रविवार, 31 जनवरी 2010

31 जनवरीः






मेरो कार्य जनहितमा नभए मलाई जे गर्दा पनि हुन्छ-विमल


कालेबुङ, 31 जनवरीः आज गोजमुमो अध्यक्ष विमल गुरूङ कालेबुङ आइपुगे। उनी कालेबुङ आइपुग्ने वित्तिकै कुमुदिनी विद्याश्रममा जनमुक्ति असुरक्षित स्वंसेवक माध्यामिक शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रममा पुगे। कार्यक्रममा उनले मुख्य आतिथ्य दिएका थिए भने उनीसित केन्द्रिय सदस्य अमर लामाको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा अनशनमा सहभागी हुने जिस्टो अनि जेएसटीओका मोठ 18 जना कार्यकर्ताहरूलाई गुरूङ अनि अन्य अतिथिले सम्बर्धना जनाए। यसै अवसरमा जिस्टोद्वारा प्रकाशित समसामयिक पत्रिका पर्खाइको पनि विमोचन भयो। उनले 28 न समष्टीको जनसभाद्वारा कालेबुङका नेतृत्ववर्गप्रति धेरै टिप्पणी गरेको भए पनि आजको कार्यक्रममा कालेबुङ सबैप्रकारले ठीक रहेको बताए। उनले भने, कालेबुङ ठीक छ तर मोर्चा गठन भएदेखि रहेका केही प्रतिनिधिहरूले मोर्चालाई चाख्दै आउनेहरूको कम्मर कसिएको छ। जसले मोर्चालाई बद्नाम गर्दैथिए। दुइएक दलविरोधी प्रतिनिधिहरूबाहेक कालेबुङमा सबै ठीक छन्‌। उनले सोही प्रतिनिधिहरूको भूलको कारण नै कालेबुङमा विरोधी गतिविधिहरू बढ्दै गइरहेको बताउँदै भने, अहिले कालेबुङमा निक्कै पोष्टरहरू टाल्दैछन्‌, पर्चाहरू बॉंड़्‌दैछन्‌। उनीहरूलाई केही नभन्नु, एक दिन उनीहरूको निधारमा नै पोष्टर टॉंसिएको दिन सबै ठिक भइहाल्छ। यसै सन्दर्भमा उनलेे मिडियासित पनि आफ्नो सुझाउ राखे। उनले भने, राती टॉंसिएको पोष्टर मिडियाले कसरी थाहा पाउँछ? कि मिडियाले नै पोष्टर टॉंस्दैछ? मिडियाले लेख्नु पर्छ तर ठीक्क मात्र। नभएको कुरा लेख्नु समाज र मुद्दाको निम्ति राम्रो होइन। उनले सबै पत्रिकाहरू उस्तो नरहेको बताउँदै पनि सिलगढ़ीबाट प्रकाशित हुने एक नेपाली पत्रिका जसले मोर्चाले प्रस्तावित गोर्खाल्याण्डको मानचित्र सानो गरेको समाचार प्रकाशित गरेको थियो,को नाम नै लिँदै भने, पत्रिकाले गल्ती गर्दैछ। यस्तो गल्ती राम्रो होइन। सत्य लेख्नु, कसैले रोक्दैन। किनभने हामीले जनमुद्दाको निम्ति कार्य गरिरहेका छौं। यसलाई नराम्रो बनाउने कार्य गर्नु राम्रो होइन। पत्रकारहरूलाई पनि गोर्खाल्याण्ड चाहिन्छ। उसले आफ्नो धर्म मात्र निभाउनु। सॉंचो पत्रकारिता गर्नु।
उनले पत्रिकाले उल्लेख गरेजस्तो मोर्चाले कार्य गर्ने भए, यति लामो आन्दोलन नै नहुने आशयमा भने, म विद्वान भएको भए दुइ महीनामा नै मुद्दा बेचिसकेको हुन्थें। म त कमाने मान्छे हुँ। जनताले के चहान्छ त्यो गर्न आएको हुँ। मसित स्टडी फोरम छ जसको फिडव्याकले माथ्थिलो तहमा गर्नुपर्ने काम गरिरहेका छौं। हामीले कसैलाई धोका नदिने कसम खाइसकेका छौं। यदि मैले गरेको कार्य जनहितमा भएन भने मलाई जे गर्दा पनि हुन्छ, तर गर्दै गरेको राम्रो कामलाई बिगार्ने प्रयास गर्नु राम्रोे हुँदैन। उनले सबैभन्दा पीड़ित स्वंसेवक शिक्षकहरू रहेको बताउँदै सबैको निम्ति आफूले राम्रो सेटअप गर्ने बताए। उनले सरकारले दिएको करोड़ौं रूपियालाई गलत दृष्टिकोणले हेर्नु नहुने बताउँदै भने, आएको पैसाको प्रयोग राम्रोसित भएको हुनुपर्छ। सरकारले के दिन्छ त्यसलाई उचित प्रयोगमा ल्याउनु पर्छ। हामीलाई असुविधा छ। खॉंचो छ। सरकारले करोड़ौ रुपियॉं हामीले चलाउन सक्छ , सक्दैन भनेर हेर्दैछ। हामी हन्ड्रेटपर्सेन्ट चलाउन सक्छौं। समस्या छ। पैसा प्रयोग गर्छौं। कसैको खेत चिरा परेेको छ। खोला सुकेको छ। बाटो भत्केको छ। सरकारको पैसालाई गलतरूपले नहेर्नु। उनले सबै असुविधालाई हेरेर राम्रो सेटअप गरेको अनि त्यो जनस्वीकार्य रहेको पनि बताए।


फरेन लिक्वरबाट ट्याक्स सरकारलाई पहिले नै गएको हुँदो रहेछ -डा.छेत्री


कालेबुङ, 31 जनवरीः आज गोजमुमालेे आधिकारिकरूपमा फरेन लिक्वरमाथिको प्रतिबन्ध हटाइएको घोषणा गर्‍यो। पत्रकारहरूसित बातचित गर्दै मोर्चाका प्रवक्ता डा. हर्कबहादुर छेत्रीले भने, 1 फरवरीदेखि प्रतिबन्ध लगाइएको सबै फरेन लिक्वर बेच्ने अपसपहरूलाई खुला गरिनेछ। प्रतिबन्ध हटाउनुको कारण के हो भनेर पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै उनले भने, फरेन लिक्वर किन्दा अघिबाट नै त्यसको ट्याक्स कम्पनीले सरकारलाई बुझाएको हुँदोरहेछ। यसकारण अघिबाट नै सरकारले ट्याक्स पाएको लिक्वरमा प्रतिबन्ध लगाएर केही फाइदा छैन। डा. हर्कबहादुर छेत्रीले फरेन लिक्वरले लिभर साह्रो नबिगार्ने तथा फरेन लिक्वर स्तरीय हुने पनि बताए। उनले फरेन लिक्वर बेच्ने अपसपहरू खुला गरेको बताएता पनि सिक्किमका लिक्वरहरूलाई भने बिक्रि गर्न नदिने बताउँदै भने, अरू ठाउँका लिक्वरहरू बेच्न पाइन्छ तर सिक्किमका लिक्वरलाई पहाड़मा छिर्न दिइनेछैन। सिक्किमबाट रक्सी धेरै मात्रामा छिरिरहेको अनि यसले पहाड़का जनतालाई ़व्यापक हानी पुर्‍याइरहेको पनि उनले जनाए। आज मोर्चाले मद्मदिराबाट प्रतिबन्ध हटाए पनि जनतालाई सरकारले मदिराबाट अघिबाट नै ट्याक्स पाइसक्ने कुरा अनि प्रतिबन्ध अनावश्यक रहेको कुरा भने थाहा थियो। ढिलै भएपनि मोर्चाले ठीक कुरा थाहा पाएको कुरा नगरमा भइरहेको सुनिएको थियो।

सबैलाई फाइदा हुने वैकल्पिक व्यवस्थाको सुझाव सरकारलाई दिएका छौं-गोजमुमो


क ालेबुङ, 31 जनवरीः एक भेटमा पत्रकारहरूलाई मोर्चाले गरेको सेटअपबारे मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले टिप्पणी गर्दै भने, एउटा राम्रो, सबैलाई फाइदा हुने, राज्य जत्तिकै क्षमतावान वैकल्पिक व्यवस्थाको सेटअप गरेर केन्द्रलाई सुझाव पठाएका छौं। जो सरकारले मान्न पनि सक्छ नमान्न पनि सक्छ। उनले सेटअपको सम्बन्ध गोर्खाल्याण्डसित कदाचित नरहेको बताउँदै तेस्रो वार्तामा होम सेक्रेटेरीले दागोपापको भ्याकुमका चलाउने व्यवस्थाको निम्ति मोर्चालाई सोंच्दै गर्नु भन्ने कुरा गरेको अनि चौथो वार्तामा केन्द्रले आफै तयार पारेको प्याकेज लिएर आएको भए पनि मोर्चाले नमानेको बताउँदै भने, दागोपाप भङ्ग भएपछि यदि कुनै व्यवस्था बहाली गर्नु पर्छ भने पनि त्यो हामीले सोंचेको जस्तो हुनुपर्‍यो। यसकारण हामीले हामीलाई चाहिने सेटअप गरेर सुझाउ पठाएका हौं। तर त्योसित गोर्खाल्याण्डको कुनै सम्बन्ध रहनेछैन। यो बारे होम सेक्रेटेरीले पनि बताइसकेका छन्‌। यो व्यवस्था वार्ता भइञ्जेल अनि गोर्खाल्याण्ड नभइञ्जेलसम्मको निम्ति नितान्त अस्थायी हो। गोर्खालीग मदन तामाङले भने कुरा नै नबुझी गतल प्रचार गरिरहेको पनि उनले आरोप लगाए। दुवै पक्षको कुरा बुझ्न अनि भूलबुझाइहरू मेटिन्छ भनेर नै जेएसटिओले अन्तरक्रियामा बोलाए पनि तामाङ नआएको बताउँदै उनले तामाङले डिस्नेरी हेर्नु पर्ने बताए। उनले भने, तामाङले इन्टेरिम र अल्टरनेटिभ भनेको बुझ्दैनन्‌। हामीले इन्टेरिमको कुरा गरेका हौं अनि तामाङले अल्टरनेटिभको कुरा गर्दैछन्‌। यस्तो गलतप्रचार गर्ने राजनीति उनले गर्नु मुर्खता हो। हामी उनलाई कुरा बुझाउन तयार छौं तर उनी कुरा बुझ्नु चहॉंदैनन्‌। उनकै सिटिङरूममा पनि हामी कुरा गर्न तयार छौं। उनले तामाङले उत्तरदायित्वहीन राजनीति गरिरहेको बताउँदै क्रामाकपालाई भने सर्काए। उनले भने, कार्माकपाका आर.बी.राईले गलत ठाउँमा गलत अनि सही ठाउँमा सही आलोचना गरेर हामीलाई सहयोग गरिरहेका छन्‌। उनले जनतामा कहिल्यै भ्रम फैलाएनन्‌। विपक्षी गणतन्त्रको पहिलो आवश्यकता भए पनि विपक्षी क्रामाकपा जस्तो हुनुपर्ने तर गोर्खालीग र मदन तामाङ जस्तो हुनुनहुने पनि उनले बताए। सेटअपको सन्दर्भमा उनले कुनै पनि राज्य एकैचोटी नभएर तह अनुसारले भएको बताए। तेलङ्गना अनि गोर्खाल्याण्डको मुद्दा एकै नरहेको बताउँदै, तेलङ्गनामा प्रसस्तै सांसदहरू रहेको अनि गोर्खाल्याण्डमा नरहेको बताउँदै उनले भने, यसैकारण हामीले आफ्नै सेटअपको सुझाउ सरकारलाई पठाएका हौं। यसको अर्थ यो होइन कि हामीले मूलमुद्दा थन्कायौं। हामीले त मूलमुद्दालाई नै सरलसित अघिबढ़ाउन यस्तो पहल गरेका हौं। उनले 5 फरवरीसम्म मोर्चाले दिएको समय रहेको बताउँदै भने, समयभित्र नै केन्द्रले वार्ता गर्नु पर्छ। हाम्रो सुझाउको उत्तर आउनु पर्छ। आएन भने केन्द्रलाई थाहा छ यहॉं अशान्ति हुन्छ अनि त्यो अशान्ति उपार्जक केन्द्र नै हुन्छ।

अड़कलबाजीको कुरामा क्रामाकपाले विश्वास गर्दैन-आर.बी. राइ

र्कालेबुङ, 31 जनवरीः अहिले पहाड़, तराई अनि डुवर्सभरि खुल्दुली मच्चाइरहेको मोर्चाको सेटअपको कुरा अनि मोर्चामाथि गोर्खालीग अध्यक्ष मदन तामाङले लगाएका आरोपहरू सम्बन्धी क्रामाकपा महासचिव आर.बी.राईसित जान्न चहॉंदा उनले भने, सेटअपको कुरा मोर्चा नेता विमल गुरूङद्वारा उठेको हो। यसको जवाबदेही उनी अनि उनले दल नै हुन्छ। गोर्खाल्याण्ड सबैको प्रतिबद्ध सवाल हो। यसको कुरा हुँदा पहाड़, तराई, डुवर्स आउँछ। मोर्चा आफ्नो कार्यक्रम गर्न स्वतन्त्र छ। तर कुनै पनि दलले कुनै पनि कुरामा जनसहमति लिनु जरूरी छ। सेटअप सम्बन्धमा उनीहरूले जनसहमति लिने सम्बन्धमा के कसो गरे त्यो सबैलाई थाहा छ। उनले गोर्खालीग अध्यक्ष मदन तामाङको सम्बन्धमा पनि टिप्पणी राख्दै भने, उनले लगाइरहेका आरोपहरू अड़कलबाजी हुनसक्छ। क्रामाकपाले अड़कलबाजीमा विश्वास गर्दैन। अड़कल गरेर के हुन्छ़? सत्य जे छ त्यो त समयकालमा निस्किहाल्छ। अड़लबाजी गर्नु उचित होइन। सत्य आफै बाहिर आउँछ। अन्तरिमको प्रश्न उठाउँदा उनले यसबारे क्रामाकपाको अड़ान स्पष्ट रहेको जनाउँदै भने, अन्तरिम होस्‌ अथवा केही नै तर त्यो गोर्खाल्याण्डको विकल्प हुनुहुँदैन। जे पनि हुन्छ सबै दल र जनताको आकांक्षा र आवश्यकता अनुरूप हुनुपर्छ। गोर्खाल्याण्डको सवालमा विभ्रान्ति अनि विकृति आउँछ भने त्यसको हामी विरोध गर्छौं। सेटअप होस्‌ अथवा अन्तरिम त्यो गोर्खाल्याण्डको अर्थ अनि आवश्यकतालाई कमजोर र विचलित पार्ने हुनुहुँदैन। उनलाई क्रामाकपाको कार्यक्रमहरूमा देखापरेको शिथिलताबारे प्रश्न गर्दा क्रामकपाले मोर्चासित सहयात्रा गरिरहेको जनाए। क्रामाकपा मुद्दाको सवालमा प्रतिस्पर्धा गर्ने होइन सहयोद्धा हो। तर जतिबेला कुनै पनि दलले निरङ्‌कुस कार्यव्यवहार गर्छ त्यहॉं हाम्रो खण्डन भएकै हुन्छ, उनले भने। मोर्चाको क्रमिक अनशन तथा यस्ताखाले कार्यक्रमहरूमाथि क्रामाकपाको रायस्पष्ट पार्दै उनले भने, मोर्चाले आफ्नो कार्यपद्दतिलाई गान्धीवादीले परिभाषित गरेको छ। यसलाई हेर्नु हो भने उनीहरूको कार्यक्रम उचित नै छ। उनले मोर्चालाई सुझाउ पनि दिँदै भने, मोर्चामा कतिपय कमिकमजोरीहरू छन्‌। त्यसलाई सच्याइनुपर्छ। अनि मुख्यरूपले आन्दोलनको प्रारूप तीब्रतर अनि व्यापक हुनुपर्छ। मोर्चामा गाम्भीर्यता आउनुपर्छ। तर त्यसमा पनि कतिपय पूर्वशर्तहरू छन्‌। कुनै पनि कार्यक्रम वङ्गालको फेवरमा हुनुहुँदैन। बङ्गालबाट सुविधा लिएर अथवा बङ्गालको नून खाएर आन्दोलन गर्नु हुँदैन। उनलाई यदि क्रामाकपाले ठानेको विश्वास कतैबाट खण्डित भए क्रामाकपाले के गर्छ भन्ने प्रश्नको उत्तरमा उनले भने, अहिले आन्दोलन माझिने प्रक्रियामा छ। नेताहरू, पार्टीहरू छानिदैँ जान्छन्‌। जनताले कुन कार्यक्रम रुचाउँछ, रुचाउँदैन हेर्नु पर्छ।

मोर्चा विरूद्ध युजिआरएफको पर्चा कालेबुङमा

कालेबुङ, 31 जनवरीः मोर्चा अध्यक्ष विमल गुरूङले 28 न. समष्टीको भ्रमण अवधी पत्रिकातिर नयॉं सेटअपको कुरा गरेको समाचार प्रकाशित भएकै दिन कालेबुङमा युनाइटेड गोर्खा लिबरेशन फ्रण्टको पर्चा व्यापक मात्रामा देखापर्‍यो। पर्चामा गोजमुमोले पनि जनताको आकांक्षा पूर्ति गर्न नसक्ने उनीहरूको कार्य प्रणाली अनि नयॉं सेटपको कुराहरूले स्पष्ट भएको कारण अब होसियार हुनुपर्ने अनि नयॉंरूपले आन्दोलन गर्नको निम्ति तयार हुनुपर्ने कुरा उल्लेख गरिएको छ। अचम्मलाग्दो घटना के देखापर्‍यो भने सोही दिन विमल गुरूङले सेटअपको कुरा गरेका थिए भने सोही दिन त्यसप्रकारका पर्चा देखापरेको थियो। कसले पर्चा फैलाएको हो त्यसबारे कुनै जानकारी पाइएको छैन भने पर्चा राती नै पसलहरूको ढोकाबाट छिराइएको अनि सड़कभरि छरिएको देखापरेको थियो।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें