सोमवार, 25 जनवरी 2010

कालेबुङ, 25 जनवरीः

कहॉं छ ट्राफिक प्रशासन?
कालेबुङ, 25 जनवरीः कालेबुङ नगर सानो भए पनि नगरको ट्राफिक समस्या भने सानो छैन। प्रायः दिनैपिच्छे हुने ट्राफिक समस्याले भने जनजीवनलाई तहसनहस नै पारेको छ। यात्रीहरू न त भनेको समयमा नै लक्ष्यमा पुग्न सकिरहेका छन्‌ न त ट्राफिक व्यवस्थापनमा प्रशासनिक दायित्व नै निर्वाह भइरहेको छ। यसै पनि मोर्चाको पथावरोधले यातायातलाई पुर्‍याइरहेको समस्यामा ट्राफिक प्रशासनले पनि आफ्नो दायित्व ननिभाएपछि त्यहॉंबाट उत्पन्न हुने समस्याको मार भने नागरिकहरूले भोग्नुपर्ने बाध्यताले निजात पाउन सकिरहेको छैन। ट्राफिक निकायमा एक त कालेबुङको ट्राफिकको टुप्पो नै नबुझिकन नै ओसी फेर्ने परम्परा छ, त्यहींमाथि चालकहरूको मनपरीले दिनहुँ जुन ट्राफिक समस्याको उपार्जन भइरहेको छ यसमा को दायी छ, यसको खोजी गर्नेहरू पनि छाती ठोकेर कोही अघि आएका छैनन्‌। आज पनि स्थानीय 10 माइलमा लगभग 1 घण्टा नै जाम लाग्यो। जामको कारण गाड़ी सॉंघुरो बाटोमा छोड़ेर चालक लापत्ता हुने अनि सॉंघुरो बाटोमा डबल लाइन गाड़ी कुदाई रहेको देखिए पनि त्यसको समाधान गर्ने न त कुनै ट्राफिक पुलिस नै थियो न त समस्या नै समाधान भइरहेको थियो। जाममा फँसेका चालकहरू आफै नै जाम हटाउने प्रयासमा उत्रिएका देखिए। पत्रकारहरू त्यहॉं आइपुग्दा समस्या 1 घण्टादेखि रहेको थाहा लाग्यो। केही क्षणपछि एक ट्राफिक पुलिस देखिए पनि एकजनाले समाधान गर्ने समस्या त्यो थिएन। समस्याबारे बुझ्न ट्राफिक कार्यालयमा पत्रकारहरू पुग्दा कार्यालयमा कोही थिएनन्‌। न त ट्राफिक समस्या समाधान गर्न नै ट्राफिक पुलिस पुगेका थिए न त कार्यालयमा नै कोही थिए। उसो भए कहॉं थिए त ट्राफिक पुलिसहरू? अचम्भ लाग्दो प्रश्न तेर्सिन थालेको छ। नगरमा ट्राफिक प्रशासनले न नोपार्किङमा गाड़ी राख्नेहरूलाई नै कार्वाही गरिरहेको छ न त डबल लाइन गाड़ी कुदाउनेहरूलाई नै। आखिर ट्राफिक समस्याको कारण कमजोर प्रशासनिक पहल हो कि चालकहरूको लापरवाही? यसबारे टाउको कसले दुखाउने?
चोरी आरोपको खण्डन
कालेबुङ, 25 जनवरीः बन्द रोपवे-को गोदामबाट लगभग 31 लाख रुपियॉंको बराबर मूल्यको सामाग्री चोरेर सिलगढ़ी पुर्‍याइएको भनेर चन्द्रिका सुब्बा, भानु छेत्री, अमोन लेप्चा तथा अन्यले लगाएको आरोप झुटो रहेको कथित आरोपी अबुल फजलले बताएका छन्‌।
अबुल फजलले महकुमा अधिकारीको कार्यालयमा सात सितम्बर 2009 को दिन बसेको आपतकालीन बैठकमा लिएको निर्णय अनुरूप नै रोपवे गोदामका सामानहरू त्यहॉंबाट अन्यत्र सार्न खोजिएको जनाए। उनले त्यहॉंका सामानहरू सार्न खोज्दा त्यहॉंका युवाहरूले रोकेपछि फादर ग्रेगोरीले सामान युवाहरूले सुरक्षित राख्न सक्छ भने राखून्‌-भन्ने निर्देश दिएपछि सामान त्यहीं नै छोड़ेको बताए। उनले सामानहरू उठाए क्षतिपूर्ति शीघ्र दिनेकुरा एनएचपीसीले गरेको कारण आफूहरूलाई आएको नोटिशको आधारमा सामान उठाएको उनले बताए। उनले सामको गोदामका सामानहरू चोरी भइरहेको कारण ती सामानहरूको सुरक्षाको निम्ति एनएचपीसीलाई असुविधा गरेकोले सामानहरू अन्यत्र लगिएको बताउँदै, ती सामानहरूमा धेरैको नजर परेको जसबाट फाइदा लिन खोज्नेहरू प्रसस्तै रहेको पनि उनले बताए। आफूलाई लगाएको आरोपको कुनै आधार नै नरहेको कुरा उनले बारम्बार दोहोर्‍याए।
कर्मचारीहरू ज्यान दिन पनि तयार छन्‌ ः खड्गविक्रम सुब्बा
कालेबुङ, 25 जनवरीः
पॉंचौं त्रिपक्षीय वार्ताको निम्ति सरकारले 45 दिनको समय मागेको भए पनि 35 दिन बितिसक्दासम्म पनि आजसम्म सरकार पक्षबाट कुनै प्रकारको पहल औ चासो भने देखाएको देखिएको छैन। यी सबै कुरालाई लिएर मोर्चाले 21 जनवरीदेखि सरकारलाई दवाब दिन विविध कार्यक्रमहरू जुलूस, 2 घण्टे पथ अवरोध, जनसभा आदि क्रमिक रूपमा गर्न थालेको हो। तर मोर्चाले जारी राखेको विभिन्न सङ्गठनहरूको क्रमिक अनशन 31 दिन अनि विद्यार्थी मोर्चाको 23 दिन बितिसक्दा पनि न त राज्य सरकारले चासो देखाएको छ, न त केन्द्रले। अर्कोतिर 21 जनवरीदेखि शुरू गरिएको विविध कार्यक्रम पनि रमिता मात्र रहेको अनि सरकार पक्षबाट कुनै प्रकारको पहल नभएको थाहा लागेको छ। यी सबै कुराहरूलाई मध्यनजर गरी सरकारले मोर्चाको कार्यक्रमलाई अनदेखा गरे आन्दोलन झन तीब्र गतिमा चर्काएर लाने आज एक पत्रकार सम्मेलनमा जनमुक्ति कर्मचारी सङ्गठन महकुमा समितिका अध्यक्ष खड्गविक्रम सुब्बाले बताए। गोर्खाल्याण्ड प्राप्तीको निम्ति बङ्गाल सरकार र केन्द्र सरकारको कर्मचारीहरू पनि आफ्नो नोकरीलाई दाउमा हालेर समर्पित भइसकेको अनि यदि अब पनि सरकार पक्षबाट कुनै प्रकारको पहल नगरे आफूहरू ज्यान समेत अर्पिनु तयार रहेको बताए। मोर्चा अध्यक्ष विमल गुरुङको निर्देश अनुसार फ्यॉंकिएको कार्यक्रमलाई कठिनाई र चुनौतीहरूको सामना गरेर भए पनि सङ्गठन कटिवद्ध रहने औं पहाड़का आन्दोलनको कारण कुनै अप्रिय घटना घटे सरकार जिम्मेवारी हुनपर्ने पनि उनले बताए। 21 जनवरीदेखि मोर्चाले शुरू गरेको जुलूस, पथ अवरोध अनि जनसभा कार्यक्रम अन्तर्गत जकस महकुमा समितिले 27 जनवरीको दिन महाजुलूसको आयोजना गर्ने अनि उक्त दिन सम्पूर्ण कर्मचारीहरू छुट्टी व्यवस्था मिलाएर कार्यक्रममा सहभागिता जनाउन बिहान 10 बजी मेलाटारमा आइदिने आह्वान पनि उनले गरेका छन्‌।
जीएलपीमाथि आक्रमण
कालेबुङ, 25 जनवरीः घटना सॉंड़ेचारतिरको हो। घटना अनुसार त्रिवेणीमा दार्जीलिङबाट वनभोज खेल्ने टोली आएको थियो तर वनभोज खेल्नेहरूमध्ये एकले मद्पान गरेको अवस्थामा त्यहॉंस्थित भूतपूर्व सैनिक मोर्चाका प्रतिनिधि अनि जीएलपीसित जीएलपीको आचारसंहिता पालन नगरेपछि तनाउ सृष्टि भएको थियो। दुवै पक्षमा निक्कै चर्काचर्की भएपछि जीएलपीले त्रिवेणीको गेट बन्द गरेको थियो जसलाई वनभोज टोलीको गाड़ीले तोड़ीदियो। सोही बेला गेटमा रहेका जीएलपी अर्जुन तामाङ गम्भीर रूपले घाइते भए। उनलाई महकुमा अस्पताल ल्याइएको छ। उनीसित नै अन्य तीनजना जीएलपीलाई सामान्य चोटपटक लागेको खबर छ।
घटनापछि घटनाको खबर आगो झैं फैलिएको थियो। सुनिए अनुसार जीएलपीसित झड़प गर्नेहरू मोर्चाकै सक्रिय सदस्यहरू हुन्‌ तर यस कुराको आधिकारिक पुष्टि हुन सकेन। हल्ला अनुसार जीएलपीसित झड़प गर्ने सिंहमारीका अरूण साम्पाङ राई हुन्‌ तर यस कुरालाई पनि कसैले पुष्टि गर्न सकेनन्‌। जीएलपी अर्जुन तामाङले बताए अनुसार झगड़ा गर्नेहरू मातेका थिए। उनीहरूले नियन्त्रणमा राख्न खोज्दा तनाउ भएको हो। हल्ला अनुसार झगड़ा गर्ने नाइकेले म पनि मोर्चाकैे मान्छे हुँ, आफ्नै ठाउँमा मलाई हगडग गर्ने को हो? भन्ने शब्द बारम्बार उच्चारण गरेका थिए तर जीएलपीले पनि यस कुराको पुष्टि गर्न सकेनन्‌। यसै सम्बन्धमा पत्रकारहरूले भूतपूर्व मोर्चाका सचिव मेजर एस.पी. वार्नरसित जान्न चॉंहदा झगड़ा गर्नेबारे पूर्ण विवरण नपाइएको अनि मोर्चाले नै झगड़ालुहरूलाई कार्वाही गर्ने टेलिफोनद्वारा बताएका छन्‌। यसै सम्बन्धमा मोर्चा उपाध्यक्ष कल्याण देवानसित जान्न चॉंहदा उनले पनि घटनाबारे जॉंच पड़ताल भइरहेको नै जनाएका छन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें