
कालेबुङ, 24 जनवरीः सबैले गायकको रूपमा चिनेका इण्डियन आइडल प्रशान्त तामाङलाई अब सबैले नायकको रूपमा पनि चिन्नेछन्। उनी नारायण रायमाझीको लेखन अनि निर्देशन, म्यूजिक डट कमको प्रस्तुतिमा आइरहेको नेपाली कथानक चलचित्र गोर्खा पल्टन-मा नायक बनेका छन्। आफ्नो गोर्खे स्वरले विश्व चर्चित बनेका प्रशान्त तामाङ अहिले गोर्खा पल्टन-को सुटिङ सकेर दार्जीलिङ आएका छन्। एक कार्यक्रममा मुख्य आतिथ्य दिन आइपुगेका प्रशान्तले भने-जे गर्दा आत्मसन्तुष्टि मिल्छ म त्यस क्षेत्रतिर तानिन्छु। सानोमा हिरो हुने सपना अहिले साकार हुने तर्खरमा छ। आफू चलचित्रमा तानिएको कुरा बताउँदा हर्षित देखिने प्रशान्त अझ भन्दै थिए-गोर्खा पल्टन आम चलचित्र जस्तो छैन। यो चलचित्रले पल्टनमा लाग्ने गोर्खाहरूको जीवनको सबै आयामलाई समात्ने कार्य गरेको छ। निर्देशक नारायण रायमाझीले आफूलाई यस चलचित्रमा खेल्ने अफर गरेपछि आफूले चलचित्रको सम्पूर्ण पटकथा सुनेको कुरा सम्झँदै उनी भन्दैथिए-मै पनि एक पल्टने नै हुँ। व्यवहारिक जीवनमा मैले पल्टनलाई भोगिसकेको छु। गोर्खा पल्टनको पटकथा सुन्दा मलाई त्यो कथा मेरै जीवनको हो भन्ने अनुभूति भएको थियो अनि मैले नायक हुने मन बनाएँ। शिव रेग्मी छॉंयाकार रहेको गोर्खा पल्टनमा प्रशान्तको नायिका रञ्जिता केसी रहेकी छन्। उनी भन्दैथिए-पहिलोचोटी भएको कारण अभिनय गर्नु निक्कै चर्को पर्यो। नायिका रञ्जिता केसीसित काम गर्दा अनि मिलनसार निर्देशक रायमाझीको मिलनसारिताले अभिनय गर्नु सुगम बन्यो। प्रशान्त तामाङले आठ वर्षको हुँदा बाबु गुमाएर दशौं श्रेणीमा पढ्दा-पढ्दै भारतीय सेनामा भर्ती भएका हुन्। तर गोर्खा पल्टन-मा भने प्रशान्त गोर्खा फौजमा भर्ती भएका छन्। हेरौं चलचित्र कस्तो चल्छ, मलाई त राम्रो नै चल्छ भन्ने विश्वास छ, उनी भन्दैथिए-गीत गाउनु जस्तो सहज भने अभिनय गर्नु नहुँदो रहेछ। नेपालको विभिन्न ठाउँमा छायॉंङ्कन गरिएको चलचित्रमा सोनिया केसी, रञ्जिता गुरुङ, सुनिल थापा, गोपाल भुटानी, कविता आले, सोनी गुरुङ अनि गिरीप्रसाद पुनलाई पनि देखिने उनले बताए। चलचित्र सफल भए अनि राम्रा चलचित्रको अफर आए आफ्नो अभिनयलाई अघि बढ़ाउने बताउँदै उनले भने-अभिनयलाई नै पेशा बनाउने उद्देश्य मसित छैन तर आत्मसन्तुष्टि हुने कुरो पाइयो भने म त्यतातिर नै तानिन्छु होला। नायकै भए पनि गायकी नछोड्ने बताउँदै उनी भन्दैथिए-गायक मेरो पहिलो धर्म हो। यसलाई छोड्ने कुरो नै आउँदैन। उनले शीघ्र नै मीठा आठवटा नेपाली गीतहरूको सङ्ग्रह बजारमा आउने बताउँदै उनी भन्दैथिए-सबैले प्रशान्तले हिन्दी गीत मात्र गाउँछ भन्ने गुनासो गरेका छन्। अब त्यस्तो हुनेछैन। शीघ्र नै राम्रा गीतहरूको एल्बम बजारमा आउनेछ। अहिले घड़ी सोही एल्बमको निम्ति व्यस्त रहेको प्रशान्तले गोर्खा पल्टन बर्खाभित्र बजारमा आइपुग्ने पनि बताए।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें