स्पष्ट छबि अघि आउनेछ। लीगले यता आज गोर्खा जनमुक्ति युवा मोर्चाले भने लीगको जनता कर्फ्यूलाई जनताले नै जवाब दिने बताएको छ। आजदेखि युवा मोर्चाले पहाड़को सबै ठाउँमा मोर्चाले तयार पारेको नयॉं कार्यक्रम अनुसार 48 घण्टेे क्रमिक अनशन शुरू गर्ने जानकारी दिँदै युवा मोर्चा कालेबुङका प्रतिनिधिहरू सुनिल प्रधान, तोपदेन भोटिया अनि निमा तामाङले राजनैतिक वार्ता शीघ्र हुनुपर्ने मागमा अनशन गरिएको बताए। उनीहरूले अनशनमा बस्नेहरूको चॉंजोहरू मिलाई सकिएको पनि बताए। यसै सन्दर्भमा सुनिल प्रधानले युवा मोर्चाले लीगको कुरालाई ध्यान नदिने अनि जनता विनाका एक्लो नेताले गरेको 24 घण्टे बन्दलाई कुनै प्राथमिकता नदिने पनि बताए। तोपदेन भोटियाले भने-मदन तामाङले गोजमुमोको कार्यप्रणालीलाई बुझेका छैनन्। किन भने मोर्चाले जुनस्तरमा कार्य गरिरहेको छ पहाड़को राजनैतिक इतिहासमा नै त्यस्तो नभएकोले तामाङले मोर्चाको कार्यहरूको फेदटुप्पो बुझ्न नसकेकोले नै यस्ताखाले कार्यक्रमहरू घोषणा गरेका हुन्। उनले अझ भने-लीगको कुरालाई जनताले कसरी लिएको छ त्यो त भोलि स्पष्ट भइहाल्छ। उनको जनता कर्फ्यूलाई जनताले नै जवाब दिनेछन्। जनतालाई थाहा छ कसले कति कार्य मुद्दाको निम्ति गरेको छ।
जनता कर्फ्यूलाई मदनले नै तोड्नेछन्-डा.
कालेबुङ, 8 फरवरीः जसको कुनै जनता छैन उसले जनता कर्फ्यू भन्दैछन्। यस्तो कार्यक्रम गर्नेहरू बहुबचन हुन जसको जनता एक बचन छन्। व्याकरण थाहा हुनेले बुझ्छन् यो कुरा। उसलाई पनि थाहा छ आफ्नो जनता छैन भनेर। भोलि मदनले त खिड्की थुनेर पालन गर्ला तर केही क्षणपछि उसलाई डाउट हुन्छ जनताले पालन गरेको छ कि छैन। उनी दैलो खोलेर हेर्न आउनेछन् बजार। यसरी उनी आफैले आफ्नो कार्यक्रम तोड्नेछन्।-उक्त कुरा गोजमुमो प्रवक्ता डा. हर्कबहादुर छेत्रीले अलगढ़ाको जनसभामा भनेका हुन्। उनले गोर्खालीगले डाकेको जनता कर्फ्यू सफल हुनै नसक्ने कार्यक्रम रहेको बताउँदै यो कार्यक्रम सफल नभए पछि के गर्छ त बनेर प्रश्न उठाए। उनले भने-कार्यक्रम गर्दा मेरोपछि कति जनता छ त्यो हेर्नु पर्छ। उनले जनतालाई भोलि खुलेआम हिँड्ने आह्वान पनि गरे। उनले मदन तामाङलाई टिप्पणी गर्दै भने-40 वर्षदेखि नै विपक्षी हुने आदत उनलाई छ।अहिले पनि त्यही भूमिका निभाउँदैछन्। तर मोरोलाई कतिबेला विपक्षीको भूमिका निभाउनुपर्ने कुरा भने थाहा छैन। भोलि उनलाई जनताले गजबले जवाब दिनेछन्। अर्कोतिर गोर्खालिगका कालेबुङ प्रतिनिधिहरू प्रताप खातीले भने गोजमुमोले गोर्खा शब्द अघि झुण्डाएर दागोपापमा गोर्खाल्याण्ड साटेको बताउँदै गोजमुमो अध्यक्ष पैसामा बिक्रि भइसकेको जनाए। उनले भने-मोर्चाले जनतालाई बोरामा सुताउने काम गर्दैछ। यो कुरा समयमा नै जनतालाई बताइसकेका छौं। यसबाट गार्खालीग मुद्दाको निम्ति कति समर्पित छ भन्ने कुरा बुझ्न सकिन्छ। पछि ढिलो नहोस्। यसकारण समयमा नै जनताको आकांक्षा विरूद्दामा कार्य गर्ने मोर्चाको विरोध गर्न जनता कर्फ्यू सफल पारिदिने आह्वान गर्छौं।
रविवार, 7 फ़रवरी 2010
समीक्षा
गोर्खा जनमुक्ति मंोर्चाले जब दागोपाप भङ्ग भएपछि दागोपाप क्षेत्रमा उपार्जन हुने प्रशासनिक रिक्ततालाई भर्न अन्तरिम परिषद्को अनिवार्यताको कुरा गर्न थाल्यो यो कुरा गणतन्त्रको प्रश्नमा उत्तिकै महत्वपूर्ण भएपनि यसबारे स्पष्टसित जनता अनि पहाड़का दलहरूलाई एजुकेट गर्न नसकिरहेको देखिन थालेको छ। अन्तरिमकै कुरालाई लिएर यता अखील भारतीय गोर्खालीगले आन्दोलन गर्ने कुरा गरिरहेको छ भने अर्कोतिर तराईबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पनि जुर्मुराइरहेको छ। कुरा यति मात्र होइन मोर्चाकै कार्यकर्ताहरू पनि यसै कुराले अन्योलमा परिरहेका छन्। पत्रकारहरूसित अफ् द रेकर्ड कुरा गर्ने मोर्चाकै कतिपय पदाधिकारीहरू अनि मोर्चा समर्थक कार्यकर्ताहरू पनि खै के हो के हो! भन्दै गरेको प्रशस्तै सुनिन्छ। अन्तरिमको कुरा तेलङ्गनाकोे मुद्दाले देशव्यापी असरहरू देखाउन थालेपछि स्वतः हराएर गएको थियो। यसैकारण मोर्चाले वार्तामा नै ध्यान केन्द्रित गरेको थियो। त्यतिबेला भनिएको थियो, अब अन्तरिम सन्तरिम होइन सोझै गोर्खाल्याण्डको कुरा गरिन्छ। चौथो वार्तामा मोर्चाले राजनैतिक वार्ताको कुरा गरेको थियो अनि सरकारपक्षले 45 दिनको समय मागेको कुरा गरेको थियो। सोही वार्ताको दिन भएको दार्जीलिङको जनसभामा मोर्चा अध्यक्ष विमल गुरूङले पुनः एकपल्ट सेटअपको कुरा गरेको भएपनि निक्कै दिन यसको चर्चा भएन। तर अचानक गोर्खालीग अध्यक्ष मदन तामाङले मोर्चाले छैटौं अनुसूचीलाई नै संशोधन गरेर ल्याउनु आँटेको छ भनेर प्रेस बयान दिएपछि पहाड़मा फेरि जिज्ञासा, शङ्का अनि अविश्वासको लहर उठेको थियो। यसैकारण मोर्चा अध्यक्ष विमल गुरूङले 28 न. समष्टिको भ्रमणकालमा डुवर्सको कुरामा असुविधा भएकोले नाम मात्र परिवर्तन गरेको भनेर आफूले केन्द्रलाई गुप्ती रिपोटर्र् पठाएको कुरा गरेपछि भने पहाड़मा पुरापुरी अन्योलको परिवेश उपार्जन भएको हो। अन्योलता किन भयो भने मदन तामाङले मोर्चालाई छैटौं अनुसूची नै संशोधन गरेर ल्याउनु आँटेको छ भनेर आरोप लाउने वित्तिकै विमल गुरूङले डुवर्सको असुविधाले गर्दा नाम मात्र परिवर्तन गरेको बताएपछि दुवै कुराभित्र केही न केही त छ भन्ने शङ्का व्यापक बन्यो। गुरुङले घरि-घरि सबैलाई फाइदा हुने सेटअप गरेर पठाएको छु, पहाड़मा समस्या नै समस्या छ, सरकारको पैसा हण्ड्रेट पर्सेन्ट चलाउनु सक्छौं, सरकारको पैसालाई नराम्रो दृष्टिकोणले हेर्नु हुँदैन, सरकारको पैसा राम्रोसित प्रयोग गरेको हुनुपर्छ। मैले गरेको सेटअप सबैले ठीक छ भन्ने खालको छ-भन्ने गरेकाले पनि सेटअपबारे व्यापक खुल्दुली बढ़ेर गयो। गुरुङले दागोपापको अन्तिम दुइ समष्टिमा पुगेर यस्ताखाले बयान दिएकाले अनि वास्तविकताबारे खुलस्त नगरेको कारण जुन अन्योलता उत्पन्न भयो अनि मोर्चामाथि शङ्काहरू गरिन थालियो यसको दायी पनि मोर्चा नै हो। गुरुङले वार्ता अघि सेटअपबारे खुलस्त गरिने बताए पनि किन वार्ता अघि? जुन कुराले जनतामा व्यापक अन्योलता छाइरहेको छ अनि मोर्चालाई व्यापक शङ्का गर्ने वातावरणको निर्माण भइरहेको छ। त्यस कुरालाई वार्ताको अघि मात्र बताउनुपर्ने बाध्यता मोर्चामा के आइपरेको छ त्यसलाई बुझ्न नसकिएको पनि समीक्षकहरू बताउँछन्। समीक्षकहरूले वार्ता अघि मात्र बताउँछु भनेकाले पनि अन्योलता उपार्जन भएको बताउँछन्। वास्तवमा दागोपाप भङ्ग भएपछि त्यसको साटो बहाली गरिने अस्थायी प्रशासनिक व्यवस्थालाई लिएर किन पहाड़मा उथुलपुथुल भइरहेको छ यो नै अन्योलपूर्ण छ। मुद्दा गोर्खाल्याण्डको हो अनि यसको निम्ति पहिले पहाड़मा भइरहेको दागोपापलाई नष्ट गरेर मात्र त्यहॉं त्यसको विकल्पको निम्ति गोर्खाल्याण्ड हुनुपर्ने लाटासिधाको सोझो कुरा हो। लाटोसिधाको सोझो कुरा अर्को के पनि छ भने जुन अन्तरिम हुन्छ त्यो यति क्षमता र त्यति क्षमताको हुनुपर्ने कुनै बाध्यता छैन। तर मोर्चाले केन्द्रलाई जुन सेटअप गरेर गुप्ती रिपोर्ट पठाएको छ त्यो राज्य कै क्षमताको छ भनेर मोर्चा कै प्रवक्ता डा.हर्कबहादुर छेत्रीले अन्तरक्रियात्मक कार्यक्रममा बताएका छन्। सोही कार्यक्रममा मोर्चा महासचिव रोशन गिरीले 2011 मा हुने विधानसभा चुनाउसम्म गोर्खाल्याण्डबारे कुनै निर्णायक बहस नहुने देखेपछि नै 2011 सम्मको निम्ति पहाड़मा दागोपापको साटो आउने अन्तरिम व्यवस्थाको निम्ति मोर्चाले सेटअप गरेर पठाएको कुरा बताए। उनको यस्तो बयानले यसपालीको वार्तामा पनि गोर्खाल्याण्बारे निर्णायक कुरा हुँदैन भन्ने सङ्केत दिन्छ भने एक वर्षको निम्ति यति ठूलो क्षमताको सेटअप किन भन्ने प्रश्नले पनि मोर्चाप्रति शङ्का उठाएको समीक्षकहरू भन्छन्। वास्तवमा दुइचार वार्ताले गोर्खाल्याण्डको निम्ति चुड़ान्त निर्णय हुन सम्भव छैन। वार्ताको नै कुनै उमेर छैन। यो 2015 सम्म पनि तन्किन सक्छ भने अझ छोटो पनि हुनसक्छ कि त त्यो भन्दा लामो पनि हुनसक्छ। यी कुरालाई राष्ट्रिय परिस्थिति अनुसार नै राज्य अनि केन्द्रले हेर्नेछ। यो हुनसक्छ र सक्दैन भन्ने कुरामा न त मोर्चाले आधिकारिक निर्णय गर्न सक्छ न त सरकारपक्षले। सेटअप के को निम्ति? कति दिनसम्मको निम्ति? यो कत्रो छ? भन्नेबारे त मोर्चाले विस्तारै विभिन्न कार्यक्रमहरूमार्फत जनतालाई अवगत गराइरहेको भए पनि यसको पूर्ण वास्तविकता अघि आएको छैन। अनि जबसम्म यो अघि आउँदैन तबसम्म मोर्चा विभिन्न शङ्काहरूको घेरोमा नै पर्ने स्पष्ट छ। अर्कोतिर सेटअपको कुरा चलिकहेको बेला नै मोर्चाले विभिन्न समष्टिको सङ्गठनहरूमा अझ जोनहरू बढ़ाउन थालेको अनि यसको निम्ति भएको जनसभाहरूमा सेटअपले सबैलाई फाइदा दिने भनेर बताउने गरेकोले पनि मोर्चालाई ध्यान लगाएर हेर्नेहरू अन्योलमा परेको कुरा पनि समीक्षकहरू बताउँछन्। यता गोर्खालीग बाहेक अन्य दल वा सङ्गठनहरूले भने अन्तरिमलाई आ-आफ्नो दृष्टिले हेरिरहेको छ। भागोपले गोर्खाल्याण्को कुरा चुँड़ान्त बनेपछि मात्र त्यसको बहाली नभइञ्जेलसम्मको निम्ति अन्तरिमको कुरा अघि आउनु पर्ने बताएको छ। क्रामाकपाले अन्तरिम तीनदेखि छः महीना भन्दा धेर समयको निम्ति हुनु नहुने बताएको छ भने क्रामाकपाले पनि घरिघरि जे ल्याइएपनि दागोपापको विकल्प बनेको गोर्खाल्याण्ड मात्र हो अनि जे ल्याइए पनि त्यसले देशमा गोर्खाहरूको अस्मिता बोक्नु पर्ने अनि बङ्गालदेखि बाहिरको हुनुपर्ने कुरा गरिरहेको छ। यसप्रकारका बयानहरू पनि मोर्चामाथि गरिने शङ्काका कारणहरू हुन्। वास्तवमा मोर्चा आफैले आफूलाई शङ्का गर्ने प्रशस्त कारणहरूको उपार्जन गरिरहेको छ। तर ती सबै कारणहरू वार्ता अघि मोर्चाले बताउने वास्तविकताले ध्वस्त पारिदिने पनि समीक्षकहरूको भनाइ रहेको छ।
7 फरवरीः
हामीले धेरै क्षमता माागेका छौं-विमल
कालेबुङ, 7 फरवरीः सबैले प्रतीक्षा गरेको गोजमुमोको जनसभा आज डेलोमा सम्पन्न भयो। सबैले यस जनसभाबाट मोर्चाको भावी रणनीति कस्तो हुने हो त्यो खुलासा हुने अपेक्षा गरेको भए पनि त्यस्तो केही भएन। नयॉं कार्यक्रमको रुपमा 9 फरवरीदेखि सबै क्षेत्रमा युवा मोर्चाले सात सदस्यीय 48 घण्टे क्रमिक अनशन गर्ने अनि प्रत्येक हप्ताको शनिबार अनि आइतबार 4 बजीदेखि 7 बजीसम्म नारी मोर्चाले मोमबत्ती जुलूस गर्ने मोर्चा अध्यक्ष विमल गुरूङले घोषणा गरेका छन्। उनले अन्य अर्गनाइजेशनद्वारा भइरहेको क्रमिक अनशन विद्यार्थी मोर्चा बाहेक आजदेखि उठाइएको पनि बताए भने दलभित्र नै बसेर दलविरोधी कार्य गर्ने मोर्चा प्रतिनिधिहरू जसलाई मोर्चाले नोटिश जारी गरेको थियो उनीहरूलाई 10 फरवरीको दिन एकै ठॉंउ भेला पारेर चित्त माझामाझ गर्ने अनि पुनः मैत्रिक सम्बन्धलाई प्रगाड़ता दिने बताए। आजको जनसभाबाट पनि गोजमुमो अध्यक्ष विमल गुरूङले गुप्ती रिपोर्टबारे स्पष्ट कुरा राखेनन्। उनले भने-गुप्ती रिपोर्टबारे पॉंचौं राजनैतिक वार्ताको अघिल्लो दिन खुलासा गर्नेछौं। किन भने हामीले के, कस्तो सेटअप गरेर केन्द्रलाई पठाएका छौं त्यो बङ्गाललाई बताउन चहान्नौं। हामी मुद्दाको निम्ति गरिनुपर्ने जुनै पनि कुरा केन्द्रसित गर्छौं। यसकारण गुप्ती रिपोर्ट बङ्गाललाई बइकट गरेर पठाएका हौं। बङ्गालसित कुरा हुन्छ भने पहाड़को चिया, सिन्कोना, खोला नाला, वनजङ्गलको समस्यालाई लिएर हुन्छ। तर जब मुद्दाको कुरा आउँछ बङ्गालसित होइन दिल्लीसित कुरा हुन्छ। बङ्गालले थाहा नपाउन् भनेर नै वार्ताको अघिल्लो दिन मात्र जनतासामु गुप्ती रिपोर्टबारे खुलासा गर्ने बताउँदै उनले भने-जनताको हातहातमा गुप्ती रिपोर्ट थमाइदिनेछौं। मोर्चालाई गोर्खाल्याण्ड बेच्यो भन्नेहरूले पनि पढ़्नु अनि कहॉं भूल रहेछ देखाउनु। उनले गोजमुमोले कहिले पनि भूल नगर्ने बताउँदै भने-सबैले गोर्खाल्याण्डको निम्ति दागोपाप भङ्ग हुनुपर्छ मात्र भन्छन् अनि त्यसको साटोमा एउटा अन्तरिम व्यवस्था हुनुपर्छ भन्छन् तर दागोपाप पहाड़को कुरा हो कसैले पनि तराई र डुवर्सलाई सोंच्दैनन्। हामीले गुप्ती रिपोर्ट तराई अनि डुवर्सको हितको निम्ति नै पठाएका हौं। हाम्रो सेटअपमा एउटै कुरा पनि काटेको हुनुहुुँदैन। गोर्खाल्याण्डको निम्ति सीमाना पनि मूल कुरा हुने बोल्दै उनले यसैको निम्ति गुप्ती रिपोर्टमा डुवर्स र तराईको अंशग्रहणलाई ध्यान दिइएको आशयमा प्रकट गरे। अहिलेसम्म पॉंचौं राजनैतिक वार्ता कहिले हुने अनि कहॉं हुने भन्नेबारे केन्द्र अनि राज्यले आधिकारिक घोषणा नगरेको भए पनि आज विमल गुरूङले वार्ता 9-10 फरवरीभित्र हुनसक्ने अनि वार्ता दिल्लीमा हुनसक्ने सङ्केत दिए। उनले भने- 9-10 तारिक वार्ताको डेट कन्फर्म हुन्छ अनि कन्फर्म भएपछि नै वार्तामा को को बस्ने हो भन्ने कुरा तय हुन्छ। उनले केन्द्रले यस वार्तालाई खेलाइँची गर्न नहुने बताउँदै उनले भने- वार्तामा राज्यको मुख्यमन्त्री अनि केन्द्रको गृहमन्त्री बस्नु पर्छ। उनीहरूभन्दा मुनिका प्रतिनिधिहरू वार्तामा बसायो भने वार्ता नै खारेज गरिदिन्छौं। उनले आफू अनि मोर्चालाई दागोपाप चलाउन थुप्रै अफर गरेको भए पनि आफूले दुत्कारेको बताउँदै भने- उनीहरूले गरेको अफर हामीले मानेनौं यसकारण हामीले नै नयॉं सेटअप गरेर केन्द्रलाई गुप्ती रिपोर्ट पठाएका हौं। उनले गुप्ती रिपोर्टमा वास्तवमा के के छ भन्नेबारे कुनै खुलासा नगरे पनि गुप्ती रिपोर्टले डुवर्स अनि तराईलाई समेट्ने कुरा बारम्बार दोहोर्याए। उनले अझ भने-गुप्ती रिपोर्टमा हामीले थुप्रै अधिकार मागेका छौं। टाइम अनि सीमा दिएर गुप्ती रिपोर्ट पठाएका छौं। हामीले भनेको कतिपय अधिकार दिएनौ भने हामी आफ्नो ठॉंउमा आफ्नै अधिकार जमाउने छौं। वार्ता सफल हुनुपर्छ। सफल भएन भने जिल्ला, महकुमा शासक, डीएसपी तथा सरकारी नोकरशाहहरू एवं अधिकारीहरू पहाड़मा नबस्नु। गुरूङले आफूहरू शासणप्रणाली चलाउन योग्य रहेको बताउँदै राज्यले पहाड़मा जति नै पैसा फ्यॉंके पनि त्यसको उचित सदुपयोेग गरेर देखाउने बताए। उनले भने-विकास केही होइन। बङ्गालकोे पैसा फ्यॉंकेर मुद्दा अनि आन्दोलन छिन्नबिन्न बनाउने षड़यन्त्र विफल भइसकेको छ। हामी शासणप्रणाली चलाउन तयार छौं। उनले राज्य अनि केन्द्रले अहिले आफूहरूको क्षमता हेरिरहेको बताउँदै शासनप्रणाली चलाउने दक्षता मोर्चामा रहेको बताए। उनले यसै सम्बन्धमा बोल्दै भने-हामीले कुन कुन विभागमा कति खर्च लाग्छ त्यो सोंच्दैछौं। कति ट्याक्स उठ्छ अध्ययन गरिसकेका छौं। हामीले भनेको कुरा दिँदैनौ भने जबरजस्ती गर्छौं। जबरजस्ती गर्न अघि आइसकेका छौं। उनले बङ्गालले अत्यचार गरिरहेकोले नै आफूहरूले बेग्लै सेटअपको कुरा गरेको बताउँदै बङ्गाल सरकारले डुवर्समा माओवादीहरू छिराएको आरोप लगाए। डुवर्सका साङ्गठानिक प्रतिनिधि सामुएल गुरूङलाई पक्राउ गरेको कुरा झिक्दै उनले भने, आन्दोलनमा यस्तो हुन्छ। कोही नसुर्ताउनु। बङ्गालले बुझ्नु एकैरातमा जे पनि हुनसक्छ। हाम्रो क्षेत्र चिकन नेक हो। आवेशमा जनता अघि आउँछ। सरकार र प्रशासनले बुझ्नु। टामटाले पनि बुझ्नु। पहाड़ आउन बन्द होला। गृहमन्त्रालयले पनि बुझ्नु। टामटाले पक्रिन्छु भन्छ, पक्रिएर हेर्नु। बङ्गालले माओ छिराउँदैछ। 2011को चुनाउलाई हेरेर डुवर्समा अशान्ति गर्दैछ। वार्ता राम्रो हुनुपर्छ। भोटको निम्ति राजनीति गर्नु हुँदैन। हामीले जीएलपी त्यसै बनाएका होइनौं। बुद्दिजीविहरू त्यसै मोर्चामा आएका होइनन्। उनले वार्तापछि नै मोर्चाले कार्यक्रमहरू बनाउने बताउँदै भने- वार्ताको दिन मोर्चाको सबै सङ्गठनका दुइदुइ प्रतिनिधिहरूले दिल्लीमा धर्ना, घेराउ गर्नेेछन्। सबै ढुक्कले बस्नु। अब शाशन चलाउने क्षमता देखाउनुपर्छ। पहाड़मा जत्ति नै पैसा बगाउ थाप्दैनौं। तर पहाड़को विकासको जुनै पनि काम गर्न लगाउँछौं। खेतको आली, भित्ता, बाटो, पानी, जेसुकै होस्। विकासको काम गर भन्छौं। गरेन भने डीएम पनि गेटआउट, प्रशासक बीएल मीना पनि गेटआउट। तर जनताले पैसा पाएर मुद्दा नविर्सनु। राम्रो सेटअपको निम्ति नै म सबै ठाउँ घुम्दैछु। क्रिम लिडरहरू छान्दैछु। कालेबुङ महकुमा समिति पनि राम्रो बनाउँछौं। धमिरा लागेको बटम फेर्छौं। गुरूङले आफ्नो सम्बोधनद्वारा सुवास घिसिङ र दावा पाखरिनको नाम लिदैं उनीहरूलाई पहाड़ ल्याउनु परे गोर्खाल्याण्ड पाएपछि नाम परिवर्तन गरेर आफैले ल्याउने कुरा पनि दोहोर्याए। मदन तामाङको नाम लिँदै 40 वर्ष राजनीति गर्नेबाट यतिञ्जेल त केही नभएको अनि अब अरू आशा कसैले नगर्ने अनि उनलाई बङ्गालको एजेन्ट मात्र रहेको बताए। पोष्टर टॉंस्नेहरूले पनि खुलेर पोष्टर टॉंस्ने अनि त्यतिबेला आफ्नो ढॉंड़ याद राख्नु पर्ने धम्की दिए। अर्कोतिर सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई पनि उनले छोड़ेनन्। बङ्गाल सरकारले मोर्चाको आन्दोलन बिगार्न थुप्रैलाई अघि लगाएको आरोप लगाउँदै उनले सिक्किमका मुख्यमन्त्री चामलिङ पनि बङ्गालको एजेन्ट नै रहेको जनाए। उनले भने-बङ्गालले हामीलाई चारैतिरबाट छेक्न खोज्दैछ। सिक्किमलाई पनि लगायो। पवन चामलिङले हाइवेमा मुद्दा लगाउनु आन्दोलन बिथोल्नु हो। बङ्गालले सिक्किम र दार्जीलिङको सम्बन्ध बिगार्दैछ। पवन चामलिङ पनि दोषी छन्। यत्रो राम्रो सम्बन्ध विगार्नु सिक्किमबासीको हीतको कार्य होइन। उनी कति दिन मुख्य मन्त्री हुन्छ, हामी हेर्छौं तर सम्बन्ध एकपल्ट बिग्रिए सधैँको निम्ति हुन्छ। हामी सुप्रिमकोर्टको भर्डिक मान्छौं तर हाइवेमा कार्यक्रम बन्द गर्दैनौं। केही भए चामलिङले जिम्मा लिनुपर्छ। हामीले सिक्किमलाई दुःख दिएको होइन। हाइवे हाम्रो जमीनमा भएकोले केही असुविधा भयो होला तर यसको निम्ति चामलिङले हामीसित टेवलमा कुरा गरेको भए हुन्थ्यो। हामीले सिक्किमको बजेटमा हस्तक्षेप गरेका छैनौं। सिक्किमको धन लुटेका छैनौं। गोर्खाल्याण्डको आन्दोलन संविधानको आधारमा गरेका छौं। सुप्रिमकोर्टले भर्डिक त दियो तर जनताको सुरक्षा दिन्छ के त?